नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई मन्त्रालयमा तान्ने तयारी गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले तयारी गरेकी हुन् ।
यो प्रस्ताव बोकेर उनी बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा प्रवेश गरेकी छन्। यसबारे मन्त्रिपरिषद् बैठकमा राय लिने मन्त्री भुसालको तयारी छ। कुलमान घिसिङलाई प्राधिकरणमा पुनः ल्याउने तयारीमा रहेकी उनी हितेन्द्रदेवलाई कहाँ लगेर व्यवस्थापन गर्ने उपाय खोजिरहेकी छन्।
सोहीअनुसार शाक्यलाई काजमा तान्नु ठीक हुने उनको बुझाइ रहेको मन्त्री भुसालको सचिवालय स्रोतले जनाएको छ । शाक्यलाई मन्त्रालयमा तान्दा सहज हुने वा नहुने प्रधानमन्त्रीको मनसाय बुझ्न उनले मन्त्रिपरिषद्मा यसको प्रस्ताव लगेकी हुन्।
शाक्यको कार्यकाल सकिन अझै ३ वर्ष बाँकी छ । त्यसकारणले उनलाई हटाउँदा अदालत जाने सम्भावना रहेकाले पनि सहज व्यवस्थापनको खोजीमा मन्त्री भुसाल छिन्।













































































































































































































