२१ औं शताब्दिमा यस्ता कमै नेता छन् जो गुफामा बसेका छन्, जसले खेतमा मेहनत गरेका छन् र पछि सत्ताको शिखरमा पुगेका छन् । पाँच दशक पहिले जब चीनमा साँस्कृतिक क्रान्तिको आँधी आयो त्यतिबेला १५ वर्षका किशोर सी जिनपिङले एक गाउँमा कष्टकर जीवनको सुरुवात गरेका थिए ।
चीनको भित्री इलाकामा जहाँ चारैतर्फ पहेंला खाल्डा थिए, अग्ला पहाड थिए, त्यहाँबाट सीको जीवनको लडाईं सुरु भएको थियो । जुन इलाकामा उनले खेती–किसानीको सुरुवात गरेका थिए । चिनियाँ जनयुद्धको क्रममा चीनको कम्युनिष्टको केन्द्र थियो ।
येनानका मानिसहरु आफ्नो इलाकालाई चीनको लाल क्रान्तिलाई पवित्र भूमी भन्दथे । अब चीनको कम्युनिष्ट पार्टीको काँग्रेसमा सी जिनपिंगको राष्ट्रपतिको रुपमा पाँच वर्षको तेस्त्रो कार्यकालमाथि छाप लाग्नेछ ।
उनी एउटा यस्तो देशको नेतृत्व गरिरहेका छन् जुन निकै तिब्र रुपमा संसारको सुपरपावरको रुपमा अगाडि बढिरहेको छ । रोचक कुरा के छ भने जहाँ चीनको सबै भित्री इलाकालाई तीब्र रुपमा शहरीकरण गरिँदै छ, यता राष्ट्रपति सीको गाउँलाई भने जस्ताको तस्तै राखिएको छ । कम्युनिष्ट पार्टीका भक्तका लागि यो एक तीर्थस्थलजस्तै हो ।
जमिनसँग लगावः
सन् १९६८ मा अध्यक्ष माओले लाखौं युवालाई शहर छोडेर गाउँ जान आदेश दिएका थिए । उनी युवाहरुलाई जीवनको संघर्षको सामना गरेर किसान र मजदुरबाट जीवनमा अगाडि बढ्ने शिक्षा लिउन् भन्ने चाहन्थे ।
सी जिनपिङका अनुसार माओको उक्त आदेशले उनलाई पनि अनेकौं पाठ सिकाए । ‘आज म जे छु त्यो त्यही समयको फल हो,’ उनी भन्छन् । जिनपिङले धेरैजसो भन्ने गर्दछन्, “म पहेंलो माटोको छोरा हुँ । मैले आफ्नो मुटु लियांगजिआहेमा छोडिदिएको थिएँ ।
त्यही ठाउँले मलाई बनाएको हो,” जिनपिङ भन्छन्, “जब म लियांगजिआहे पुगें तब म १५ वर्षको किशोर थिएँ । मलाई कुनै कुराको चिन्ता थिएन । मैले त्यतिबेला केही कुरा बुझेकै थिइनँ । तर २२ बसन्तमा टेक्दा नटेक्दै मेरो सबै शंका टाढा भयो । म आत्मविश्वासले ओतप्रोत थिएँ । मेरो जीवनको उद्देश्य पूर्ण रुपमा स्पष्ट भइसकेको थियो ।”
त्यतिबेला हरेक व्यक्ति अध्यक्ष माओको चर्चित सानो रातो किताब पढ्ने गर्दथे । आज अध्यक्ष सीको बिचार ठूल्ठूला राता होर्डिङमा लेखिएको देख्न सकिन्छ । उनको सम्मानमा एक संग्रहालय पनि बनाइएको छ ।
उक्त संग्रहालयमा उनले आफ्नो साथी किसान–मजदुरका लागि के–के राम्रो काम गरेका छन् भन्ने बारे उल्लेख गरिएको छ । राष्ट्रपतिको रुपमा आफ्नो पहिलो पाँच वर्षे कार्यकालमा सीले आफूलाई एक महान् व्यक्तिको भूमिकामा उतारेका छन् ।
