नेपालमा कोरोनाको दोस्रो लहर झन् ठूलो महामारी बनिरहँदा मृत्यु हुनेको संख्या थपिएको थपियै छ । अस्पतालहरूमा बेड भरिएर संक्रमितहरू इमरजेन्सी वार्डमा र घरमै बस्न बाध्य छन् ।
स्टोरमै थन्कियो सय वटा बेड
बागलुङको धौलागिरि अस्पतालमा पनि बिरामीको चाप थेग्न मुस्किल परेपछि अहिले संक्रमितहरूलाई घरमै बस्न आग्रह गरिएको छ । अर्कातिर गण्डकी प्रदेश सरकारले अस्पताललाई उपलब्ध गराएका एक सयवटा बेड भने स्टोरमा थन्किइरहेका छन् ।
ती बेड प्रयोगमा ल्याएर महामारीले तड्पिएका स्थानीयलाई राहत दिन अस्पताल प्रशासनले कुनै चासो देखाएको छैन । प्रदेश सरकारले गत वर्ष धौलागिरिलाई ५० बाट बढाएर २ सय बेड क्षमताको बनाउने घोषणा गरेको थियो । त्यसैअनुसार सामाजिक विकास मन्त्रालयले पठाएका झन्डै एक सयवटा बेड अझै जडान नगरिएको हो ।
कोरोना विरामीले अस्पताल भरिदा पनि बेड विस्तार भएन
मंगलबारसम्म अस्पतालमा कोरोनाका ३२ जना बिरामी छन् । आइसोलेसन बेडको संख्या भने जम्मा २५ छ । अन्य २५ बेड इमरजेन्सीलगायत बिरामीलाई छुट्ट्याइएको छ ।आइसोलेसनमा ठाउँ नपुगेर दुई जनालाई इमरजेन्सी वार्डमा राखिएको छ ।
यस्तो अवस्थामा पनि अस्पताल प्रशासन र अस्पताल व्यवस्थापन समितिले परिस्थितिको गम्भीरतालाई नबुझेझै गरि रहेका छन् ।आईसीयूमा तीन जना रहेका छन् ।
श्वासप्रश्वासको समस्या भएका ६ जना गम्भीर संक्रमितलाई आइसोलेसनबाट आईसीयू लैजान सकिएको छैन ।
‘सरकारले दिएको बेड हामीसँग छ, बन्दै गरेको भवन हस्तान्तरण नहुँदा हामीले जडान गर्न सकेका छैनौं,’ उनले भने, ‘निर्माणाधीन भवनको छतमा ट्रस हालेर बेड जडान गर्ने भनेका छौं तर प्रदेश सरकारले पैसा दिएको छैन ।’
प्रदेश सरकारले पठाएका एक सयवटा बेड अझै जडान भएन
६ वर्षअघि नै काम सकिनुपर्ने अस्पताल भवन अझै तयार भएको छैन ।यसको परिणाम– बेडहरू स्टोरभित्रै माकुराको जालोले घेरिएका छन् ।
‘म अध्यक्ष भएर आएपछि ठेकेदारसँग भेट भएको छैन, असारसम्म हस्तान्तरण गर्नुपर्ने भनिएको छ, अहिले दुई–चार जनाभन्दा अरूले काम गरेका छैनन्,’ उनले भने । सरकारबाट प्राप्त बेड स्टोरमा थन्किँदा बिरामी भने घरैमा बसेर जोखिम मोल्न बाध्य छन् ।
सीमित बेडमा जटिल समस्या भएकालाई मात्रै उपचार गर्नुपरेपछि सामान्य बिरामीलाई घरमै बस्न लगाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बी पोखरेलले बताए ।
‘ठेकेदारले नयाँ भवन हस्तान्तरण नगरेसम्म स्टोर पनि खाली गर्न नसकिने भयो,’ पोखरेलले भने, ‘जटिल बिरामीलाई समेत बेड अभाव भएको छ, आइसोलेसन बढाउने योजना पूरा गर्न सकिएन ।’ बागलुङमा अहिले ७ सय १८ सय भन्दा बढी सक्रिय संक्रमित रहेकोमा अधिकांश होम आइसोलेसनमा छन् ।मृतकको संख्या १८ जना पुगेको छ ।
डा. पोखरेलका अनुसार अस्पतालमा प्रसूति, डायलसिस, दन्तसेवा, ल्याबलगायतमा समेत झन्डै २५ बेड चाहिन्छ । भवन नबन्दा वार्डमा पनि चाहेजति बिरामी राख्न नसकेको उनले गुनासो गरे ।
