फेब्रुअरी १९७२ को हिउँदे बिहानीमा बेइजिङमा अवतरण गरेको ‘एयर फोर्स वन’ को सिँढीबाट रिचर्ड निक्सन आत्मविश्वासपूर्वक ओर्लिए। उनले आफ्नो हात यति छिटो अघि बढाए कि उनको सद्भावलाई बेवास्ता गर्न असम्भव थियो। त्यहाँ उनलाई स्वागत गर्न प्रधानमन्त्री चाउ एनलाइ र सलामी दिन चिनियाँ सेना उपस्थित थिए। उनको आफ्नै रिपब्लिकन पार्टीले शत्रुको इलाका मान्ने चीन आइपुगेका थिए निक्सन।
सो घटनाको पचास वर्ष बितिसक्दा पनि निक्सनको साहसिक कूटनीति अझै सान्दर्भिक छ। युक्रेन संकट चर्किंदै जाँदा राष्ट्रपति भ्लादिमिर पुटिन र सी चिनफिङ साझा हित खोज्न सफल हुँदैछन्। गत साता उनीहरुले ३८ औँ पटक भेट गरे। यसले पुरानो सोभियत–चीन गठबन्धनको याद ताजा बनायो।
रिचर्ड निक्सनभन्दा पाँच वर्ष पहिल्यै म चीन पुगेकी थिएँ। १९६७ को सुरुमा ५० अस्ट्रेलियाली विद्यार्थीको समूह चीन आइपुगेको थियो। जसमा अनेक वैचारिक पृष्ठभूमिका र मजस्ता कुनै विचारधारा नभएका विद्यार्थी पनि थिए। सांस्कृतिक क्रान्ति आफ्नो शिखरमा थियो, जसले दसौँ लाख ज्यान लिएको हामीले पछि थाहा पायौँ। हामीले माओलाई उनको सबैभन्दा खराब क्षणमा देख्यौँ।
त्यतिबेला ‘पुँजीवादका भगौडा कुकुरहरु’विरुद्ध सहरहरुमा ठुल्ठूला प्रदर्शन भइरहेका थिए। कारखानाहरु निष्क्रिय थिए। गाउँगाउँमा उथलपुथल थियो।
माओका विदेशमन्त्री चेन यी सम्भवतः कुनै गतिलो काम नभएर हामीलाई भेट्न ग्रेट हल अफ द पिपुलमा आए। उनले माओको विचारको व्याख्या गरेर हामीलाई हँसाउने कोसिस गरे। पछि माओले उनलाई क्रुरतापूर्वक घटुवा गरिदिए।
चीनमा हाम्रो अन्तिम दिन थियो। सीमा पार गरेर हङकङ प्रवेश गर्नुअघि हामी क्यान्टोन, जसलाई अहिले क्वान्चौ भनेर चिनिन्छ, को एउटा रंगशालामा लुसुक्क छिर्यौँ। भित्र पोडियममा ६० पार गरेका एक महिला र पुरुष टाउको झुकाएर उभिएका थिए। उनीहरु ‘बुर्जुवा संशोधनवादी’ हुन् भनेर हामीलाई चिनाइयो। हजारौँ मानिसहरुले नारा लगाए र कयौँ लालसेनाले भाषण दिए। त्यसपछि उनीहरुलाई पछाडिको ढोकाबाट बाहिर निकालियो। सायद तिनले भयानक दुर्भाग्यको सामना गर्नुपर्यो।
चीनको त्यो अनुभवले कम्युनिस्ट पार्टीको आकार, महत्व र जनपरिचालन गर्ने शक्तिलाई स्थायी रुपमा मेरो दिमागमा गडाइदियो।
मलाई महसुस भयो, माओको कारण उत्पन्न गरिबी र भद्रगोलमा चीन रहिरहन सम्भव छैन। मैले चीनको प्रचार संयन्त्रको उत्पत्तिलाई पनि देखेँ, जसलाई प्रयोग गरेर सीले अहिले नाजुक राष्ट्रवाद र अमेरिकाविरोधी भावना उराल्ने गर्छन्।
११ सेप्टेम्बर २००१ को आतंकवादी हमला हुनुअघि विदेशमन्त्री कोलिन पावेलले बेइजिङ भ्रमण गरे। त्यसअघि म करिब आधा दर्जन पटक बेइजिङ आइसकेकी थिएँ। दुई दशकपछि पावेल चीन पुगेका थिए। अग्ला भवनहरु देखेर आफू चकित भएको पावेलले पत्रकार सम्मेलनमा सुनाए। उनको कुरा सुन्दै गर्दा मलाई लाग्यो– यी किन चकित भएका? चीन त लामो समयदेखि यस्तै छ त!
