बागलुङको गलकोट नगरपालिका–६ का ७६ वर्षीय कृष्णबहादुर खत्रीलाई गत शुक्रबार श्वासप्रश्वासमा समस्या भयो । उनलाई तत्काल प्रभुको हेलिकप्टरमार्फत उपचारका लागि पोखरा लगियो ।
ढोरपाटन नगरपालिका–४ बस्ने ७३ वर्षीय नन्दबहादुर घर्ती पनि बिरामी परे । उपचारका लागि पोखरा लैजानुपर्ने थियो । मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा अवरोध गरेकाले गाडीमार्फत जान सम्भव थिएन । उसै गरी प्रभुको हेलिकप्टर झिकाउन प¥यो ।
बागलुङ नगरपालिका–१२ अमलाचौरका ७६ वर्षीय भूमीश्वर उपाध्याय रक्तचापका रोगी थिए । बिरामी भएपछि उनलाई पनि उसै गरी प्रभु एयरको हेलिकप्टरमार्फत उद्धार गरी पोखरा लगियो ।
पहिरोले बिहीबारदेखि सडक अवरुद्ध भएपछि यस भेगका स्थानीय उपचारका लागि महँगो तिरेर हेलिकप्टर मगाउन बाध्य छन् ।
पहिरोले बाटो थुन्दा बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङसम्मका स्थानीय प्रभावित भएका छन् । वर्षासँगै बीच–बीचमा पहिरो जाने र सडक अवरुद्ध हुँदा बिरामीको बाटोमै ज्यान जान सक्ने भएकाले हेलिकप्टर मगाउनु बाध्यता बनेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल बताउँछन् ।
‘सबैभन्दा ठूलो कुरा मान्छेको ज्यान हो, बाटो अवरुद्ध भए पनि बिरामीका आफन्तले सर–सापटी गरेर हेलिकप्टरमार्फत उपचारका लागि लैजानुपर्ने बाध्यता छ,’ उनले भने ।
बागलुङदेखि पोखरासम्म सार्वजनिक सवारीको भाडा प्रतिव्यक्ति ३ सय ५० रुपैयाँ छ । तर बाटो अवरुद्ध हुँदा उनीहरू हेलिकप्टरमा २ लाखसम्म तिरिरहेका छन् ।
नागरिक उड््डयन कार्यालय पोखराका अनुसार बिहीबारदेखि सोमबारसम्म बागलुङ, म्याग्दी, पर्वत, मनाङ, मुस्ताङमा गरी १९ वटा उडान भएका छन् । जसमा बागलुङमा शुक्रबार, शनिबार, सोमबार गरी चारवटा उडान भएका छन् ।
शनिबार, आइतबार गरी पर्वतमा ५, म्याग्दीमा बिहीबार, शनिबार, आइतबार र सोमबार गरी छवटा, मनाङमा शनिबार, आइतबार र सोमबार गरी तीनवटा उडान भएका छन् । जोमसोम र म्याग्दीमा गरी तीनपटक सिम्रिक एयरले र अन्यमा प्रभु हेलिकप्टरले उडान गरेको हो ।
बिहीबार, शुक्रबार, शनिबार, आइतबार र सोमबार गरी आठवटा उद्धार उडान गरिएको नेपाल नागरिक उड्डयन कार्यालय पोखराका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए ।
‘५ दिनको अवधिमा १९ फ्लाइट भएका छन्, जसमध्ये आठवटामा तत्कालै रेस्क्यु गरिएको छ,’ उनले भने, ‘रेस्क्यु बाहेक ११ वटा फ्लाइटमा २२ जना यात्रुले यात्रा गरेका छन् ।’
मध्यपहाडी लोकमार्गको पर्वत खण्डको १२ किलोमिटर सडकमा पहिरो जाँदा आवागमन पूर्ण बन्द छ । पर्वतकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेका अनुसार आज साँझ अथवा भोलिसम्म एकतर्फी रूपमा सडक सञ्चालन गर्ने तयारी भएको छ ।
‘८–९ वटा डोजर प्रयोग गरेर बाटो सफा गर्ने काम भइरहेको छ,’ उनले भनिन्, ‘सके आज साँझ, नभए भोलिसम्म सडक एकतर्फी सञ्चालन गर्छौं ।’
लोकमार्गको १२ किलोमिटरभित्र २० ठाउँमा पहिरो गएकाले सडक सञ्चालनमा कठिनाइ भएको उनको भनाइ छ ।
मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा धौलागिरिका साबिक जिल्लाहरूमा दैनिक उपभोग्य सामग्री तथा इन्धनको अभाव हुन थालेको छ । भदौ १७ गतेको अविरल वर्षाका कारण पहिरो जाँदा पर्वतमा ११ जनाले ज्यान गुमाइसकेका छन् ।
















































































































































