आइसोलेसन बेड विस्तार गर्न सकिन्छ तर त्यसलाई चाहिने स्वास्थ्य सामग्री,चिकित्सक,स्वास्थ्यकर्मी,सहयोगी,अक्सिजन र अन्य सेवा चाहिने पोख्रेलले नयाँ विश्वलाई बताए ।
अस्थायी रूपमा थप ५० जना बिरामीको उपचार गर्न सकिन्छ तर व्यवस्थापन समिति मौन
जिल्लाकै संक्रमित थेग्न मुस्किल भइरहँदा बागलुङस्थित धौलागिरि अस्पतालमा बाहिरी जिल्ला र काठमाडौं उपत्यकाबाटसमेत कोरोनाका गम्भीर बिरामी आउन थालेका छन् ।
तर अस्पताल व्यवस्थापन समिति ती बिरामीलाई सहज उपचार दिने विकल्प खोज्नु साटो अनेक बहानाबाजी गरिरहेको छ ।
अहिले धौलागिरि अस्पतालको ओपीडी वार्डमा अक्सिजनसहितको व्यवस्थापन भए अस्थायी रूपमा थप ५० जना कोरोना बिरामीको उपचार गर्न सकिन्छ ।
तर अस्पतालले बिरामीको चाप थेग्न मुस्किल परेपछि संक्रमितहरूलाई घरमै बस्न आग्रह गरेको छ ।जबकि ठेकेदारले हस्तान्तरण गरिनसकेको सी ब्लक भवनलाई पनि आपत्कालीन हिसाबले उपयोगमा ल्याउन सकिन्छ ।
कोरोनाले घेरिसकेको आपत्कालीन अवस्थामा पनि अस्पताल व्यवस्थापन समितिको रुचि भने बेड विस्तारमा भन्दा पूर्वाधार निर्माण र सामान खरिदतिरै बढी देखिन्छ ।
अस्पताल व्यवस्थापन समिति भन्छ–विरामी आएपछि निर्णय लिन्छौं
धौलागिरि अस्पताल व्यवस्थापन समितिले विरामी आएपछि मात्रै कसरी व्यवस्थापन गर्न सकिन्छ भन्न सकिने बताएको छ । समितिका अध्यक्ष केवी रानाले विरामी आएपछि अस्पतालमा राख्ने र यहाँ उपचार गर्न नसक्ने भए अन्तै ठाउँ रिफर गर्नुपर्ने बताउँछन् ।
उनी भन्छन्– ‘३ वटा आइसीयू र ३ वटा भेन्टिलेटर प्याक छ, २५ बेडअक्सिजनसहित बेड पनि प्याक छ, गम्भीर प्रकारका विरामी आए अस्पतालले सल्लाह गरेर त्यहाँ राख्ने अवस्था भए राख्छ, नभए रिफर गर्छ ।’
‘यहाँको मात्र होइन देशभरको अवस्था जटिल छ, हामीले १० वेड थप्ने भनेका छौं, गम्भीर प्रकारका बिरामी आए राख्ने आईसीयू खाली छैन’ उनले भने ।
अस्पताल सुधार र पूर्वाधार निर्माणमा राम्रो चर्चा बटुलेको अस्पताल व्यवस्थापन समितले अहिलेको संगीन घडिमा कोरोना उपचारमा किन भने जस्तो काम गर्न सकेन भनि व्यापक चासो बढेको छ ।
तर दैनिक रुपमा विरामीको चाप बढिरहदा व्यवस्थापन समिति – बन्दा विरामीकाे ज्यान जाने खतरा बढिरहेकाे छ ।
यता, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख शिवकुमार कार्कीले अस्पतालमा बेडको व्यवस्थापन हुँदै गरेको बताए । ‘अहिले १० बेड थप्ने प्रक्रियामा छौं, चिकित्सक,स्वास्थ्यकर्मी,अक्सिजनको अभाव छ, जति सक्दो म्यानेज गर्नेमा छौं ’ उनले भने ।













































































































































































































