११ कार्तिक २०८३, मंगलवार

 

यसरी प्रकाशित भएका थिए ‘चौतारी’ र ‘प्रयास’

२०३६ सालको अन्तिमतिरको कुरा हो । एसएलसी परीक्षा दिएर फुर्सद भएको क्षण थियो । त्यति बेला कविता, कथा, पत्रपत्रिकामा नाम छाप्न निकै रहर लाग्थ्यो । त्यस्तै रहरमा केही युवा मिलेर ‘प्रयास’ पत्रिका निकाल्ने जमर्काे गरियो ।

त्यतिखेर म बागलुङको सानो जलविद्युत् आयोजनामा जागिरे थिएँ । अफिसमा नेपाली टाइपराइटर थियो जसले हस्तलिखितभन्दा प्रिन्टेड सुग्घरी अक्षर प्रयोग गर्ने अवसर दियो । मेरै सम्पादकत्व र श्रद्धेय मित्रहरू हितमान शाक्य (नेपाले) एवं आलोक श्रेष्ठको नैतिक सहयोगमा ‘प्रयास’ पत्रिका प्रकाशित भयो ।

पत्रिका निकाल्ने क्रममा ‘प्रयास’ को रबर स्ट्याम्प साथी हितमानले आफ्नै सीपले बनाउनुभयो । त्यो स्ट्याम्प यति राम्रो थियो कि प्रेसमा दिइएको भए त्यस्तो सायदै बन्थ्यो ।

प्रयासका बाह्रवटा अंक प्रकाशित भए । हामीले विभिन्न विशेषांक पनि निकाल्यौं । जस्तै– शहीद अंक, लु–स्यून अंक । यसै क्रममा प्रेसमै पत्रिका किन नछाप्ने भनेर मेरै नेतृत्व र विकास असीमको नैतिक सहयोगमा ‘ज्वालामुखी’ नामक पत्रिका निकाल्न चन्दा संकलन गरियो ।

त्यसले सार्थकता पनि पायो । तर प्रकाशन भइसकेर पनि ‘ज्वालामुखी’ ले २०३७ तिर बजार प्रवेश गर्ने एवं पाठकहरूको हातमा पर्ने अवसर पाएन । त्यति बेला निर्दलको विजय भएका होला, अजय प्रिन्टिङ प्रेसबाट प्रकाशित हुने ‘साप्ताहिक खबर कागज’सँगै ‘ज्वालामुखी’ पनि प्रतिबन्धित भयो ।

समयक्रममा शेखर भास्कर आदि साथीको सहयोगमा ‘चौतारी’ निकाल्ने रहर जाग्यो । २०४१ सालमा हामीले लिथो प्रिन्टिङको माध्यमबाट प्रथम अंक निकाल्यौं ।

दोस्रो अंक २०४२ मा दिव्य प्रिन्टिङ प्रेसबाटै छापेर प्रकाशन गरियो । ‘तेस्रो बिसौनी’ त झन् साथी शेखरचन्द्र श्रेष्ठ र भास्कर रा.भ.को सहयोगमा काठमाडौको गुणस्तरीय पे्रसबाटै छापियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung