सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न शुक्रबार आदेश दिएको छ।
सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बस्न्यातलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहेका बस्न्यातको तर्फबाट प्रज्वल अधिकारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए।
बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर गर्दै विशेष अदालत काठमाडौंले बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । उनलाई डिल्ली बजार कारागारमा रहेकै बेला कोरोना संक्रमण भएको थियो ।
त्यसपछि अधिकारीले वन्दी बस्न्यातलाई जेलमुक्त गरेर उपचारका लागि भन्दै प्रत्यक्षीकरणको रिट हालेका थिए । बस्न्यातले मुटुको रोगी भएको बताउँदै धरौटी राखेर जेलमुक्त भइ मुद्दा लड्ने व्यवस्था मिलाइदिन माग गरेका थिए ।
त्यसपछि भ्रष्टाचार मुद्दामा विशेष अदालतले उनलाई २०७७ मंसिर २८ गते थुनामा राख्ने आदेश दिएको थियो ।













































































































































































































