२१ भाद्र २०८३, आईतवार

 

बसपार्कलाई जग्गा दिएकाहरूले सहमतिअनुसार घडेरी पाएनन्

बागलुङ नगरपालिका–४ उपल्लाचौर दावगरामा निर्माणाधीन बसपार्कको काम अन्तिम चरणमा छ । तर बसपार्कलाई खुसीसाथ जग्गा दिएका स्थानीय अहिले खुसी छैनन् ।

कारण हो– बसपार्क निर्माणपछि ५० प्रतिशत जग्गा विकसित घडेरीका रूपमा फिर्ता गर्ने सहमति कार्यान्वयनमा ढिलाइ हुनु ।

करिब दुई दशकअगाडि ५१ जना स्थानीयले ५९ रोपनी जग्गा बसपार्क निर्माणका लागि उपलब्ध गराएका थिए । यससँगै आधा जग्गा विकसित घडेरी बनाउने सहमति थियो ।

सहमति पालना नभएको भन्दै स्थानीय विरोधमा उत्रिएपछि २०७१ पुस २२ गते बागलुङ नगरपालिका र जग्गा व्यवस्थापन समितिबीच १२ बुँदे समझदारी गरियो ।

बागलुङ नगरपालिकाका तर्फबाट तत्कालीन योजना अधिकृत जगन्नाथ लामिछाने र जग्गा व्यवस्थापन तथा विकास समितिको तर्फबाट सुवासचन्द्र राजभण्डारीले हस्ताक्षर गरेका थिए ।

बसपार्कछेउका करिब १२७ वटा घडेरीको रेखांकन र सीमांकन नगरिँदा स्थानीयले आफ्नो जग्गाको अनुपातका घडेरीहरू नपाएको जग्गादाता सन्तोष जीसीले गुनासो गरे ।

‘जिल्लामा बसपार्कको आवश्यकता महसुस गरी जग्गा उपलब्ध गराइए पनि काममा ढिलाइ हुनु दुःखद हो,’ समितिका सदस्य गोविन्दबहादुर जीसीले भने, ‘बस ल्याउने र दातालाई जग्गा फिर्ताको काम सँगसँगै हुनुपर्छ ।

’बागलुङ नगरपालिका र समितिबीच सात वर्षअघि गरिएको १२ बुँदे समझदारीको ठाडो उल्लंघन भएको स्थानीयले आरोप लगाएका छन् ।

नगरले जग्गा व्यवस्थापनका नाममा कहिले ४० लाख त कहिले ३० लाख विनियोजन गरेर झारा टार्ने काम मात्र गरेको बागलुङ नगरपालिका–४ का वडाध्यक्ष तथा समितिका सचिव ध्रुवबहादुर केसीले बताए ।

‘जग्गा व्यवस्थापन नभएसम्म बसपार्क सञ्चालनमा आउन सक्दैन,’ उनले भने ।बागलुङ नगरपालिकाले भने यस विषयमा योजना बनिरहेको जनाएको छ ।

यसै वर्ष जग्गा व्यवस्थापनका लागि प्रदेशमा बजेट माग गरिए पनि विनियोजन नभएकाले समस्या परेको नगरपालिकाका इन्जिनियर मनोज शर्माले बताए ।

आशिष सेवा जेभीले २०७६ कात्तिक २७ गते बसपार्क निर्माणको काम सक्ने गरी जिम्मेवारी लिएकोमा पहिलोपटक २०७७ वैशाख २५, दोस्रोपटक २०७७ कात्तिक मसान्त र तेस्रोपटक २०७८ वैशाख २५ गतेसम्म समय थप गरिएको थियो ।

आधुनिक बसपार्क निर्माणपछि कम्तीमा ६० वटा बस पार्किङ गर्न सकिने बताइएको छ । त्यहाँ साना सवारीसाधनका लागि समेत सहज पार्किङको व्यवस्था हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung