वित्तीय अपराध र ठगी मुद्दामा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य पनि उक्त प्रकरणमा तानिएकी छन् । प्रहरीले उनलाई पक्रन वारेन्ट जारी गरेको छ ।
सीआईबीका प्रमुख डीआईजी धीरज प्रताप सिंहले मुख्य अभियुक्त नै सिर्जना भएको ठहर गर्दै उनलाई पक्राउ गर्न विशेष टोली खटाइएको जानकारी दिए ।
लामो अनुसन्धानपछि सीआईबीले शुक्रबार इच्छाराज र उनीसँग जोडिएका व्यक्तिहरूको संगठित अपराध र ठगीसम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको उनले बताए ।
सीआईबीले संगठित अपराधमा इच्छाराजलाई ८ वर्ष कैद र ५ अर्ब ५९ करोड रुपैयाँ जरिवाना माग्दै सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो। इच्छाराज अहिले सीआईबीको हिरासतमा छन् ।
सीआईबीका अनुसार हालसम्म ४ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको ठगी गरेको जाहेरी परिसकेको छ । यसबीचमा ११ सय २६ जनाले आफू ठगिएको भन्दै जाहेरी दिएका छन् ।
तामाङले स्थापना गरेका २२ कम्पनीमा सिभिल सहकारीको बचत लगेर लगानी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यी सबै कम्पनीको बहुमत स्वामित्व तामाङ र उनको परिवारको भएको पनि खुलेको छ ।
तामाङ सिभिल सहकारीका पूर्वअध्यक्ष हुन् । अदालतले पनि संगठित अपराध ऐन विरुद्धको कसुरमा अनुसन्धान गर्न अनुमति दिएको छ ।
संगठित अपराध गरेको आरोप लाग्नेहरूलाई प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ ।
कर्मचारी सञ्चय कोषले समेत इच्छाराजले राजधानीको सुन्धाराको ६ रोपनी जग्गामा बनाएको सीटीसी मल लिलामी गर्न लागेको छ ।













































































































































































