२००१ मा चीन विश्व व्यापार संगठनमा आबद्ध भएपछि एसियाभर नयाँ आत्मविश्वास सिर्जना भयो। जहाँसुकै चीनको दबदबा महसुस गर्न सकिन्थ्यो।
चुपचाप बसिरहेका आसियानजस्ता क्षेत्रीय समूहहरु अचानक चीनका वरिष्ठ नेताहरुका लागि प्रदर्शन गर्ने ठाउँ बने। चिनियाँ नेताहरु आए पनि अमेरिकी नेताहरु भने कहिल्यै आएनन्।
चीनको नेतृत्व सी चिनफिङले लिँदै गर्दा २०१२ मा म न्युयोर्क टाइम्सको संवाददाता भएर बेइजिङ आइपुगेँ। उनलाई वासिङ्टनमा कसरी लिइन्छ, मलाई पहिल्यै केही संकेत प्राप्त भइसकेको थियो। त्यसअघि उपराष्ट्रपतिको कार्यकालको अन्तिमतिर रहेका सीको सम्मानमा अमेरिकी विदेश मन्त्रालयमा दिइएको दिवाभोजमा म पनि सहभागी थिएँ।
भोज आयोजना भएको सातौँ तलाको डाइनिङ हल चीनविज्ञ अमेरिकीहरुले खचाखच भरिएको थियो। दुई देशको आर्थिक सम्बन्धलाई लिएर उनीहरु अत्यन्त उत्साहित, लगभग गद्गद् नै थिए। यथार्थ खुल्न अझै केही समय बाँकी थियो।
बेइजिङमा बस्न थालेपछि मैले १९६७ मा विद्यार्थी छँदा हामीलाई चीन घुमाउने दोभाषेको खोजी गरेँ। त्यतिबेला लीले हामीलाई सांस्कृतिक क्रान्तिका जटिलता व्याख्या गरेर सघाएका थिए। सधैँ माओजस्तै कटनको निलो पहिरन लगाउने उनी राम्रो अंग्रेजी बोल्थे।
अहिले ८० नाघिसकेका ली एक दिन दिउँसो पत्नीसहित मेरो अपार्टमेन्टमा आए। उनीहरुले सुन्दर सेरामिकको सानो चिया सेट उपहार ल्याएका थिए। जानेबेलामा लीले दोभाषेको काम गर्दा आफू सैन्य गुप्तचर सदस्य रहेको खुलासा पनि गरे।
मैले उनलाई एकदुई पटक भेटेँ। तर, त्यसपछि उनले मेरो फोन उठाउन छाडे। मेरो आशंका के छ भने राष्ट्रपति सीले सेनामा शुद्धीकरण थालेपछि लीले न्युयोर्क टाइम्सका पत्रकारसँग सम्बन्ध कायम राख्ने जोखिम मोल्न सकेनन्।
पहिलो चीन यात्रासँग गाँसिएको अर्को सम्बन्ध पनि थियो मेरो। तत्कालीन विदेशमन्त्री चेन यीका छोरा चेन स्याओ लु र म कहिलेकाहीँ सँगै खाना खान थाल्यौँ।
एउटा ठूलो पश्चिमा होटलस्थित उनको मनपर्ने इटालियन रेस्टुराँमा हामी खाना खान्थ्यौँ। अमेरिकासँग प्रतिस्पर्धा गर्ने योजनाले अघि सारिएका सीका प्रमुख कार्यक्रम– बेल्ट एन्ड रोड इनिसियटिभ र एसियन इन्फ्रास्ट्रक्चर एन्ड इन्भेस्टमेन्ट ब्यांकबारे मैले लेखेकी थिएँ।
आफ्ना केही एसियाली सहयोगीलाई सो ब्यांकमा सहभागी हुनबाट रोक्न अमेरिका असफल भएको थियो। यो अमेरिकाको गल्ती थियो, जसलाई बेइजिङले पहिचान गरेको थियो।
चेनले मलाई चेताए– चीनको महत्वाकांक्षाप्रति सी विश्वस्त छन्। बाराक ओबामाले होस गर्न जरुरी छ। अमेरिका पतनोन्मुख छ भन्नेमा सी विश्वस्त छन्। त्यसैले उनले सकेसम्म सबै तरिकाले फाइदा उठाउने छन्। चेन सही थिए। जो पछि हृदयाघातका कारण बिते। उनका साथीहरुले सी पक्षधरसँगको संघर्षका कारण उनलाई हृदयाघात भएको बताएका छन्।
