१९ बैशाख २०८१, बुधबार

 

पपुवा न्युगिनीमाथि नेपालको जित

 

पपुवा न्युगिनीविरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले जित हात पारेको छ । मंगलबार ओमानमा भएको खेलमा नेपालले पिएनजीलाई २ विकेटले पराजित गरेको हो ।

पिएनजीले दिएको १३५ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा ३९।३ ओभरमा पूरा गर्‍यो । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४१ रन जोडे । उनले ६५ बलमा २ चौका प्रहार गरे ।

सोमपाल कामीले नटआउट २२ रन जोडे । उनले ३१ बलमा १ चौका र १ छक्का प्रहार गरे । मध्यक्रमका ब्याट्सम्यान लगातार आउट भएको अवस्थामा रोहित र सोमपालले सम्हालिएर ब्याटिङ गरेपछि नेपालको जित सम्भव भएको हो ।

ओपनरद्वय आसिफ शेख ३० रन र कुशल भुर्तेलले १५ रन बनाए । आसिफले ४६ बलमा ४ चौका हिर्काउदा कुशलले २८ बलमा २ चौका प्रहार गरे । दुवैले एकदिवसीय खेलमा डेब्यू गरेका हुन् ।

कप्तान ज्ञानेन्द्र मल्लले २० बल खेल्दा ६ रन मात्र जोड्न सके। यस्तै आरिफ शेख १९ बल खेलर ९ रन बनाएर आउट भए।

शरद भेषवाकारले २२ बलमा ६ रन मात्र जोड्न सके। कुशल मल्ल १ रनमा आउट हुँदा पवन सराफ डकआउट भए। बलिङमा पिएनजीका गौडी टोकाले ३ विकेट लिए । डामियन राभू र चाड सोपरले २–२ विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पिएनजी ३३ ओभरमा १३४ रनमा अलआउट भयो । पिएनजीलाई सस्तैमा समेट्न नेपालका लेगस्पिनर सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए ।

विक्रम शोव र कुशल मल्लले २–२ विकेट लिए। सोमपाल कामीले १ विकेट हात पारे। पिएनजीका लागि लेगा सैकाले सबैभन्दा बढी ३० रन जोडे। नेपालले आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजअघि पिएनजीसँग एकदिवसीय खेल खेलेको हो।

नेपालले अमेरिका र घरेलु टिम ओमानविरुद्धको त्रिकोणात्मक सिरिज खेल्दैछ। सिरिज भदौ २८ देखि सुरू भएर असोज ४ मा सकिनेछ। सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई(दुई खेल खेल्नेछ।

विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्