२७ बैशाख २०८१, बिहीबार

 

धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि काम गर्छु : मन्त्री कँडेल

गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणीभद्र शर्मा कँडेलले जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा आफूले सक्दो काम गर्ने बताएका छन् ।

गौरीधाम शिव मन्दिर व्यवस्थापन समिति बागलुङ नगरपालिका –४ ले आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा बोल्दै मन्त्री कँडेलले यस्तो बताएका हुन् ।

बागलुङको कालिका भगवती मन्दिर, पञ्चकोट धाम, गौरीधामलगायतका क्षेत्रले बागलुङको पर्यटन प्रर्वद्धन गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै आवश्यक पूर्वाधारमा काम गर्ने उनले बताए ।

धार्मिक तथा पर्यटकीय क्षेत्रमा स्थानीयले परिश्रम र समय खर्चेकोले अब प्रदेश सरकारको बजेटले सम्बोधन गर्ने बताए ।

दुई दशकसम्म पनि निर्माण सम्पन्न हुन नसकेको उपल्लाचौर बस पार्कमा भएको ढिलाई प्रति आफू गम्भीर रहेको भन्दै प्रदेश र केन्द्र सरकारसँग आवश्यक समन्वय गरेर अगाडि बढ्ने बताए ।

जिल्लामा अलपत्र अवस्थामा रहेका विकास आयोजनाको काम तत्काल सुचारु गराउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने समेत बताए ।

मध्यपहाडी लोक मार्ग, बागलुङ बसपार्क लगायतका ठूला आयोजनाको काममा भएको ढिलाइले गिज्याइ रहेकोले अब कसैले उन्मुक्ति नपाउने बताए ।

मन्त्री कँडेलले गौरीधाम शिव मन्दिरको प्रवेशद्धारामा तत्काल आफ्नो व्यक्तिगत सहयोगमा पानीको धारो निर्माण गर्ने घोषण गरेका छन् ।

कार्यक्रममा उपल्लाचौर बसपार्क जग्गा व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारीले बसपार्क निर्माणमा भएको ढिलाई प्रति मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

हामीले दशकौ पहिला बस पार्कको लागि दिएको जग्गा बापत जग्गा धनीले पाउनु पर्ने जग्गा अहिलेसम्म नपाएकोले जग्गा धनी निरास भएका छन् प्रदेश सरकारले बस पार्कको लागि आवश्यक बजेटको व्यवस्था गर्न र जग्गा धनीलाई छिटो जग्गा दिने वातावरण बनाउन उपल्लाचौर बसपार्क जग्गा व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारीले माग गरेका थिए ।

बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बसन्त कुमार श्रेष्ठले प्रदेश सरकारले बागलुङ जिल्लामा भएको प्राकृतिक र धार्मिक क्षेत्रहरुमा पूर्वाधारको विकास गरी पर्यटनबाट स्थानीय जनतालाई प्रत्यक्ष फाइदा हुने कार्याक्रम ल्याउन भने ।

कार्याक्रममा समाजसेवी सन्तोष जिसीले पनि मन्तव्य व्यक्त गरेका थिए ।

स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएको वर्षौ हुँदा समेत बसपार्क निर्माणको कामले पूर्णता पाउन नसकेको भन्दै तत्काल काम सक्ने वातावरण सरकारले बनाउनु पर्ने बताए ।

कार्यक्रम गौरीधाम शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रबहादुर जिसीको अध्यक्षता कोषाध्यक्ष ऋषिराम गौतमको स्वागत र सचिव पिंगला खड्का जिसीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्