३ जेष्ठ २०८१, बिहीबार

 

बागलुङ बजारमा एक महिनामै उप्कियो कालोपत्र

बागलुङ बजारको सडकमा गरिएको कालोपत्र एक महिना नबित्दै उप्किन थालेको छ । बागलुङ नगरपालिका–२ स्थित धौलागिरि क्याम्पस चोकमा गरिएको कालोपत्र गुणस्तरहीन पाइएको हो ।

बजेट सक्न हतारमा काम गर्दा कालोपत्र उप्किएर खाल्डैखाल्डा भएको स्थानीयले बताएका छन् ।

बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, वडा नम्बर २ का वडाध्यक्ष जीवन आचार्य र नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत युक्त सुवेदी सोही सडक हुँदै आउजाउ गर्छन् । तर सडकको दुरवस्थाप्रति चासो नदेखाएको स्थानीयको आरोप छ ।

सडक कालोपत्रे गर्ने तर त्यसको राम्रोसँग अनुगमन नहुँदा अवस्था दयनीय बनेको उनीहरूको भनाइ छ ।

सम्बन्धित निकायको कमजोरीका कारण कालोपत्र गरेको एक महिना पनि नबित्दै सडकमा खाल्डाखुल्डी परेको नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष नरेश कँडेलले बताए ।

नगरपालिकाले बागलुङ बजारक्षेत्रभित्र भत्किएका–बिग्रिएका सडक मर्मतसम्भार र सुधार गर्ने गरी बजेट विनियोजन गरेको थियो । उक्त सडक निर्माणको जिम्मा लिएको कम्पनीलाई उप्किएको कालोपत्रको मर्मत नगरेसम्म भुक्तानी नदिने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।

असारे विकासका नाममा हतारहतार विनायोजना गरिने यस्ता काम र ठेकेदार कम्पनीको लापरबाही अनुगमन गर्ने निकाय लाचार बनिदिँदा असारे विकासका नाममा हरेक वर्ष यस्तै बेथिति देखिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्