ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई विद्युत्मा विशेष सहुलियत दिने बताएकी छन् । मन्त्रालयमा सोमबार पत्रकारहरूसँग अन्तरक्रिया गर्दै उनले गरिबीको रेखामुनि रहेको निश्चित समुदायलाई निःशुल्क विद्युत् दिने जनाइन् । ‘एउटा आधारभूत तहबाट तल रहनेहरूलाई निःशुल्क विद्युत् दिनुपर्छ ।
म सामान्य एउटा गृहकार्य गरिरहेको छु । पछि यसबारे मैले जानकारी गराउनेछु । त्यो तहका जनतालाई निःशुल्क विद्युत् दिनुपर्छ,’ मन्त्री भुसालले भनिन्, ‘उत्पादन बढेपछि सस्तो हुनुपर्ने हो तर हाम्रोमा उत्पादन बढेपछि मूल्य पनि बढ्ने डर छ ।’ उनले एकातिर विद्युत् उत्पादन भएर खेर जाँदै छ भन्ने, अर्कातिर जनतालाई सहुलियत दिन नसक्ने स्थिति समाधान गर्ने उल्लेख गरिन् । विद्युतको दरमाथि पुनर्विचार गरेर अलि सस्तो बनाउने पक्षमा आफू रहेको र त्यसका लागि अध्ययन गरिरहेको उनको भनाइ छ ।
मन्त्री भुसालले सुशासनलाई उच्च प्राथमिकता दिएर काम गर्ने बताइन् । सुशासन कायम गर्ने सन्दर्भमा कुनै सम्झौता नहुने, सुशासन कायम नभए आफ्नो लागि सह्य नहुने पनि उनले उल्लेख गरेकी छन् ।
भुसालले विद्युत् आयात–निर्यात गर्ने कुरासँग आफू सहमत भएको बताउँदै रणनीतिक हिसाबले नेपालमा उत्पादित् विद्युत् यहीँ खपत गर्नुपर्नेमा जोड दिइन् ।













































































































































































































