३ श्रावण २०८३, आईतवार

 

बागलुङका ३ पालिकाका ५ उम्मेदवार विरुद्ध दाबी विरोधको उजुरी

आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि बागलुङका १० स्थानिय तहमा उम्मेदवारी दिएका मध्य ५ जना विरुद्ध उजुरी परेको छ ।
जिल्लाका १० स्थानिय तहमा मध्य ३ स्थानिय तहका ५ जना उम्मेदवार विरुद्ध मंगलबार दाबी विरोधको उजुरी परेको हो ।

बागलुङ नगरपालिका, ढोरपाटन नगरपालिका र काठेखोला गाउँपालिकाका उम्मेदवार विरुद्ध दाबी विरोधको उजुरी परेको हो । बागलुङ नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष पदका उम्मेदवार हरि प्रसाद शर्मा विरुद्ध दाबी विरोधको उजुरी परेको छ ।

नेकपा एमाले बाट वडा अध्यक्षको उम्मेदवार भएका शर्मा विरुद्ध नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार फुलप्रसाद सापकोटाले उजुरी दर्ता गरेको सहायक निर्वाचन अधिकृत गंगाधर सापकोटाले जानकारी दिनु भयो । शर्माले आर्थिक अनियमितता गरेको भनि निर्वाचन उजुरी परेको छ ।

विभिन्न ठाउँमा आर्थिक अनियमितता भरेको भनि उजुरी परेकोले उम्मेदवारलाई बोलाएर छलफल गर्ने र कुनै प्रमाण भए सोको अध्ययन गरि निर्णण हुने बताउनु भयो ।
जिल्लाको काठेखोला गाउँपालिकाका वडा अध्यक्षका उम्मेदवार राजु थापा विरुद्ध मुख्य निर्वाचनको कार्यालयमा दाबी विरोधको उजुरी परेको छ ।

नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार भएका थापालाई नेकपा एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार डिलबहादुर कार्कीले दाबी विरोधको उजुरी दिएको निर्वाचन अधिकृत हर्क बहादुर क्षेत्रीले जानकारी दिनु भयो ।

थापालाई बेल्जियमको पिआर भएको भनी उजुरी दर्ता गरेको क्षेत्रीले जानकारी दिनु भयो थापालाई १६ गते प्रमाण सहित बोलाएको र प्रमाणका आधारमा त्यही दिनमै निर्णय हुने निर्वाचन कार्यालयले जनाएको छ । यस्तै काठेखोला ३ को महिला सदस्य विरुद्ध पनी उजुरी परेको छ ।

वडा नम्बर ३ को महिला सदस्य पदका उम्मेदवार नेकपा एसको देउरुपा खड्का स्वास्थ्य स्वयंसेविका भएको र राजिनामा नदिई उम्मेदवारी दर्ता गराएका कारण सोही वडाका नेकपा एमालेका महिला सदस्य पदका उम्मेदवार टुल्की देवि खड्काकले उजुरी दर्ता गराउनु भएको हो ।

त्यस्तै जिल्लाको ढोरपाटन नगरपालिकाको उप्रमुखको उम्मेदवार धनबहादुर कायत विरुद्ध पनि दाबी विरोधको उजुरी परेको छ । कायतले दोहोरो नागरिकता लिएको भनि उजुरी परेको हो । दाबी विरोधको उजुरी ढोरपाटन नगरपालिका–४ का वडा अध्यक्षका उम्मेदवार तिलक पुन विरुद्ध पनि परेको ढोरपाटन नगरपालिकाका सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिनु भयो ।

पुनलाई ज्यानमार्ने उद्योगको मुद्धा चलेको भनि दाबी विरोधको उजुरी परेको बताईएको छ । दुवै उम्मेदवार विरुद्ध उनका प्रतिस्पधी उम्मेदवारका प्रतिनिधिले उजुरी दर्ता गरेका छन । उजुरी परेका उम्मेदवारलाई छलफलमा बोलाउने निर्वाचन कार्यालयले जनाएको छ ।

प्राप्त उजुरीमाथि बुधवार र बिहिवार छानविन गरिने भएको छ । जाँचबुझपछि उम्मेदवारहरूको नामावली प्रकाशन हुनेछ । १६ वैशाखमा भने उम्मेदवारी फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन हुने निर्वाचन कार्यलयले जनाएको छ ।

स्थानीय हत निर्वाचन ऐन २०७३ को परिच्छेद ४ मा उम्मेदवारहरुको योग्यता र अयोग्यता निर्धारित छ । जसमा उम्मेदवारी दिएकाविरुद्ध उजुरी दिन सकिन्छ । ऐनमा उम्मेदवारीविरुद्ध उजुरी दिन सकिने आधारहरु पनि उल्लेख छ ।

गैर नेपाली नागरिक भएमा, नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेमा, कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको र निर्वाचनसम्बन्धी प्रचलित कानुन बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको पाइएमा उजुरी दिन सकिन्छ ।

यसैगरी, भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग गर्ने विरुद्ध पनि उजुरी दिन सकिन्छ ।

त्यस्तै, अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाएर वा कुनै कसूरमा जन्मकैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाइ त्यस्तो फैसला अन्तिम भएको व्यक्ति रहेछ भने पनि उजुरी दिन सकिन्छ ।

सङ्गठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाएर वा कर्तव्य ज्यान सम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको, जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको पाइएमा पनि उजुरी दिन सकिन्छ ।

यसैगरी, जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाहसम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय गरेको मितिले तीन वर्ष पूरा नभएको, प्रचलित कानुन बमोजिम कालोसूचीमा रहेकोमा सो अवधिभर, कैदमा बसेकोमा कैद बसेको अवधिभर, मानसिक सन्तुलन ठीक नभएको र प्रचलित कानुनले अयोग्य भएका उम्मेदवारहरुमाथि दाबी–विरोध गर्न पाइने छ । १७ वैशाखमा उम्मेदवार बनेकाहरूले निर्वाचन चिह्न प्राप्त गर्नेछन् । ३० वैशाखमा निर्वाचन हुने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung