९ जेष्ठ २०८१, बुधबार

 

आमा लिला देवीको स्मृतिमा मानव सेवा आश्रममा दुई लाखको अक्षय कोष स्थापना

बागलुङ – भण्डारी परिवारद्वारा आमा लिला देवी भण्डारीको स्मृतिमा आश्रमको लागि अक्षय कोष स्थापना गरिएको छ ।छोरा राजेन्द्र भण्डारी र बुहारी सुम्निमा भण्डारीले  दुईं लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको मानव सेवा आश्रम बागलुङ शाखाको अभिभावक निर्मल बहादुर श्रेष्ठले बताउनु भयो ।

उक्त कोषको व्याजबाट प्रत्येक वर्ष आश्रममा आश्रय लिइरहेकाहरुलाई भोजनको व्यवस्था गर्ने उद्देश्य रहेको छोरा कृष्ण भण्डारीले नयाँ विश्वलाई बताए । बागलुङ नगरपालिका वडा नं ३ लालिगुराँस चोक जन्म घरभै हाल अमेरिका बसोबास गर्ने राजेन्द्र भण्डारी र सुम्मिनी भण्डारीले भविष्यमा पनि आश्रमलाई आवश्यक सहयोग गर्ने बताए ।

राजेन्द्र भण्डारीले आमा लिला देवी भण्डारीको स्मृतिमा जेष्ठ नागरिक संघ,बागलुङलाई ५० हजार रुपैयाँ र बागलुङ नगरपालिका वडा नं २ श्रीनगर टोलमा रहेको हरे कृष्ण मन्दिरलाई दुई लाख रुपैयाँ सहयोग गरेको छ ।

कार्यक्रममा राजेन्द्र भण्डारी,विद्यामन्दिर माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्य, मानव सेवा आश्रम बागलुङ शाखाको अभिभावक लक्ष्मी बाँस्कोटा र नयाँ विश्व डटकमका सम्पादक मुकेशचन्द्र राजभण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन आश्रमको अभिभावक निर्मल बहादुर श्रेष्ठले गरेका थिए ।आश्रममा जन्मदिन, वैवाहिक वर्षगाँठ, संघसंस्थाको स्थापना दिवस, परिवारका दिवंगत सदस्यको स्मृति तथा अन्य कार्यहरूमा आर्थिक तथा भौतिक सहयोग आउने गरेको छ ।

बागलुङ नगरपालिका–३ किनारा टोलमा रहेको आश्रममा ४९ जनाले आश्रय लिइरहेको आश्रम सञ्चालिका विपना तामाङले बताइन् । मानवसेवा आश्रम बेसहारा नागरिकलाई खान र बस्नको व्यवस्था गर्दै आएको विशुद्ध सेवामूलक संस्था हो ।बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीनको सहारा बन्दै आएको संस्थाले सडकआश्रित मानवमुक्त राष्ट्र बनाउनुलाई आफ्नो प्रतिबद्धता बनाएको छ ।

अहिले आश्रमको बागलुङ नगरपालिका वडा नं ४ निरेघाटमा ५ रोपनी क्षेत्रफलमा आधुनिक भवन बनिरहेको छ ।

आश्रमले भवन निर्माणको लागि स्थानीय पालिका,संघ सस्थाहरुलाई ११ लाख ११ हजार १ सय ११ रुपैयाँमा एक कोठा निर्माण गर्ने र व्यक्तिले ५ लाख रुपैयाँमा कोठा निर्माण गर्ने पाउने भवन निर्माणको कार्यक्रम ल्याएको मानव सेवा आश्रम बागलुङ शाखाका अभिभावक शिव खड्काले नयाँ विश्वलाई बताए ।आश्रमको भवन निर्माणको लागि विभिन्न क्षेत्रबाट आर्थिक तथा भौतिक सहयोग आउने क्रम जारी छ ।

 

 

प्रतिक्रिया दिनुहोस्