८ जेष्ठ २०८१, मंगलवार

 

मानव सेवा आश्रमको निर्माणाधिन भवनलाई पूर्णता दिन्छौ : मेयर श्रेष्ठ

बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले मानव सेवा आश्रम बागलुङले बागलुङ नगरपालिका वडा नं ४ निरेघाटमा निर्माण गरिहेको आधुनिक भवनलाई पूर्णता दिने दायित्व नगरपालिकाको भएको बताउनु भएको छ ।

मानव सेवा आश्रम बागलुङ शाखाले बागलुङका नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई ज्ञापनका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो बताउनु भएको हो । मानिवय सेवामा मानव सेवा आश्रमले गरेको कार्यको उच्च प्रसंसा गर्दै बेसाहारा नागरिकको सेवा सबै भन्दा उत्कृष्ठ सेवा रहेको बताउनु भयो ।

श्रेष्ठले मानव सेवा आश्रमले जनताको सेवामा समर्पित भएर गरेको कार्यलाई नगरपालिकाले आगमी दिनमा थप सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा समाजसेवी देव बहादुर श्रेष्ठ, मानव सेवा आश्रमका केन्द्रीय कोषाध्यक्ष तथा गण्डकी प्रदेश प्रमुख होमनाथ तिमिल्सिना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नव निर्वाचित नगरप्रमुख, नगर उपप्रमुख र बागलुङ नगरपालिकाका विभिन्न वडाका नवनिर्वाचित वडा अध्यक्षहरुले गमलामा वृक्षारोपण गर्दै कार्यक्रम शुभारम्भ गरेका थिए । कार्यक्रम मानव सेवा आश्रम बागलुङ शाखाका अध्यक्ष शिव खड्काको अध्यक्षता, आश्रमका अभिभावक तथा बागलुङ नगरपालिकाका वडा नम्वर ३ का निवर्तमान वडा अध्यक्ष लक्ष्मी बाँस्कोटाको धन्यवाद मन्तव्य, शिव केसीको स्वागत र आश्रमका अभिभावक निर्मल बहादुर श्रेष्ठ र सरिता गौतमको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्