उनी आफूलाई एक यस्तो व्यक्तिको रुपमा पेश गर्दछन् जो जनताका नेता हुन् । उनी गरिबको घरमा जान्छन् । उनी जनताको लवजमा कुरा गर्दछन् । उनी धेरैजसो विद्यार्थीहरुलाई भन्ने गर्दछन, “जीवन एक टाँक भएको सर्ट हो, जसको सुरुको टाँक सही तरिकाले लगाउनुपर्छ, नभएर सबै टाँक गलत तरिकाले बन्द हुनेछन् ।” सी थुप्रै पटक खानाका लागि लाइनमा उभिएका छन, उनी आफ्नो खानाको बिल आफैं तिर्छन् ।
अनुभवः
तर एक मिथकको रुपमा सी जिनपिङको कहानीको केन्द्र हो उनले गुफामा बिताएको सुरुवाती जीवन । जिनपिङ भन्छन्, “जसलाई सत्ताको अनुभव कम छ, उनीहरु यसलाई नयाँ अनुभव सम्झन्छन् । तर म यी पर्दा पछाडि, ठूलो गहिराइका साथ राजनीतिलाई देख्छु । म फूलको हार र तालीको गडगडाहटभन्दा पर हटेर देख्छु । म मानवीय सम्बन्धको कमजोरी देख्छु । म राजनीतिलाई गहिराइलाई बुझ्छु ।”
बाल्यकालदेखि जवानीका बीच सीले दुबै प्रकारको जीवनको अनुभव गरिसकेका थिए । उनका पिता पनि कम्युनिष्ट क्रान्तिका हिरो थिए । यस्तोमा सीले एक राजकुमारको जीवनको पनि अनुभव गरेका थिए । त्यसपछि कम्युनिष्ट क्रान्तिको क्रममा जब उनी किसानका बिच रहे, तब त्यो अनुभवले पनि उनको जीवनमा गहिरो असर पारेको थियो ।
पढाईको शौखः
सी भन्छन्, “मलाई आफ्नो गल्ती देखाइँदा मज्जा आउन थालेको थियो ।” यद्यपी, उनी यो पनि भन्छन् कि उनी जो सुकैको कुरलाई गम्भीरतापूर्वक लिँदैन थिए । साठीको दशकमा चीनको गाउँको जीवन निकै कठिन थियो ।
बिजुली थिएन । गाउँसम्म जाने बाटो पक्की थिएनन् । खेती गर्न मेसिनको प्रयोग पनि हुँदैनथ्यो । त्यतिबेला सीले मल बनाउने, बाँध बनाउने र सडकको मर्मत गर्ने काम सिकेका थिए । उनी जुन गुफामा बस्थे त्यहाँ किरा माकुराले डेरा जमाएका थिए ।
त्यहाँ उनी इट्टाले बनाएको ओछ्यानमा अन्य तीनजनासँग सुत्ने गर्दथे । त्यतिबेला उनले खानामा दाल, बन र केही तरकारी पाउँथे । उनका एक किसान साथी लू होउसेंगले भोक लाग्दा कसैले पनि खानामा के पाउँदैछु भनेर नसोच्ने बताए ।
राती सी जिनपिङ आफ्नो गुफाको टुकीको उज्यालोमा पढ्ने गर्दथे । उनलाई पढ्ने खुबै सौख थियो र चुरोट पनि अत्यधिक पिउने गर्दथे । उनी धेरैजसो माओको भाषण र पत्रिका पढ्दथे किनभने पढ्नका लागि योबाहेक केही पनि पाइँदैनथ्यो ।
महत्वाकांक्षाः
सीका साथी लूका अनुसार सी निकै शान्त रहन्थे । हाँसो–ठट्यौली उनलाई मन पर्दैनथ्यो । उनी न त साथीहरुसँग खेल्ने कुद्ने गर्दथे न नै उनको रुची प्रेमिका बनाउनुमा थियो । १८ को उमेरमा उनी आफ्नो राजनीतिक यात्रा सुरु गर्नका लागि तयार थिए ।
उनी कम्युनिष्ट यूथ लिगमा समावेश भए । २१ वर्षको उमेरमा उनी कम्युनिष्ट पार्टीका सदस्य बने । सुरुवातदेखि नै उनी वास्तविकतासँग परिचित थिए । उनको ध्यान सधैं आफ्नो लक्ष्यमा केन्द्रित हुन्थ्यो । उनका साथीहरु खेल्ने कुद्ने गरिरहेका बेला उनी भने काम गरिरहन्थे ।
