१५ कार्तिक २०८३, शनिबार

 

मानव सेवा आश्रमको लागि १ लाख ११ हजारको अक्षय कोष स्थापना

बागलुङ – बागलुङको लागि अक्षय कोष स्थापना गरिएको छ ।छोरी धन श्रेष्ठ र ज्वाइ विरेन्द्र प्रकाश श्रेष्ठले बुबा रामलाल शाक्य र आमा नन्द कुमारी शाक्यको स्मृतिमा १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षय कोष स्थापना गरिएको मानव सेवा आश्रम बागलुङ शाखाको अभिभावक सुनीता श्रेष्ठले बताइन् ।

उक्त कोषको व्याजबाट प्रत्येक वर्ष आश्रममा आश्रय लिइरहेकाहरुलाई भोजनको व्यवस्था गर्ने उद्देश्य रहेको श्रीमती धन श्रेष्ठले नयाँ विश्वलाई बताइन् । बागलुङ नगरपालिका वडा नं ३ नौविसे टोल जन्म घरभै हाल ललितपुर जिल्ला कुपुन्डोल निवासी श्रीमती धन श्रेष्ठ र श्रीमान विरेन्द्र प्रकाश श्रेष्ठले भविष्यमा पनि आश्रमलाई आवश्यक सहयोग गर्ने बताए ।

कार्यक्रममा सत्य साही केन्द्र बागलुङकी अध्यक्ष श्री चयन देवी श्रेष्ठ र नयाँ विश्व डटकमका प्रधान सम्पादक निर्मल कुमार श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।आश्रममा जन्मदिन, वैवाहिक वर्षगाँठ, संघसंस्थाको स्थापना दिवस, परिवारका दिवंगत सदस्यको स्मृति तथा अन्य कार्यहरूमा आर्थिक तथा भौतिक सहयोग आउने गरेको छ ।

बागलुङ नगरपालिका–३ किनारा टोलमा रहेको आश्रममा ४९ जनाले आश्रय लिइरहेको आश्रम सञ्चालिका विपना तामाङले बताइन् । मानवसेवा आश्रम बेसहारा नागरिकलाई खान र बस्नको व्यवस्था गर्दै आएको विशुद्ध सेवामूलक संस्था हो ।बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीनको सहारा बन्दै आएको संस्थाले सडकआश्रित मानवमुक्त राष्ट्र बनाउनुलाई आफ्नो प्रतिबद्धता बनाएको छ ।

अहिले आश्रमको बागलुङ नगरपालिका वडा नं ४ निरेघाटमा ५ रोपनी क्षेत्रफलमा आधुनिक भवन बनिरहेको छ ।आश्रमले भवन निर्माणको लागि स्थानीय पालिका,संघ सस्थाहरुलाई ११ लाख ११ हजार १ सय ११ रुपैयाँमा एक कोठा निर्माण गर्ने र व्यक्तिले ५ लाख रुपैयाँमा कोठा निर्माण गर्ने पाउने भवन निर्माणको कार्यक्रम ल्याएको मानव सेवा आश्रम बागलुङ शाखाका अभिभावक शिव खड्काले नयाँ विश्वलाई बताए ।आश्रमको भवन निर्माणको लागि विभिन्न क्षेत्रबाट आर्थिक तथा भौतिक सहयोग आउने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung