२४ बैशाख २०८१, सोमबार

 

गायक योगेश्वरको जग्गा किर्ते गरेर १९ करोड ठगी, चार जना पक्राउ

बैंक कर्मचारीसहितको गिरोह मिलेर गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाई ठगी गरेको पाइएको छ । अमात्यको बारास्थित जग्गाको नक्कली पुर्जा बनाएर १९ करोड रुपैयाँ ठगिएको हो ।

उक्त प्रकरणमा प्रहरीले कुमारी बैंकका कर्मचारीसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, जग्गाका मूल्यांकनकर्ता राजेश्वर चौरसिया, मुक्तिनाथ गौतम र एसकुमार महर्जन छन्।

प्रहरीका अनुसार गौतम र महर्जन बेनियल ट्रेडिङ कम्पनी कोटेश्वरका सञ्चालक हुन्। तीन जनालाई केही दिनअघि नै केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंबाट पक्राउ गरेकोमा चौरसिया मंगलबार पक्राउ परेका हुन् ।

ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहका अनुसार अमात्यको १२ बिघा जग्गाको किर्ते कागजात बनाएको खुलेको छ । गौतम र महर्जनले बिरुवा भूमि वनकाली कम्पनीका नाममा नक्कली कागजात बनाएर कुमारी बैंकबाट १९ करोड निकालेका हुन् ।

उक्त कम्पनीयोगेश्वर अमात्य र उनकी श्रीमती सञ्चालक रहेको कम्पनी हो।कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट ठाकुरसहितको मिलेमतोमा उक्त जग्गाको नक्कली लालपूर्जा बनाएर बैंकको न्यूरोड शाखाबाट रकम निकालेको पत्ता लागेको सिंहले बताए।

उनका अनुसार त्यसरी नक्कली कागजात बनाएर ऋण स्वीकृत गर्न कुमारी बैंकको केन्द्रीय कार्यालय नक्साललाई पनि पत्राचार गरिएको पाइएको छ। केन्द्रीय बैंकले अनुमति दिएकै आधारमा कुमारी न्युरोड शाखाबाट रकम निकालिएको थियो ।

पक्राउ परेका सबैविरुद्ध सरकारी लिखतसम्बन्धी कसुरमा अनुसन्धान थालिएको ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोलेले जानकारी दिए।

उनका अनुसार यो प्रकरणमा कुमारी बैंक पर्सा शाखा, न्युरोड शाखा र कुमारी बैंक केन्द्रीय कार्यालय नक्सालका कर्मचारीको संलग्नता रहेरनरहेको विषयमा अनुसन्धान जारी रहेको महतोले बताए।गायक अमात्यले आफ्नो जग्गा किर्ते गरेर ऋण निकालिएको भन्दै एक महिनाअघि प्रहरीमा उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्