उनी निकै महत्वाकांक्षी थिए । कम्युनिष्ट क्रान्तिपछि उनी कट्टर कम्युनिष्ट बनेका थिए । जब सी २५ वर्षका थिए तब उनको पिताको पार्टीमा दोस्रोपटक प्रवेश भयो । उनलाई गुआंगडंन्ग प्रान्तमा काम गर्नका लागि पठाइयो । चीनको यो ठूलो प्रान्त हंगकंगको निकै नजिक थियो । यो चीनको आर्थिक सफलताको पावरहाउस बन्यो ।
बुवाको मद्दतले सीले आफ्नो करियर तीब्र रुपमा अगाडि बढाए । बिस्तारै पार्टीमा पनि उनका आफ्ना साथीको पनि ठूलो जमात भयो । सत्तरीको दशमा उनी चीनको सेनामा समावेश भएका थिए । उनले कम्युनिष्ट पार्टीको शीर्ष नेता बन्ने पक्का सोँच बनाइसकेका थिए । जीवनको हरेक कदम उनी यसै उद्देश्यले उठाइरहेका थिए । सेनामा उनी पहिलो दिनदेखि नै सफलताको लक्ष्य लिएर अघि बढिरहेका थिए ।
व्यक्तित्वः
सी आफूमा नै व्यस्त रहने एक व्यक्ति थिए । उनी निकै अन्तर्मुखी थिए । सायद यसै कारण थियो कि एक कुटनीतिज्ञकी छोरीसँगको उनको पहिलो विवाह सफल हुन सकेन । हो यसले उनलाई राजनीतिक रुपमा सफल बनाउन भने मद्दत गर्यो ।
जब उनी सत्ताको शिखरमा पुगे तब सबैलाई थाहा भयो । तर, यसका लागि जिनपिङले सफलताका सिँढी निकै गोप्य रुपमा चढे । सीले त्यतिबेला चर्चा पक्कै बटुलेका थिए जब उनले आफ्नी अहिलेकी श्रीमती पेंग लियुआनसँग विवाह गरे । पेंग एक चर्चित गायीका थिइन् । वर्षौंसम्म सीको पहिचानको उनको श्रीमानको रुपमा रहेको थियो ।
सीको सुरुवाती अवस्थाको कभर गर्ने एक सरकारी पत्रकारका अनुसार उनी निकै बोरिङ व्यक्तित्व भएको व्यक्ति थिए । मानिसहरुले उनलाई निकै सजिलै बिर्सन्थे । उनी आफ्नो इज्जतमा दाग लाग्नबाट बच्नका लागि सधैं चुप र सतर्क रहन्थे । ४०–५० को उमेरमा एक वरिष्ठ नेता बनेपछि पनि उनी काम मात्र गरिरहन्थे ।
अन्दाजः
अमेरिकामा सी जिनपिङ सन् १९८५ मा केही दिन एलेनोर ड्वोरचाकको घरमा केही दिन बसेका थिए । उनी उनका छोरासँगै उनको कोठामा सुत्दथे जहाँ ढोकामा ‘स्टारट्रेक’ फिल्मको पोष्टर टाँसिएको थियो । एलेनोरको घर अमेरिकाको आयोवा प्रान्तको मस्केटिन सहरमा छ ।
जब सन् २०१२ मा जिनपिङ आयोवाको भ्रमणमा आएका थिए तब एलेनोरले बताएका थिए कि कसैलाई यो शंका पनि थिएन कि उनको घर आएका व्यक्ति एक दिन कुनै देशको राष्ट्रपति बन्नेछन् । सन् २०१२ मा सी चीनको कम्युनिष्ट पार्टीका नेता बने । उनी कम्युनिष्ट पार्टीका सम्पूर्ण खेमाको सहमतीबाट चुनिएका नेता थिए । तर, कसैलाई पनि यो थाहा थिएन कि अर्को पाँच वर्षमा उनी कस्तो नेताको रुपमा पेश हुनेछन् ।
पाठ पढाए
सन् २०१५ को जुन ११ तारिखमा सेतो कपाल भएको एक व्यक्ति एक अदालतको कठघरामा उभिएका थिए । उनी ती सुरक्षाकर्मीले घेरिएका थिए जो कुनै बेला उनको आदेशका पालना गर्दथे । वर्षौंसम्म यी व्यक्ति चीनमा डरको दोस्रो नाम थिए ।
