३ जेष्ठ २०८१, बिहीबार

 

मदिरा सेवनबाट मजदुर मृत्यु प्रकरण : कहाँ पुग्यो प्रहरी अनुसन्धान ?

बागलुङको गलकोट बृहत खानेपानी आयोजनामा काम गर्ने ४ जना मजदुर मृत्यु प्रकरणबारे आवश्यक अनुसन्धानका लागि छानविन समिति बनाइएको छ ।
प्रहरी नायव उपरीक्षक (डीएसपी) इकवाल हवारीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।

मंगलबार घरेलु मदिरा सेवनबाट आयोजनामा काम गर्दै आएका ४ जना मजदुरले ज्यान गुमाएका छन् । भने दुई जनाको उपचार भइरहेको छ । डीएसपी हवारीका अनुसार उपचाररत दुई जना मध्ये एक जना गम्भीर रहेका छन् । उनीहरुको पोखरा उपचार भइरहेको छ ।

विषाक्त मदिरा प्रकरणमा आवश्यक अनुसन्धानका लागि पसल सञ्चालक भद्रबहादुर थापा र स्थानीय भक्तबहादुर बलाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

‘पसलेले मदिरा बचेको स्वीकार गरेका छन्,’ डीएसपी हवारीले भने, ‘मृतकको भिसेरा परीक्षण, मदिरा, र खाद्य पदार्थ टेष्ट गरेपछि कारण खुल्छ, त्यसको रिपोर्ट आउन अझै केही दिन लाग्छ ।’ प्रहरीले खाद्य एवम् मदिरा टेष्टका लागि केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला काठमाडौं ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्ली मगरले दुखद् घटना भएको भन्दै यसबारेमा अनुसन्धान गर्न डिएसपीको नेतृत्वमा एक टोली नै गठन गरिएको बताए ।

प्रहरी नायव उपरीक्षक इकवाल हवारीको नेतृत्वको समितिलाई ७ दिनको समय दिएर घटनास्थलमा अनुसन्धानका लागि पठाएको उनले बताए ।

घटनापछि उनीहरुका आफ्न्तको निवदेन नआएकाले शव पोष्टमार्टम हुन सकेको छैन् । ‘हामीसँग मृतकको आफ्न्तबाट उजुरी आएको छैन,’ डीएसपी हवारीले भने, ‘उजुरीपछि शवको पोष्टमार्टम हुन्छ, हामीले थप अनुसन्धान गरिरहेका छौं, प्रहरी घटनास्थलमा गएर बुझ्ने काम गरिरहेको छ ।’

गलकोट बृहत खानेपानी आयोजनामा काम गर्दै आएका रोल्पा सुनिल स्मृति गाउँपालिका ५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही स्थानका ३९ वर्षीय दुधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तिको मंगलबार मृत्यु भएको थियो । रोल्पा सुनिलस्मृति गाउँपालिका ५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रविन पुनको पोखरा उपचार भइरहेको छ ।

तस्बिर : थम्मन थापा

प्रतिक्रिया दिनुहोस्