२०१९ को शरदमा मैले चीन छाड्ने बेला एक मित्रवत् सरकारी अधिकारीले मलाई दिवाभोजमा निम्त्याए। मैले न्यानो विदाईको अपेक्षा गरेकी थिएँ। तर, अमेरिकाले विश्वासघात गरेको भन्दै उनले ममाथि उपदेश वर्षाए। हङकङमा प्रदर्शन भइरहेको थियो। मेरा ती मित्रले वासिङ्टन र खासगरी एलेन वाइन्स्टाइन दोषी भएको बताए। म वाइन्स्टाइनलाई चिन्थेँ।
‘उनी त बितिसके नि,’ मैले भनेँ। चार वर्षअघि नै उनको मृत्यु भइसकेको थियो। ‘बिते पनि के भो र? उनी नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीका प्रमुख थिए,’ चिनियाँ अधिकारीले भने।
इन्डाउमेन्टकै कारण हङकङमा प्रदर्शन भएको उनको निष्कर्ष थियो। मैले अलिकति अध्ययन गरेँ र इन्डाउमेन्टले त्यो वर्ष हङकङमा ६ लाख ४० हजार डलर खर्च गरेको फेला पारेँ। त्यति ठूलो संस्थाका लागि त्यो रकम सानै थियो। तर, त्यो भोजपछि मलाई थाहा भयो– हामीबीचको सम्बन्ध सदाका लागि परिवर्तन भइसकेको थियो।
***
चीनसँग सम्बन्ध खुलाउने योजनाका ‘आर्किटेक्ट’ निक्सन र सो कामका व्यवस्थापक हेनरी किसिन्जरले माओसँगको त्यो भेटका लागि तीन वर्ष कडा मेहनत गरेका थिए। जुलाई १९७१ मा इस्लामावादबाट बेइजिङ उड्नुअघि किसिन्जर पाकिस्तानका विदेशमन्त्री सुल्तान मोहम्मद खानको फक्सवागन बिटल कारमा गुप्त रुपमा विमानस्थल पुगेका थिए। आफ्नै पार्टीको दक्षिणपन्थी खेमालाई आक्रोशित नतुल्याउनका लागि उनको त्यो यात्रालाई गुप्त राख्न जरुरी थियो।
निक्सन चीनमा सात दिन बसे। उनको यात्राको हरेक क्षण अमेरिकीहरुको घरघरमा टेलिभिजनमा सानदार प्रदर्शन भयो। अमेरिकी टेलिभिजन प्रस्तोताहरु निक्सनको पछिपछि ग्रेटवाल पुगे, भोजहरुमा पुगे, जहाँ उनले अत्यन्त उत्साहित भएर नयाँ मेलमिलापको प्रशंसा गरे, हाङचौको एउटा तालमा पुगे, जहाँ उनले माछालाई चारो खुवाए। निक्सन अमेरिका फर्किंदा उनको लोकप्रियता सात अंकले बढिसकेको थियो।
त्यतिबेलाका क्यालिफोर्नियाका गभर्नर रोनाल्ड रिगनले मजाक गर्दै भने– निक्सनको भ्रमण टेलिभिजन सिरिजको पूर्वअध्ययन बन्न सक्छ।
कलंकित भएर राजीनामा दिइसकेपछि पनि निक्सनमा चीनप्रति निरन्तर चासो कायम रह्यो। माओको निधनअघि उनलाई भेट्न १९७६ मा फेरि चीन पुगे निक्सन। तर, चीन लोकतान्त्रिक बन्ला भन्ने भ्रम उनलाई थिएन। त्यो लक्ष्य त भावुकतावादीहरुका लागि मात्र थियो।
