हुँदा खानेलाई हुने खाने बनाउने लक्ष्यका साथ स्थापित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले लघुउद्यम कार्यक्रमको सुरुवात गरेको छ । न्यून आय भएका महिलाहरुलाई सशक्तिकरण गर्दै आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले सहकारीले लघुउद्यम कार्यक्रम सुरु गरेको हो ।
बिहीबार बागलुङमा आयोजित कार्यक्रममा संविधान सभा सदस्य प्रकाश शर्मा पौडेलले कार्यक्रमको शुभारम्भ गरेका छन् । पहिलो लघुउद्यम विकास केन्द्रको रुपमा मालिका सदस्य सेवा केन्द्र बागलुङ अन्तर्गत बेनी नगरपालिका –२ विमिराबोट केन्द्रलाई प्रदान गरिएको छ ।
सहकारीले लघुउद्यम कार्यक्रममार्फत जागरण, प्रवद्र्धन, विकास र सञ्जालीकरण गरी महिलाहरुको आयआर्जन वृद्धि गर्नुका साथै सम्पतीमा महिलाको पहुँच स्थापित गर्ने लक्ष्य राखेको छ ।
सदस्यहरुलाई अधिकार, आवाज, छनौट र सल्लाहबाट सशक्तिकरण गर्ने रणनीति अबलम्बन गरेको छ । संस्थाको कार्यक्षेत्र रहेका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका उद्यमी बन्न इच्छुक महिलाहरुमा बचत गर्ने बानीको विकास, क्षमता अभिवृद्धि, वित्तीय व्यवस्थापन सम्बन्धी तालिममार्फत उद्यमशिलता विकास गरी महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउने लक्ष्य रहेको छ ।
चालु आर्थिक वर्षमा लघुउद्यम कार्यक्रममा ३ हजार महिला सदस्यहरुलाई आवद्ध गराई पहिलो चरणमा ११ वटा सेवा केन्द्रमार्फत १२० वटा लघुउद्यम केन्द्रमा ३६ करोड पुँजी परिचालन गरिने सिवाईसी साकोसका लघुउद्यम विभाग प्रमुख विष्णु पौडेलले बताए ।
यसैबीच संस्थाको १२ औंै वार्षिक साधारणसभाको मिति तय गरी संस्थाको आ.व.२०७७/०७८ को प्रगति तथा आ.व. २०७८÷०७९ को प्रस्तावित नीति तथा कार्यक्रमसहितको वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको छ ।
सार्वजनिक गरिएको प्रतिवेदन शेयर सदस्यहरुले संस्थाको वेभसाइट तथा सामाजिक सञ्जाल फेसबुक मार्फत अध्ययन गर्ने व्यवस्था मिलाइएको छ । प्रतिवेदन अध्ययन गरी सदस्यहरुले विस्तारित मञ्चमा सुझाव पेश गर्न सक्ने छन् ।
कोभिडका कारण सबै सदस्यको उपस्थितिमा साधारण सभा गर्न असम्भव देखिएकाले तथा सहकारी विभागको निर्देशन बमोजिम असोज ३ गते संस्थाको सेवा केन्द्र रहेका २३ स्थानमा विस्तारित मञ्चको आयोजना गर्नका लागि प्रतिवेदन सार्वजनिक गरिएको हो । संस्थाको केन्द्रीय वार्षिक साधारण असोज ९ गते गर्ने तय भएको छ ।
कार्यक्रमको अवसरमा बोल्दै प्रमुख अतिथि संविधासभा सदस्य पौडेलले सहकारीले जन्मदेखि मृत्युपर्यन्तसम्म दिएका सेवाहरुका कारण सिवाईसी राष्ट्रिय स्तरमा अब्बल सहकारीको पहिचान बनाएको बताए ।
लघुउद्यम कार्यक्रम संचालन गर्न लागेकोमा खुसी व्यक्त गर्दै नमुना, उदाहरणीय र दिगो उद्यम विकास गर्ने कार्यक्रम हुनुपर्नेमा जोड दिए । उक्त अवसरमा संस्थाको सृजनशिल प्रगती र उपलव्धी सहकारी अभियानमा पृथक रहेको धारणा व्यक्त गरेका थिए ।
सहकारीका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न लघुउद्यम शुभारम्भ तथा १२ औं वार्षिक साधारण सभाको वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा संस्थाका सल्लाहकार कृष्ण शंकर श्रेष्ठ, उद्यमशील सदस्य सेवा केन्द्र विहुका संयोजक चुडामणि कँडेल, लेखा सुपरीवेक्षण समितिका संयोजक पदमपाणी शर्मा, बिमिराबोट लघुउद्यम विकास केन्द्रका सदस्य सिता थापालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले संस्थाको हालसम्मको वित्तीय विवरण तथा संस्थाले सेवासुविधाका बारेमा जानकारी गराएका थिए ।
संस्थाले विकेन्द्रित रुपमा २३ वटा सेवा केन्द्र र केन्द्रीय कार्यालयमार्फत हालसम्म १८ हजार ८ सय ८८ सदस्यहरुमार्फत २ अर्ब ८ करोड १८ लाख भन्दा बढी सम्पती पु¥याएर सदस्यहरुलाई वित्तीय तथा गैरवित्तीय सेवा प्रवाह गरिररहेको न्यौपानेले बताए ।
कार्यक्रम संस्थाका उपाध्यक्ष गण्डकी थापा अधिकारीको स्वागत तथा सचिव जयराम भारीको सञ्चालनमा सम्पन्न भएको थियो ।



















































































































































































































