३ जेष्ठ २०८१, बिहीबार

 

ताराखोलामा बाढीको बितण्ड : घर, पुलसहित एक जना स्थानीयलाई बाढीले बगायो

- घर जोगाउन खोज्दै गर्दा आफैं जोगिएनन्

मंगलबार राति वर्षासँगै आएको बाढीले बागलुङको ताराखोला गाउँपालिका–३ का १८ वर्षीय राजेन्द्र कार्कीलाई बगाएको छ ।
घर नजिकै आएको भललाई तर्काउन लागेका बेला एक्कासी आएको बाढीले उनलाई बगाएको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायब निरीक्षक लक्ष्मण न्यौपानेले जानकारी दिए ।

बाढीमा बेपत्ता भएका कार्कीको खोजी र उद्दारका लागि प्रहरीसहित स्थानीय परिचालन गरिएको छ । घर माथिबाट आएको बाढीले स्थानीय चन्द्र कार्कीको ४१ वटा बाख्रा पुरेको थियो । जसमध्ये १० वटा बाख्राको सकुशल उद्दार गरिएको भएपनि अन्य ३० वटा बाख्रा मृत अवस्थामा फेला परेका छन् ।

ताराखेलाको इदीबाट झरेको पहिरो र बाढीले स्थानीय धुर्ब खत्रीले सञ्चालन गरेको एक रेष्टुरेन्ट समेत बगाएको छ । वडा नम्बर ३ का वडाध्यक्ष डिलबहादुर बस्नेतका अनुसार इदिमा २ घर १ गोठ पहिरोले बगाएको र घर नजिक बाट पहिरो जादा ३ घर परिवार उच्च जोखिममा रहेको छन् ।

ताराखोला गाँउपालिका वडा नम्वर १ को माझखर्क बढनाका स्थानीय गंगाबहादुर मगरको गोठ पहिरोको कारण भत्किँदा गोठमा रहेका १ भैसी २ बाख्रा मरेको तारोखाला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए । उनका अनुसार प्रभावित स्थानीयलाई सुरक्षित स्थानमा सारिएकाे छ ।

त्यस्तै, ताराखोला गाँउपालिका वडा नम्वर ३ को बराहखोलामा निस्तीखोलामा निर्माणाधीन अबस्थामा रहेको झोलुङ्गे पुल बगाएको स्थानीयले बताएका छन् ।

छईमटोल नजिक २ सय मिटर पहिरो गएको छ भने निस्तीखोलाको सानो झोलुङ्गे पुल बगाएको छ । थप उद्दारका लागि ईलाका प्रहरी कार्यालय हरिचौरबाट प्रहरी जाँदै गरेको छ ।

तस्बिर : संगम घर्ती

प्रतिक्रिया दिनुहोस्