बागलुङ– शिवशिखर बहु–उद्देश्यीय सहकारी संस्था लिमिटेडले बागलुङमै पहिलो पटक गार्डेन मार्ट सञ्चालनमा ल्याएको छ । संस्थाले यसअघि काठमाडौंसहित देशका विभिन्न सहरमा शाखा स्थापना गरिसकेको छ ।
एउटै छानामुनि सबै वस्तु उपलब्ध गराउने उद्देश्यले मार्ट बजार सञ्चालनमा ल्याइएको सहकारीले जनाएको छ । देशका ठूला पाँच सहरमा शाखा सञ्चालन गरेको सहकारीले बागलुङ बजारको श्रीनगर टोलमा करिब ९ करोडको लागतमा मार्ट स्थापना गरेको हो ।
मार्टमा खाद्यान्न, भान्सा र लत्ताकपडाका सम्पूर्ण आइटम पाइने शिवशिखर बहु–उद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङ शाखा प्रबन्धक विष्णुप्रसाद भुसालले बताए । चामल, दाल, चिया, चकलेट, घ्यु, महलगायत सामग्री सहकारीले आफैं उत्पादन गरेको हो ।

आफ्ना उत्पादनसँगै बजारको मागअनुसारका सामान सहज तबरले उपलब्ध गराउन मार्ट सञ्चालनमा ल्याएको भुसालको भनाइ छ । ‘स्थानीय उत्पादनलाई ब्रान्डिङ गर्दै निर्यात बढाउन सहकारीले काम गरिरहेको छ,’ उनले भने, ‘७७ वटै जिल्लामा कृषकलाई उत्साहित पार्ने योजनासहित उत्पादित वस्तु खरिद गरी ब्रान्ड बनाई बिक्री एवं बाहिरी देशमा निर्यात बढाउने लक्ष्य छ ।’
संस्थाका अनुसार शिखर अर्गनाइजेसन लिमिटेडअन्तर्गत २२ वटा कम्पनी छन् । मुख्य लक्ष्य कृषि–उत्पादनलाई बढावा दिने भएकाले किसानलाई आर्थिक तथा प्राविधिक रूपमा सहयोग गर्दै उत्पादित वस्तु बजारमा ल्याउने योजना रहेको भुसालले बताए ।

काठमाडौंमा पाइने बहुराष्ट्रिय कम्पनीका सामान बागलुङमै सुपथ मूल्यमा बिक्री गरिने संस्थाले जनाएको छ । सहकारीका शाखा र गार्डेन मार्टमा गरी ४५ जनाले रोजगारी पाएका छन् ।
बागलुङका ढोरपाटन र ताराखोलाको आलु, भाँगो, अदुवा, बेसार, लसुन, हराउँदै गएको रैथाने बाली कोदो, स्थानीय जातको मकैलगायत तयारी वस्तु बजारमा ल्याउने लक्ष्य लिइएको सहकारीको जनाएको छ । त्यसका लागि प्रशोधन केन्द्र सञ्चालन गर्ने तयारीसमेत थालिएको छ ।मार्टको शनिवार औपारिक उद्घाटन गर्ने सहकारीले जनाएको छ ।



















































































































































































