चीनको पुलिसमाथि उनको नियन्त्रण थियो । उनी अर्धसैनिक बलको, जेलको र गुप्तचर अपरेशनको अगुवा थिए तर साढे एक वर्षमा नै भाग्यले कोल्टो फेर्यो र उनी कानूनको त्यही अदालतमा अपराधीको रुपमा खडा थिए, जुन सिस्टमलाई कुनै बेला उनी आफैंले नियन्त्रण गर्दथे ।
ती व्यक्तिको नाम थियो चाउ योंगकाङ । चीनमा कम्युनिष्ट शासनको इतिहासमा कानूनको सामना गर्नेमध्ये उनी सबैभन्दा वरिष्ठ नेता थिए । चाऊसहित बो सीलाई नामका एक नेतालाई पनि त्यसैगरी जिनपिङले कानूनको पाठ पढाए । आरोप थियो – बो, चाऊ र अन्य दुई फौजी नेता मिलेर पार्टीको एकतालाई हानी पुर्याउने षड्यन्त्र रच्नु ।
सरकारको निर्णय
सरकारको खर्च रोक्नका लागि सीले ठूल्ठूला भोजको आयोजनामा रोक लगाए । उनी कारको लस्कर लगाएर हिँड्नुको साटो थुप्रै पटक भ्यानमा यात्रा गर्दथे । जब उनी सत्तामा आए तब उनले जनतासँग निकै पारदर्शी सरकारको बचन दिएका थिए ।
सीले भ्रष्टाचारविरुद्ध कडा कारवाहीको भरोसा दिएका थिए । उनी हरेक साना–ठूला नेतालाई पाठ पढाउन चाहन्थे । उनले यी वचनलाई निकै कडा रुपमा निभाए । जो पैसा कमाउन चाहन्छन् उनीहरुलाई कम्युनिष्ट पार्टीमा नआउने आदेश उनले दिएका थिए । कम्युनिष्ट पार्टी वर्षौंदेखि घुसखोरी, भ्रष्टाचार र नातावादबाट चल्दै आएको छ ।
यो सिस्टमलाई उन्मुलन गर्नका लागि केही ठूला माछामाथि कारवाही गरेर मात्र पर्याप्त थिएन । राष्ट्रपति सीले विभिन्न आदेश जारी गरे । पार्टीको हरेक नेताको अफिसको आकारदेखि नेताको खानपिनमा प्रयोग हुने भाँडाकुँडाको संख्यामा पनि नियम बनाएका थिए । उनी धेरैजसो गाउँलेलाई भेट्न जान्थे । उनी आफूलाई कम्युनिष्ट पार्टीका धनी र भ्रष्ट नेताभन्दा भिन्न राखेर पेश गर्दथे ।
भ्रष्टाचारमाथि हमलाः
सी राष्ट्रपति बन्नुभन्दा अघि नै उनका थुप्रै आफन्त करोडपती भइसकेका थिए । यद्यपी, यसमा सीका कुनै योगदान छ छैन, त्यसको प्रमाण केही छैन । सीलाई थाहा छ कि चीनको समाज कति भ्रष्ट भइसकेको छ । धनीहरुको लोभनले पूरा सिस्टमलाई गाँजिसकेको छ ।
जस्तै चाऊ योंगकांगलाई नै हेर्नुहोस् । उनको परिवार किसान थिए । आम्दानी बढाउनका लागि उनी माछा समात्ने गर्दथे । उनको परिवारको जेठो छोरा इन्जिनियर बनेपछि निकै इज्जत कमाए ।
त्यसपछि सफलता र भ्रष्टाचारको यस्तो ककटेल बन्यो कि चाऊ निकै शक्तिशाली व्यक्ति बने । यो नेटवर्कलाई सीले निकै कष्टपूर्ण तरिकाले तोडेका छन् । चाऊको अदालतमा पेशीपूर्व उनका एक कारोबारी पार्टनरलाई मृत्युको सजायँ दिइयो ।
यद्यपी, चाऊका गाउँलेले उनलाई गलत सजायँ दिएको मान्छन् । उनले पार्टी र देशका लागि निकै काम गरेका थिए । तर सीले उनीमाथि झुटो आरोप लगाए । चाउ कम्युनिष्ट पार्टीमा सीको विरोधी खेमासँग सम्बन्धित छन् पनि भन्ने गरिन्छ ।
