दसैं–तिहारलाई लक्षित गर्दै नेपाली ब्रान्ड ‘भ्याक्सिनो’ बजारमा आएको छ । युवालाई लक्षित यो ब्रान्ड अल्फा इम्पोरियमले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
अल्फा इम्पोरियमका सञ्चालक प्रकाश प्रधानले कोरोना महामारीका बीच लयमा फर्किदै गरेको फेसन बजारमा अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रतिस्पर्धा गर्ने गरी भ्याक्सिनो ल्याएको बताए ।
कोरोनाले थलिएको विश्वमा कोरोना भ्याक्सिन सबैको रोजाइमा परेको र त्यसरी नै सबै नेपालीको रोजाइमा यो ब्रान्ड पर्ने अपेक्षाले नाम पनि त्यस्तै जुराइएको उनको भनाइ छ ।
‘अहिलेको समयसापेक्ष यो नाम जुराउन हामीलाई करिब ७ महिना लाग्यो,’ दुई दशकदेखि काठमाडौंमा व्यवसाय सञ्चालन गर्दै आएका प्रधानले भने, ‘नयाँ ब्रान्ड सबै नेपालीको मनमनमा बस्ने विश्वास छ ।’

सर्वसुलभ मूल्यमा पहिलो चरणमा पुरुषहरूका लागि छालाको ज्याकेट, कटन तथा जिन्स पाइन्ट, टिसर्ट, सर्ट, लेजरलगायत सामान उत्पादन गरेको उनले बताए ।
प्रधानका अनुसार कोरोनाका कारण पर्याप्त सामान नआएकाले अहिले भारत र चीनमा उत्पादन गरेर ल्याइएको हो । निकट भविष्यमै नेपालमै दुई सय मेसिन राखेर उत्पादन थालिनेछ ।
‘हामीले अहिले बाहिर उत्पादन गरे पनि ६ महिनाभित्र नेपालमै उत्पादन सुरु गरी काठमाडौंका ६ स्थानमा सोरुम राख्ने निर्णय गरेका छौं,’ उनले भने, ‘अन्य ब्रान्डका कपडाभन्दा यो आधा सस्तो र गुणस्तरीय छ ।’
३ करोड लगानीबाट सुरु गरेको व्यवसायमा ३ सय ५० जनाभन्दा बढीलाई रोजगारी दिने उनको लक्ष्य छ ।

‘हामी सबैलाई नेपाली ब्रान्ड भ्याक्सिनो प्रयोग गर्न आग्रह गर्छौं,’ प्रधानले भने, ‘यो ब्रान्डको कपडा लगाउँदा एलर्जी तथा असहज हुनेछैन ।’
देशका सबै ठाउँमा यो ब्रान्ड पुु¥याउने योजना सुनाउँदै प्रधानले दसैंतिहारमा आफन्तलाई कोसेली भ्याक्सिनो कपडा नै लैजान आग्रह गरे । केही समयपछि महिलाका लागि पनि कपडा उत्पादन थाल्ने उनको भनाइ छ ।
कम्पनीले भ्याक्सिनो ब्रान्ड प्रवर्धनका लागि चर्चित गायक प्रमोद खरेललाई सद्भावना–दूत नियुक्त गरेको छ ।

ब्रान्ड सार्वजनिकीकरणमा उनले स्वदेशी ब्रान्डलाई सपोर्ट गर्नकै लागि आफू सद्भावना–दूत बनेको बताए । ‘शरीरभित्र कोरोना भ्याक्सिन, बाहिर भ्याक्सिनो’ लगाएर दसैं–तिहारमा खुसी साटासाट गर्न उनले आग्रह गरे ।
‘म अहिलेसम्म तीनवटा ब्रान्डको एम्बेसडर नियुक्त भएको छु,’ उनले भने, ‘सबैभन्दा पहिले चेक गरेर मात्रै निर्णय लिने भएकाले यसलाई स्वदेश तथा विदेशमा प्रचार गर्नेछु ।’

भ्याक्सिनो ब्रान्डसँग एक वर्षको सम्झौता रहेकोमा त्यसपछिका दिनमा पनि सहकार्य जारी राख्ने गायक खरेलले बताए । ‘यहाँ रहँदा ब्रान्डलाई थप नयाँ उचाइमा पु¥याउन मेरो भूमिका रहनेछ,’ उनले भने ।
ब्रान्ड सार्वजनिक कार्यक्रममा हास्य कलाकार राजा राजेन्द्र पोखरेल, व्यवसायी नयबहादुर पण्डित, रामकुमार राजभण्डारी, आइटी अफिसर अमृत स्पर्श, अञ्जु प्रधानलगायतले शुभकामना मन्त्वय राखेका थिए ।
भ्याक्सिनो ब्रान्डका कपडा अहिले न्युरोडबाट बिक्री सुरु गरिएको सञ्चालक अञ्जु प्रधानले बताइन् । अल्फा इम्पोरियमले सर्जिकल मास्क पनि उत्पादन गरिरहेको छ ।























































































































































































