८ जेष्ठ २०८१, मंगलवार

 

बागलुङका ४ ठाउँमा थपिए प्रहरी चौकी

नेपाल सरकारको मन्त्रिपरिषद निर्णय अनुसार जिल्ला प्रहरी कार्यालय बागलुङले चार ठाउँमा प्रहरी चौकीहरू स्थापना गरेको छ । बागलुङका प्रहरी उपरिक्षक दयानिधि ज्ञवालीको विशेष पहल एवम् समन्वयमा सरकारले निर्णय गरेका स्थानमा प्रहरी चौकीहरू स्थापना गरिएको हो ।

प्रहरी प्रमुख ज्ञवालीले स्थानीय तहको निर्वाचनको सुरक्षालाई समेत ध्यानमा राखेर चौकीहरू स्थापना गरिएको बताए । साधन स्रोतको कम भएपनि निर्वाचनलाई शान्तिपूर्ण बनाउने दायित्व प्रहरी संगठनको भएकोले प्रहरी चौकी स्थापना भएपछि जनतालाई शान्ति सुरक्षाको अनुभूति हुने बताए । स्थानीय जनताको मागअनुसार नेपाल सरकारको मन्त्रिपरिषदको २०७६ असोज ७ गतेको निर्णयले बागलुङ जिल्लाका चार स्थानमा प्रहरी चौकी राख्ने निर्णय गरेको थियो ।

बागलुङमा आधार दर्जन प्रहरी प्रमुख फेरिदा समेत ती चौकीहरू स्थापना हुन सकेका थिएनन् । एसपी ज्ञवालीले कमाण्ड सम्हालेको एक महिनाभित्र सरकारको निर्णयअनुसार चौकीहरू स्थापना गरेका छन् । सरकारको निर्णयअनुसार बरेङ गाउँपालिका– २ सुडलामा प्रहरी चौकी स्थापना भएको छ ।

अर्को व्यवस्थान नभएसम्म सोही स्थानमा रहेको सुडला खानेपानीको भवनमा चौकी रहनेछ ।चौकीको बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले उद्घाटन गरेका थिए । त्यस्तै ताराखोला गाउँपालिका २ भातखाने डाँडामा प्रहरी चौकी स्थापना गरिएको छ ।

प्रहरीको चौकीको आफ्नै भवन नभएकोले स्थानीय खरबहादुर रोकाको घरमा स्थापना गरेको चौकीको बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती मगरले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो । जिल्लाको निसीखोला गाउँपालिका– २ जुग्जाखोलामा प्रहरी चौकी स्थापना भएको छ ।

जुग्जाखोला बजारमा रहेको स्थानीय सनराईज युवा क्लबको भवनमा स्थापना गरेको चौकीको बागलुङका प्रमुख जिल्ला अधिकारी ढकाल र निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।

स्थानीय जनताको मागअनुसार प्रहरी चौकीहरू स्थापना गरिएको बागलुङका प्रमुख जिल्ला अधिकारी ढकालले बताए । प्रहरी जनतासँग सम्पर्कमा रहेर शान्ति सुरक्षाको अनुभूति गराउने र सबैको प्रयास एवं सहयोगमा मात्रै समाजलाई सुरक्षित राख्न सकिने ढकालले बताए ।

 

प्रतिक्रिया दिनुहोस्