र, उनलाई के पनि आभाष भएको थियो भने, सोभियत संघबाट चीनलाई टाढा लैजाने आफ्नो सफलताले अन्ततः अमेरिकालाई नै घाटा हुनसक्छ। उनले त्यतिबेलै छनक पाइसकेका थिए– एक दिन चीनले सैन्य र आर्थिक हिसाबले अमेरिकालाई भेट्टाउनेछ।
उनका जीवनी लेखक रिचर्ड रिभ्सका अनुसार निक्सनलाई विश्वास थियो– एक दिन अन्ततः अमेरिका र चीनबीच द्वन्द्व हुनेछ। र, त्यो स्थितिमा अमेरिकाको अवस्था गतिलो देखिँदैन।
‘साँच्चै युद्ध हुनसक्छ। अथवा आर्थिक युद्ध हुनसक्छ,’ २००६ मा बोस्टनस्थिति जोन एफ केनेडी लाइब्रेरीमा दर्शकमाझ रिभ्सले भनेका थिए, ‘तर, दीर्घकालीन रुपमा उनीहरुको (अमेरिका र चीनको) स्वार्थ आधारभूत रुपमै फरक थिए। र, अन्ततः उनीहरु भिड्ने नै छन्।’
रिभ्सका अनुसार युद्ध हुन नदिनु वा सकेसम्म त्यसलाई टार्नु आफ्ना उत्तराधिकारीहरुको जिम्मेवारी भएको निक्सनको विश्वास थियो। ‘त्यो टक्कर पूर्वले जित्नेछ,’ निक्सनको निष्कर्ष थियो।
निक्सन भ्रमित थिए भनेर अहिले वासिङ्टनका कट्टरपन्थीहरुले भन्न सक्छन्। उनीहरुको तर्क हुन्छ– चीनसँग अमेरिकाको सम्बन्धले चिनियाँ अर्थतन्त्रलाई अत्यधिक फाइदा गर्यो र अमेरिकालाई घाटा पुर्यायो।
यदि अन्तर्राष्ट्रिय प्रणालीमा एकीकृत हुन चीनलाई अमेरिकाले नसघाएको भए कम्युनिस्ट पार्टी २१ औँ शताब्दीसम्म बाँच्नै सक्दैनथ्यो भन्ने जिद्धी पनि उनीहरु गर्छन्। निक्सन पदच्यूत भएपछि सोभियत संघविरुद्ध अमेरिका र चीनबीच रहेको संयुक्त गुप्तचरी सम्बन्धलाई उनीहरु खारेज गर्छन्।
हामी आज चिन्तित हुनुपर्ने कुरा हो– कूटनीतिको अभाव। वासिङ्टन र बेइजिङबीच वार्ताको कुनै संकेत देखिँदैन। चीनको बढ्दो आणविक भण्डारलगायत महत्वपूर्ण मुद्दामा साझा मार्ग पत्ता लगाउने प्रयास भएको देखिँदैन।
‘चीन पुरा क्षमता भएको प्रतिस्पर्धी हो,’ जर्जटाउन युनिभर्सिटीका चार्ल्स कुपान भन्छन्, ‘आर्टिफिसियल इन्टेलिजेन्स, क्वान्टम कम्प्युटिङजस्ता सूचकहरु हेर्नुस्। उनीहरुसँग १.४ अर्ब जनसंख्या छ र बजार छलाङ लगाएर बढ्दै छ। बाइडेनले ‘हामी अडान लिनेछौँ, प्रतिस्पर्धा गर्नेछौँ’ भनेका छन्। म त्यसको अर्को पाटो पनि हेर्न चाहन्छु।’
सी र बाइडेनले एकअर्कालाई एक दशकभन्दा लामो समयदेखि चिनेका छन्। तर, यीमध्ये कसैले निक्सनको जति हिम्मत गर्न सक्लान्? निक्सन चीन जाँदा सोभियतसँग अमेरिकाको तनाव शिखरमा थियो। के ५० वर्षपछि सी अथवा बाइडेनले त्यस्तै नयाँ यथार्थ सिर्जना गर्न सक्लान्?
(फाइनान्सियल टाइम्सबाट),नेपाल खबरबाट



















































































































































































































