बागलुङ दुग्ध उत्पादक सहकारी संघको २० औं साधारणसभा बागलुङमा बुधवार सम्पन्न भएको छ । साधारणसभाका उद्घाटन गर्दै संघीय सांसद मनकुमारी केसीले बागलुङ जिल्लालाई दूधमा आत्मनिर्भर गराउनका लागि सहकारी संस्थाको भूमिका उल्लेख्नीय रहेको बताएकी छन् ।
सहकारीले आफ्नो लक्ष्य अनुरुप किसानले उत्पादन गरेको दूधलाई प्रशोधन र बजारिकरण गर्दै आएको भन्दै सांसद केसीले सहकारीको असली भावना र मर्मका साथ अघि बढ्न सके सहकारी मार्फत पनि समृद्धिमा ठुलो पु¥याउन सकिने बताइन् ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले नेपालका पाँच नमूना दूग्ध सहकारी मध्येको एक बागलुङ दूग्ध उत्पादक सहकारी भएको भन्दै बागलुङलाई दूधमा आत्मनिर्भर मात्रै नगराई दूग्धजन्य पदार्थ विक्रीबाट समेत धेरै आम्दानी गर्न सकिने बताए ।
कार्यक्रममा सहकारी संघका सचिव रामबहादुर हमालको प्रगति प्रतिवेदन, कोषाध्यक्ष डिलाराम कँडेलद्वारा आर्थिक प्रतिवेदन तथा लेखा समितिका संयोजक कमलप्रसाद शर्माबाट लेखा समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
दूग्ध सहकारी संघले आर्थिक वर्ष २०७७/७८ मा ६ करोड ७३ लाख ३० हजार आम्दानी र ६ करोड १४ लाख १२ हजार खर्च भई ६० लाख रकम बचत गर्न सफल भएको छ ।



















































































































































































































