७ कार्तिक २०८३, शुक्रबार

 

सीवाईसी साकोसको १२ औँ साधारणसभा : एक दर्जन शाखा विस्तार र आधा दर्जन सहकारी गाभ्ने प्रस्ताव

सीवाईसी बचत तथा ऋण सहकारी संस्थाले एक दर्जन शाखा विस्तार गर्नुका साथै आधा दर्जन सहकारी एकीकरणको तयारी गरेको छ । बागलुङमा शनिबार सम्पन्न संस्थाको १२औँ वार्षिक साधारणसभाले यस्तो प्रस्ताव पारित गरेको हो ।

असोज ३ देखि २३ वटै सेवाकेन्द्रमा साधारणसभा शुभारम्भ गरिएको थियो ।

बागलुङ, म्याग्दी र पर्वतका सेवाकेन्द्रमा विस्तारित मञ्चबाट चुनिएका प्रतिनिधिको उपस्थितिमा आयोजित साधारणसभाले सचिव जयराम भारीको आर्थिक वर्ष २०७७–०७८ को प्रगति प्रतिवेदन तथा चालू वर्ष २०७८–०७९ को प्रस्तावित नीति तथा कार्यक्रम र कोषाध्यक्ष सीतादेवी कँडेल सापकोटाको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पास गरेको छ ।

साबिक धवलागिरिका बागलुङ, पर्वत म्याग्दी र मुस्ताङमा गरी एक दर्जन नयाँ शाखा विस्तार गर्ने तथा कास्की जिल्लामा नयाँ कार्यक्षेत्र थपलगायत प्रस्ताव पास भएका छन् ।

नेपालमा सबैभन्दा बढी ३० वटा सहकारी एकीकृत गरी पुरस्कृत भएको सीवाईसीले यस वर्ष थप आधा दर्जन सहकारी एकीकरण गर्ने प्रस्तावसमेत साधारणसभामा पास भएको छ ।

सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले राम्रो टिमले दिगो नीति र विधिबाट सञ्चालन गरेकाले सीवाईसी सहकारीले छोटो समयमा फड्को मारेको बताए ।

सीवाईसी साकोसका सल्लाहकारसमेत रहेका उनले सहकारीलाई राज्यले बनाएको मापदण्डमा रहेर सञ्चालन गर्न सके जोखिम नरहनेमा जोड दिए ।

जिल्ला सहकारी संघका उपाध्यक्ष अशोकगोविन्द राजभण्डारीले सहकारीहरू व्यावसायिक गुणस्तर अभिवृद्धि गर्नतर्फ लाग्नुपर्ने बताए । जिल्ला बचत तथा ऋण सहकारी संघ बागलुङका सचिव ऋषिराम गौतमले सहकारीहरूबीचको एकतालाई जोड दिँदै वित्तीय सहकारीहरू एकीकृत रूपमा सञ्चालन हुन सके अन्य वित्तीय संस्थाको तुलनामा सहकारी सेवा पनि कमजोर नहुने बताए ।

नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले सीवाईसी साकोस वित्तीय साथसाथै सदस्यमुखी गैरवित्तीय सेवाहरूको कारण लोकप्रिय रहेको जनाए ।

कार्यक्रममा सीवाईसी साकोसका सल्लाहकार बद्रीप्रसाद शर्मा, गुप्तेश्वर सदस्य सेवा केन्द्र, कुस्माका कोषाध्यक्ष अनिता सापकोटा, बेनीका सदस्य सेवा केन्द्र संयोजक तुलसीनाथ सुवेदी, हटिया सदस्य सेवा केन्द्रका सचिव खिमबहादुर साहानी, अर्जेवा सदस्य सेवा केन्द्र सचिव वेमकुमारी थापालगायतले आफ्ना अनुभव, क्रियाकलाप र सदस्यका सुझावबारे धारणा राखे ।

सीवाईसी साकोसका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले सहकारीले चालू आवमा कुल सम्पत्ति ३ अर्ब ५ करोड र सदस्य संस्ख्या २८ हजार ५ सय पुर्‍याउने लक्ष्य राखेको बताए ।

कार्यक्रमका अवसरमा संस्थाले नवमालिका सदस्य सेवा केन्द्रलाई उत्कृष्ट सेवा केन्द्र र ज्योति मल्ललाई उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत गर्‍यो । साथै उत्कृष्ट कारोबार गरी संरक्षित फिर्ता कोषबाट रकम प्राप्त गर्ने एक दर्जन सदस्यलाई नगदसहित सम्मान गरियो ।

सीवाईसी साकोसलाई फरक रूपमा स्थापित गराउन विभिन्न सिर्जनशील विधि र प्रविधिको प्रयोगद्वारा आफूहरू यहाँसम्म आइपुगेकाले धवलागिरि क्षेत्रमा क्रियाशील नामुद सहकारीहरूबीच बृहत्तर एकताको आवश्यकता रहेका सस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले बताए ।

‘सहकारीको सम्भावना उजागर गर्दै यसो हुन सके मात्र जनतामाझ गरिबीविरुद्धको आभियान सञ्चालन गर्ने सशक्त संस्थाको जन्म हुनेछ,’ उनले भने, ‘त्यसका लागि सीवाईसी हरेक विकल्पमा छलफल गर्न तयार छ ।’

कार्यक्रम संस्थाका सहसचिव सुवास आचार्यको स्वागत र सचिव जयराम भारीको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung