७ जेष्ठ २०८१, सोमबार

 

दस वर्षपछि अक्षयकुमारसँग फिल्ममा देखिँदै कट्रिना

बलिउड अभिनेत्री कट्रिना कैफले गत शुक्रबार ३८औं जन्मदिन मनाइन् । उनी १६ जुलाई १९८३ मा हङकङमा जन्मिएकी हुन् ।

कट्रिना जब फिल्ममा आइन्, उनलाई राम्ररी हिन्दीसमेत बोल्न आउँदैनथ्यो । अहिले भने उनी हिन्दी फिल्मकी सफल अभिनेत्रीमा पर्छिन् । कट्रिना फेसन सेन्स र सुन्दरताका कारणले पनि सबैको प्रिय बनेकी छन् ।

कट्रिनाको सक्कली नाम कट्रिना टरकोटे हो । उनले ‘बुम’ बाट बलिउडमा डेब्यु गरेकी हुन् ।

फिल्ममा पाइला राख्दाको समयमा आयशा स्राफले उनको नाम परिवर्तन गरेर पहिले कट्रिना काजी र त्यसपछि कट्रिना कैफ राखिदिएकी थिइन् । कट्रिनाको आमाको नाम टरकोटे हो भने बुबाको मोहम्मद कैफ ।

१४ वर्षको उमेरमा कट्रिनाले मोडलिङबाट करियरको सुरुवात गरेकी थिइन् । बार्बी मोडलबाट अभिनयमा भित्रिएकी कट्रिना बलिउडकी पहिलो अभिनेत्री हुन् । उनी निकै धार्मिक स्वभावकी छिन् ।

हरेक फिल्म रिलिजअघि उनी सिद्धिविनायक मन्दिर, चर्चलगायत जाने गर्छिन् ।

२००५ मा उनले फिल्म ‘सरकार’मा सानो भूमिका पनि निर्वाह गरेकी थिइन् ।

त्यसपछि २००५ मै सलमान खानको फिल्म ‘मैने प्यार क्यों किया’ मा अभिनय गरिन् । यो फिल्मले उनलाई सफलता दिलाउनुका साथै दर्शकमा समेत परिचित गरायो ।

उनले अहिलेसम्म थुप्रै राम्रा फिल्ममा अभिनय गरेकी छन् भने शिला की जवानीजस्ता आइटम गीतबाट पनि चर्चा पाएकी छन् ।

कट्रिनाले नमस्ते लन्डन, हमको दिवाना कर गए, पार्टनर, रेसलगायत थुप्रै फिल्ममा अभिनय गरेकी छन् । पर्दामा उनको जोडी अक्षयकुमार र सलमान खानसँग बढी जमेको छ ।

सलमान खानसँग एक समय उनको ‘अफेयर’को चर्चा पनि थियो । त्यसपछि रणवीर कपुरसँग नाम जोडियो ।

अहिले भने उनको नाम विक्की कौशलसँग जोडिने गरेको छ । यस विषयमा विक्की र कट्रिना दुवैले मुख खोल्न बाँकी छ । अहिले कट्रिना फिल्म ‘सूर्यवंशी’मा देखिँदै छिन् ।

दस वर्षपछि कट्रिना अक्षयकुमारका साथ यो फिल्ममा देखिन लागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्