५ जेष्ठ २०८१, शनिबार

 

मन्त्री बुढाद्वारा फलफूल खेती शुभारम्भ

शङ्खधर बहुमुखी सहकारी संस्था लिमिटेडले बागलुङ नगरपालिका–३ रुम्टामा व्यावसायिक फलफूल खेती थालेको छ ।

गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले आज बिरुवा रोपेर फलफूल खेतीको शुभारम्भ गरेका छन् ।

सो अवसरमा बोल्दै मन्त्री बुढाले कृषि उपज, फलफूल, दूध र मासुजन्य उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाइने बताए । उनले कृषिप्रतिको परम्परागत सोचलाई नभत्काएसम्म व्यावसायीकरण सम्भव नहुने उल्लेख गरे ।

कृषि नै नेपाली अर्थतन्त्रको मुख्य आधार भएकाले यसमा राज्यले लगानी बढाउनुपर्नेमा उनको जोड छ । कृषिमा सहकारीले गरेको लगानीबाट आर्थिक गतिविधि बढ्नुका साथै रोजगारी सिर्जना हुने मन्त्री बुढाको भनाइ छ ।

“सहकारी अर्थतन्त्रको महत्वपूर्ण खम्बा हो, उत्पादनका क्षेत्रमा लगानी बढाउनुस्, सरकारका तर्फबाट हुनुपर्ने सहयोग र समन्वयमा कमी हुँदैन”, उनले भने ।

जिल्ला सहकारी सङ्घका अध्यक्ष दीपक गौतमले उत्पादनसँग जोडिएकामा शङ्खधर सहकारीको प्रशंसा गरे । उनले सहकारी क्षेत्रको विकास र प्रवद्र्धनका लागि राज्यले सही नीति ल्याउनुपर्ने धारणा राखे ।

२२ रोपनी जग्गा १० वर्षलाई भाडामा लिएर व्यावसायिक कृषि उत्पादन थालिएको सहकारीका शङ्खधर बहुमुखी सहकारी संस्था लिमिटेड अध्यक्षका रतनप्रसाद मलेपतीले जानकारी दिए । रुम्टामा रहेको लक्ष्मी नारायण कला मन्दिर गुठीको खेत वार्षिक रु ८५ हजारमा भाडामा लिइएको हो ।

पहिलो चरणमा आँप, कागती, अँगुर र लिचीलगायत गरी तीन सय फलफूलका बोट लगाइएको अध्यक्ष मलेपतीले बताए । उनका अनुसार छिट्टै तरकारी खेती, कुखुरा र बाख्रापालन व्यवसाय पनि शुरु गर्ने तयारीमा सहकारी छ ।

व्यवसाय पूर्ण क्षमतामा सञ्चालन गर्दा आठदेखि दश जना सम्मले रोजगारी पाउने सहकारीले जनाएको छ । ऋण, बचतको काम गर्दै आएको सहकारीले पहिलोपटक व्यावसायिक कृषिमा लगानी गरेको हो ।

कार्याक्रममा नेकपा माओवादी केन्द्र बागलुङका सचिव ज्ञामनाथ गैरे अनिलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्