आज भोलि कोरोना बढेका कारण सिंहदरबार छिर्न गृहमन्त्रालयले कडाई गरेको छ । जारी गरेका स्थायी, अस्थायी पास र गेट पास बन्द छ । साधारण मान्छे छिर्न गाह्रो छ । छिर्नै परे गृहमन्त्रालयको अनुमति लिएर सिंहदरबार प्रवेश गर्न पाइन्छ ।
बिहीबार भन्दा शुक्रबार शिक्षा मन्त्रालयमा मानिसहरुको बढी चाप देखिन्थ्यो । मेडिकल कलेजहरुले विद्यार्थीबाट तोकिएको शुल्क भन्दा बढी शुल्क मागेको गुनासो आएपछि शिक्षा मन्त्री देवेन्द्र पौडेलले ११ बजे सर्वदलीय बैठक डोकेका थिए ।
लामो समय बैठक बसेपछि ५ वटा निर्णय भयो । निर्णयमा चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी पैसा लिन नपाइने, विद्यार्थीहरुले सहज र अनुकुल वातावरणमा सिक्ने अवसर सुनिश्चित गर्ने दायित्वलाई मनन गरी विद्यार्थीहरुको छात्रावास सम्बन्धी समस्यालाई सम्बन्धित शिक्षण संस्था तथा अभिभावक एवम् विद्यार्थीहरुबीच आपसी छलफल गरी सहमतिमा निरुपण गर्नेलगायतका निर्णय भए ।
निर्णय सुनाउँदै शिक्षा मन्त्री पौडेल मन्त्रिपरिषद्को बैठकमा लागे । दिउँसो ४ बजिसकेको थियो । बैठकको म्याइन्यूट उठाउन भन्दै मन्त्री पौडेल गन्तव्य तर्फ लागे ।
सहसचिव डा. हरिप्रसाद लम्साललाई त्यो जिम्मा लगाइएको थियो । बाहिर पत्रकार, कलेजका विद्यार्थी र अभिभावकहरुको लामो लाइन थियो । निर्णय सार्वजनिक हुन समय लाग्ने भएपछि विद्यार्थीहरु तलमाथि गरिरहेका थिए ।
सबैको ध्यान खिचिरहेको विषय भएकाले पत्रकार पनि धैयताका साथ निर्णयको पर्खाइमा थिए । ४ः३० मिनेट भएको थियो । म तलबाट माथि उक्लदै थिए । आज माफियालाई तह लगाइन्छ भन्दै गरेको सुने । यो शब्द सुनेको धेरै पटक सुनेकाले त्यति वास्ता गरिन् ।
माथि पुग्दै गर्दा कहिल्यै नदेखेका मान्छेहरुलाई देखे । आज भएको निर्णयको विज्ञिप्त आएन भन्दै थिए मलाई । म बुझ्छु भन्दै भित्र पसे र विज्ञप्तिको फोटो खिचें । साथीहरुलाई विज्ञिप्त सेयर पनि गरे ।
सेयर गरेपछि बाहिर एक जनाले शर्मा निस्किए भन्दै थिए । मैले सुइको पाइहाले माफिया र शर्मा भन्न वित्तिकै । आज केही हुने भयो भन्ने । भित्र काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले आज भएको निर्णयमा ‘नोटअफ डिसेन्ट’ दर्ज गर्दै थिए । भन्दै थिए ‘म कसैलाई फसाउँदिन । आजको निर्णय हामी मान्न सक्दैनौं ।’
शर्मा बोल्दै थिए, मैले सहसचिव लम्साल सरलाई भने आज शर्मा सरमाथि दुर्व्यहार हुन सक्छ । प्रहरीलाई खबर गरौ । मेरो भनाइ पछि उहाँले प्रहरीलाई बोलाउनुभयो । प्रहरीलाई गोप्य कोठामा लगेर शर्मा सरलाई सुरक्षित तरिकाले निवाससम्म पु¥याउनु भन्दै निर्देशन दिनुभयो ।
फरक मत दर्ज गरेपछि सुनिल शर्मासँग प्रहरी पनि झरेका थिए । ४ः४५ बजेको हुँदो हो । शर्मा पहिलो तलामा आउँदा उनको मुहारमा हँसिलै थियो ।
मन्त्रालय प्रवेश गर्ने गेटमा तीन जना उभिएका थिए । मलाई लागेको थियो यो आँखाले थप केही देख्दैछ भन्ने । शर्मा र प्रहरी सिडीबाट झर्दै थिए । म ढोका बाहिर पुग्दा उनी ढोकामा आएका थिए । एक जना मुखमा मास्क लगाएका व्यक्तिले उनलाई ‘नमस्कार सर…’ भने शर्माले नमस्कार मात्रै भनेका थिए एक्कासी मुखमा कालोमोसो दले ।
यो घटना तीन सेकेन्ड भित्र भइसकेको थियो । शर्माको मुखमा मोसो दलेका युवाहरु थप आक्रोशित हुँदै थिए ।
शर्मा त्यहाँबाट उम्किन पाए । शर्माका मान्छे, प्रहरी, र मास्क लगाएका युवाहरुबीच ठेलमेल भयो । केही युवाले भन्दै थिए ‘हामीलाई गुण्डा लगाएर पिटेको भुलिस’ !
एक छिनको ठेलमेलपछि शर्मा राष्ट्रिय सतर्कता केन्द्रको बाथरुममा गएर मुख धोएँ । र उनी गाडी पार्किङ गर्ने ठाउँमा आफ्नो सवारी साधन बोलाएर लागे ।
५ जना पक्राउ
बैठक सकिएपछि बाहिरिने क्रममा केएमसी र नोबेल मेडिकल कलेज सञ्चाल शर्मालाई कालोमोसो दल्ने विद्यार्थी संगठनका कार्यकर्ता भएको खुलेको छ ।
नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाही र अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुँवरले संयुक्त विज्ञप्ति जारी गर्दै कालोमोसो दलेको घटनाको जिम्मेवारी लिएका छन् ।
शर्माले विद्यार्थी र अभिभवकलाई हतोत्साहित गर्ने, निर्णयहरुमा नोट अफ डिसेन्ट लेख्ने र विद्यार्थी संगठनहरुलाई समेत दुव्र्यवहार गरेकाले कालोमोसो दलिएको उनीहरुले बताएका छन् ।
नेकपा एस निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीका अनुसार उपमहासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुन पक्राउ परेका छन् ।
५ जना मध्ये २ जना शर्माकै मान्छे पक्राउ परेको बताइएको छ । शर्माका दुई जना मान्छे छुटिसकेका छन् ।













































































































































































































