१७ बैशाख २०८१, सोमबार

 

प्रेस सङ्गठनद्वारा पत्रकार र सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्री प्रदान

प्रेस सङ्गठन बागलुङले जिल्लामा क्रियाशील पत्रकार र सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपाल पत्रकार महासंघ बागलुङको सभाहलमा सोमबार आयोजित कार्यक्रममा प्रतिव्यक्ति २ सय थान मास्क, २ थान स्यानिटाइजर र सिटामोल प्रदान गरिएको हो ।

जिल्ला सदरमुकामका साथै गलकोट, ताराखोला, खर्वाङ, बुर्तिवाङ, जैमिनी, बरेङलगायत क्षेत्रमा कार्यरत पत्रकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराइएको संगठनले जनाएको छ ।

कार्यक्रममा महासंघ जिल्ला अध्यक्ष नरेश कँडेलले कोरोनाका बेला अग्रपंक्तिमा खटिएका पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान गरिँदा पेसागत हौसला बढेको बताए ।

महासंघ बागलुङका पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारी, दिल शिरीष, पूर्वउपाध्यक्ष हिमाल शर्मा, नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्मा, प्रेस संगठन बागलुङका पूर्वअध्यक्ष राम थापा ‘अविरल’ संगठनका जिल्ला संयोजक थम्मन थापालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रेस सङ्गठनले आफ्ना सदस्यहरूबाट संकलित ५० हजार रकमबाट स्वास्थ्य सामग्री सहयोग गरेको हो । यसअघि संगठनले पत्रकारको सुरक्षा र संक्रमित पत्रकारलाई सहयोग गर्ने उद्देश्यसहित प्रेस सङ्गठनका पूर्वअध्यक्ष राम थापा ‘अविरल’को संयोजकत्वमा ‘सहायता कक्ष’ पनि निर्माण गरेको थियो ।

उक्त कक्षमार्फत संक्रमित पत्रकारको उपचार र अन्य सहायताका लागि आवश्यक समन्वय भइरहेको जनाइएको छ । संगठनका पूर्वअध्यक्ष थापाले संस्थागत विकास कोष, पुरस्कार कोष स्थापनासहित पत्रकारका लागि क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि कार्ययोजना बनाएर काम थालिएको बताए ।

सोही कार्यक्रममा नेपाल टेलिकम बागलुङ शाखाले स्टेसनरी तथा प्रचार सामग्री प्रदान गरेको छ । टेलिकम शाखा प्रमुख शर्माले महासंघ अध्यक्ष कँडेललाई डायरी, क्यालेन्डर, कपलगायत सामग्री हस्तान्तरण गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्