मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा आन्दोलनरत विद्यार्थीले उपकुलपति प्रा.डा नन्दबहादुर सिंहको गाडी तोडफोड गरेका छन् ।
विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट (मुसोम) मा मंगलबार अपराह्न आयोजित एक कार्यक्रममा उपकुलपति सिंह सहभागी भइरहेका बेला पार्किङ गरी राखेको गाडी अराजक समूहले तोडफोड गरेको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायणप्रसाद पौडेलले उपकुलपतिको गाडीमा दुईपटक तोडफोड भएको बताए । उनका अनुसार अन्तक्रिया भइरहेका बेलामा ढुंगामुढा गर्नुका साथै निवासमा पार्किङ गरी राखिएको अवस्थामा साँझ बञ्चरो पनि प्रहार गरिएको छ ।
विद्यार्थीहरुको आक्रमणबाट आफू चढ्ने गाडीको सिसा फुटेको उपकुलपति सिंहले बताएका छन् । विश्वविद्यालयको समस्या समाधान गर्न भन्दै बोलाइएको सर्वपक्षीय बैठकमा सहभागी भइरहेको बेला केही व्यक्तिहरुले आक्रमण गरेको र प्रहरीले स्कर्टिङ गरेर आफूलाई सुरक्षित रुपमा निवासमा ल्याइदिएको उपकुलपति सिंह बताउँछन् । त्यस्तै विद्यार्थी संगठनहरुले आन्दोलनमा दमन गरेको भन्दै विश्वविद्यालयका पदाधिकारीहरुलाई कारबाहीको माग गरेका छन् ।
झडपको क्रममा मध्यपश्चिम विश्वविद्यालय अखिल क्रान्तिकारीका संयोजक टोपेन्द्र पौडेल, निवर्तमान स्ववियु सभापति झक्कबहादुर शाही, टीकाराम ढकाललगायत घाइते भएका छन् ।



















































































































































































































