जिल्ला प्रशासन कार्यालय बागलुङले निषेधाज्ञा साउन ४ गतेसम्म लम्बाएको छ । प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको निर्णयको आधारमा असार २५ देखि साउन ४ गतेसम्म निषेधाज्ञा अवधि बढाउने निर्णय भएको जानकारी दिए ।
निषेधाज्ञा खुकुलो भएसँगै शुक्रवार रातिदेखि लागू हुनेगरी निजी तथा सार्वजनिक सवारीसाधन जिल्ला भित्र सञ्चालनमा ल्याउने निर्णय भएको छ ।
यस अवधिमा फलफुल, तरकारी, खाद्यान्न लगायतका पसल बिहान दश बजेसम्म, होटल तथा रेष्टुराँ बेलुका ७ बजेसम्म र फेन्सी, कस्मेटिकलगायतका व्यवसायिक पसलहरु बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म खोल्न पाइने भएको छ ।
यसअघि बिहान १२ बजेसम्म मात्रै खुल्ने व्यवस्था थियो ।
विद्यालय र कलेज तथा शैक्षिक संस्थाहरु पूर्ण बन्द हुनेछन् । मठ मन्दिर तथा धार्मिक स्थलमा नित्यपूजा गर्न भने छुट दिइएको छ ।
यस्तै जिल्ला स्थित सरकारी कार्यालयहरु खुल्ने भएका छन् भने भीड भाड हुने कार्यालयहरु जस्तै जिल्ला प्रशासन, मालपोत र नापी स्थानीय तह अनुसार आलोपालो सेवा दिने भनिएको छ ।
यस्तै बैंक तथा वित्तिय संस्था भने नियमित सञ्चालन हुन पाउने भएका छन् ।















































































































































































































