३ श्रावण २०८३, आईतवार

 

कोरोना परीक्षण नहुँदा उपचार नपाएरै ज्यान गुमाउँदै ढोरपाटनका स्थानीय

- दोश्रो लहर सुरु भएको एक महिना पुग्दा पनि अझै भएन स्वाब संकलन

बागलुङको दोस्रो व्यापारिक केन्द्र ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा दोस्रो चरणको कोभिड–१९ को महामारी बढिरहँदा यसविरुद्ध लड्न नगरको तयारी भने कमजोर देखिएको छ ।

कोरोनाकै कारण स्थानीयले ज्यान गुमाइरहे पनि नगरपालिकाले लक्षणसहितका बिरामीको स्वाब संकलनसमेत गरेको छैन ।नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम चालिसेका अनुसार नगरपालिकामा हालसम्म चार जना कोरोना संक्रमित भेटिएका छन् ।

चार जना नागरिकले ज्यान गुमाए

उनीहरू कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि आफैं गएर पीसीआर परीक्षण गराएका हुन् । तीमध्ये दुई जनाको मृत्यु भइसकेको छ ।चालिसेले संक्रमितको संख्या थोरै देखाए पनि कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका अन्य दुई जनाले समेत ज्यान गुमाएका छन् ।

कोरोना नियन्त्रणमा नगरपालिकाको हेलचेक्य्राइँ यतिसम्म छ कि अहिलेसम्म विदेशबाट आएकाहरूको तथ्यांक संकलनसम्म गरिएको छैन । जबकि अन्य पालिकाहरूमा औसतमा स्वाब संकलन गरिएका मध्ये ६० प्रतिशतलाई कोरोना संक्रमण पाइएको छ ।

ढोरपाटनले कोभिड लक्षण देखिएका र जटिल किसिमका बिरामीलाई धौलागिरि अस्पताल वा बुटवल–पाल्पातिर रेफर गर्दै आइरहेको छ ।बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका डा. मिलन मल्लले पछिल्ला दिन त्यहाँ आउने बिरामीमध्ये ८० प्रतिशतमा कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिने गरेको बताए ।

‘अलि ढिलो भयो, नगरपालिका, प्रहरीसँग विदेशबाट आउनेहरूको तथ्यांक पनि छैन, यसबीच बिहे, व्रतबन्धका कार्यक्रम भएका छन्, यसले गर्दा समुदायमा कोरोना संक्रमण फैलिएको हाम्रो आशंका छ,’ उनले भने, ‘कोरोनाको लक्षण देखिएका बिरामीहरूको पीसीआर परीक्षण भएको छैन । उनीहरूलाई गाह्रो भए अस्पताल जान भनेका छौं ।’

नगरपालिकाको केही दिनअघि बसेको कार्यपालिकाको बैठकले कोरोनाको शंका लागेका व्यक्तिलाई धौलागिरि अस्पताल पठाउने निर्णय गरेको स्वास्थ्य शाखाप्रमुख चालिसेले बताए ।

एक महिना पुग्दा पनि अझै सुरु भएन स्वाब संकलन

‘यहाँ स्वाब संकलन गरिएको छैन । शंका लागेका व्यक्तिलाई बागलुङ नै पठाएका छौं, पीसीआर परीक्षणका लागि । गाउँमा शंकास्पद बिरामी खोज्ने काम पनि गरिएको छैन,’ उनले भने । कोरोना संक्रमित भएकाहरूको कन्ट्याक्ट ट्रेसिङको काम केही दिनमै सुरु हुने चालिसेले दाबी गरे ।

स्थानीय भने नगरपालिकाभित्र ज्वरो, खोकी तथा श्वासप्रश्वासमा समस्या रहेका बिरामी बढ्दै गएको बताउँछन् । ‘म आफैं बिरामी छु, कहाँ गएर जाँच गर्नू, हामी घरमै बस्न बाध्य भएका छौं,’ ढोरपाटन–२ की एक महिलाले भनिन् । नगरपालिकाले नागरिकको जीवनमाथि खेलबाड

गरिरहेको उनको भनाइ छ । ‘संक्रमण बढिरहेको छ, उपचार तथा रोकथाम गर्नुको साटो बिरामी भएर अस्पताल गयो भने बागलुङ, पोखरा, पाल्पा, बुटवल जानुस् भन्छन्,’ उनले भनिन् ।

उप्रमुखको परिवार नै आइसोलेसनमा

ढोरपाटनकी उपमेयर करमती पुन कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएपछि अहिले सपरिवार होम आइसोलेसनमा छिन् । परिवार सदस्यलाई उनकै उस्तो लक्षण देखिएको छ ।

‘हामी परिवारै बिरामी भएर होम आइसोलेसनमा छौं, पीसीआर परीक्षण गरेका छैनौं, लक्षण सबै कोरोनाको छ, हामीले अस्पतालबाट औषधि र जडिबुटी खाइरहेका छौं,’ उनले भनिन् ।

आफ्ना सानो बच्चा भएकाले कोरोना परीक्षण नगरेको उनले प्रतिक्रिया दिइन् । ‘हिजोबाट मेरो स्वास्थ्यमा सुधार आएको छ, म नयाँ घरमा डेरा सरेकाले अहिले आइसोलेसनमा छु,’ उनले भनिन् ।

‘स्वाब संकलन भोलिदेखि नै थाल्छौं’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले शुक्रबारदेखि नै शंकास्पद व्यक्तिहरूको स्वाब संकलन गरी पीसीआरका लागि धौलागिरि अस्पतालमा पठाउने बताए ।

‘आज नगरपालिकामा बैठक बसेर लक्षण भएकाहरूको पीसीआर परीक्षण गर्ने निर्णय भएको छ, भीटीएम ल्याइसकिएको छ भोलिदेखि स्वाब संकलन हुन्छ,’ उनले भने ।

बैठकले निषेधाज्ञाको समय लम्ब्याउने, बैंक तथा वित्तीय संस्थाहरूमा थप कडाइ गर्ने, अक्सिजन सिलिन्डरको व्यवस्था गर्नेलगायत निर्णय भएको उनले बताए ।


परीक्षण नभएर घरमै ज्यान गुमाउँदै स्थानीय, खाली छन् आइसोलेसन बेड

कोरोनाको लक्षण देखिएकाहरूले परीक्षण नभएर घरमै ज्यान गुमाउँदा संक्रमितको उपचारका लागि बनाइएका आइसोलेसन बेड भने खाली

छ । स्वाब संकलन गरेर संक्रमित पहिचान नगरिएकै कारण उनीहरू आइसोलेसनसम्म आउन नसकेका हुन् ।

अर्कातिर लक्षण देखिएकाहरू समुदायमै घुलमिल भइरहँदा संक्रमण थप फैलने जोखिम उत्तिकै छ । बुर्तिबाङ प्राथमिक स्वास्थ्यचौकीका

प्रमुख डा. मल्लका अनुसार कोभिडका बिरामी आए भने पनि उनीहरूलाई दिने अक्सिजन छैन । ‘इमर्जेन्सीका लागि थोरै अक्सिजन छ,’ उनले भने, ‘कोभिडका बिरामी आउन थाले भने यसले धान्दैन ।’

प्रत्येक परिवारमा शंकास्पद बिरामी रहेकाले छिटो व्यवस्थापन गर्दा कोरोनाको चेन ब्रेक गर्न सकिने सम्भावना भए पनि अहिले ढिलो

भइसकेको उनको भनाइ छ । ढोरपाटनमा कोभिडका बिरामीका लागि १० बेडको आइसोलेसन बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung