३ जेष्ठ २०८१, बिहीबार

 

बागलुङ बजारको कम्पुटोलका दर्जन घर पहिरोको जोखिममा

अविरल वर्षाले पहिरो जान थालेपछि बागलुङ बजारको पश्चिम तर्फको कम्पुटोलका एक दर्जन बढि घर जोखिममा परेका छन् । पहिरोले जमिन भासिना थालेपछि बागलुङ नगरपालिका वडा नम्वर ३ को कम्पुटोल तथा पुरानो बजार क्षेत्र जोखिमा परेको हो ।

बागलुङको ग्रामीण क्षेत्रबाट बागलुङ बजार प्रवेश गर्ने सडक पहिरोले बग्न थालेपछि सवारी साधन आवत जावतमा समेत समस्या भएको छ ।
बस्तिदेखि तल बागलुङ नगर खानेपानी आयोजनाले बनाउन लागेको लिफ्टिङ खानेपानी आयोजनाको कारण जमिट कटान गरेकोले पहिरो जान थालेको हो ।

पहिरोले जमिन चिरा परेपछि पानी पर्दा रात काट्न मुस्किल भैरहेको स्थानीयले गुनासो गरेका छन । पहिरोको बारेमा स्थानीय निकायमा जानकारी दिए पनि खासै चासो नदिएको स्थानीय कोपिला पुनले गुनासो गरिन ।

समयमा व्यवस्थापन हुन नसके कम्पुटोलका धेरै घर बग्ने जोखिम रहेकोले सम्वन्धित निकायको ध्यान जानुपर्ने स्थानीय नारायण श्रेष्ठले बताए ।
बस्ति मुनिवाट पहिरो र बस्ती माथिबाट ठुला सवारी साधनको लोडका कारण जमिन दिन प्रतिदिन गल्न थालेपछि घरहरु जुन कुनै बेला बग्ने खतरा बढेको छ ।

पहिरोको चपेटामा परेको बस्तिका स्थानीयलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल चलिरहेको वडा अध्यक्ष लक्ष्मी बाँस्कोटाले बताइन् ।जिल्ला प्रशासन कार्यालय र बागलुङ नगरपालिकासँग यस विषयमा छलफल भएको छ बाँस्कोटाले भनिन् ।

गत वर्ष पनि पहिरो जान थालेपछि सामान्य ग्याविन जाली लगाएको भए पनि अहिले पुन भत्किएको कारण बस्ती जोखिममा परेको छ ।समयमा काम हुन नसकेको खानेपानि आयोजनाको लागि जमिन कटान गर्दा जमिन खलवलिएर पहिरो जान थालेको छ ।

लिफ्टिङ खानेपानी आयोजनाको काम समयमा नगरेको कारण पहिरोले स्थानीयहरु बिस्थापित हुने अवस्थामा पुगेका हुन । पहिराले सडक बगेपछि बागलुङको तित्याङ, भकुण्डे, रायडाँडा र सिगान जाने सवारी साधन घुमाउरो बाटो प्रयोग गर्न बाध्य भएका छन् ।

सो सडकलाई स्तरवृद्धि गरी गुल्मीको शान्तीपुरसम्म जोड्ने भन्दै निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौबाट उद्घाटन गरेका थिए । शिलन्यास गरेको सडकको काम सुचारु नहँुदै सडकको मुखमै पहिरो जान थालेपछि स्थानीय समस्यामा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्