अभियानः
पछिल्लो पाँच वर्षमा ठूला नेता र कारोबारीको जमात अचानक गायब भए । यीमध्ये धेरै चीनमा नजरबन्द छन् भनिन्छ । सन्देश स्पष्ट छ कि सीसँग निहुँ खोजे मर्नेछौं । भ्रष्टाचारको आरोपमा सीले धेरै नेतालाई पार्टीबाट निष्कासित गरेका छन् ।
सीका विरोधी र बागी नेता गुओ वेन्गुईका अनुसार सीका निकै नजिकका वांग किसान आफू पनि भ्रष्टाचारी हुन् । गुओ वेन्गुई, न्यूयोर्कमा बस्छन् । उनी यू–ट्युबमा धेरैजसो सीका नजिकका नेतामाथि हमला गर्दछन् ।
तर उनले अहिलेसम्म सीमाथि कुनै सिधा आरोप लगाएका छैनन् । सर–सफाइको अभियानका बाबजूद कम्युनिष्ट पार्टीमा भ्रष्टाचार कम भएको छैन । जतिपनि कारवाही भएका छन्, त्यो पनि स्पष्ट देखिँदैन । तर सिस्टमलाई सफा गर्ने सीको उद्देश्यमा अलिकति पनि कमी आएको छैन ।
इन्टरनेटमाथि नियन्त्रणः
बराक ओबामा र सीको एक तस्बिरले चीनमा निकै बबाल मच्चाएको थियो । सी जिनपिङ र ओबामाको तुलना कार्टून क्यारेक्टर विनी द पूमार्फत गरिएको थियो । त्यतिबेलादेखि इन्टरनेटमा चीन निकै कडा रुपमा सेन्सर गरिएको छ ।
चीनले इन्टरनेटमा सधैं कडा निगरानी राखेको छ । यसको विरोध पनि हुने गरेको छ र हाँसोमा पनि उडाइन्छ । चीनमा ७५ करोड जनता इन्टरनेटको प्रयोग गर्दछन् । यो संख्या यूरोप र अमेरिकालाई मिलाएर इन्टरनेट प्रयोग गर्नेभन्दा धेरै हो ।
सी चीनलाई साइबार सुपरपावर बनाउन चाहन्छन् । उनी एकफर्त पार्टीमा नियन्त्रणको लडाइँ लडिरहेका छन् भने दोस्रोतर्फ इन्टरनेटमा पनि नियन्त्रण पाउन सकिन्छ । कानून र प्रविधीको मद्दतले उनले इन्टरनेटमा निकै हदसम्म प्रतिबन्ध लागू गरेका छन् ।
निगरानीः
तर सी जिनपिङ चाहन्छन् कि चीन एक धनी मुलुक होस् । देश एकजुट र बलियो होस् । देशमा एउटा पार्टीको मात्र राज होस् । मानिसहरु अनुशासनमा बसुन् । उनी मानिसहरुलाई पूर्ण रुपमा बफादार बनाउन चाहन्छन् ।
यूनिभर्सिटीमा पार्टीको पहुँच बढाइँदैछ । किताबबाट पश्चिमी सभ्यताको निशाना मेटाइँदै छ । नीजि कम्पनीमा पनि कम्युनिष्ट पार्टीको सदस्यताको शाखा खोलिँदै छ । साइबर दुनियाँमाथि चीनको सरकार निकै कडा छ । विदेश जाने नागरिकमाथि पनि साइबर सुरक्षा एजेन्सीको ध्यान केन्द्रित हुन्छ ।
सी जिनपिङ त्यतिबेला चीनका राष्ट्रपति बनेका थिए, जब अरब देशमा इंकलाब आएको थियो । उनी कुनै पनि हालतमा चीनमा यस्तो होस् भन्ने चाहँदैनथे ।इन्टरनेटमा कडा निगरानीका लागि राष्ट्रसित सीको सरकारले ठूलै लगानी गरिरहेको छ । नयाँ प्रविधीमार्फत आन्तरिक सुरक्षाको ढोका बलियो बनाइँदैछ ।
ताकतः
सीको शक्ति चिनियाँ नागरिकलाई मात्र छैन । सन् २०१४ मा अष्ट्रेलियाका प्रधानमन्त्री टोनी एबटले जर्मन चान्सलर एन्जेला मर्केललाई आफ्नो चीन नीतिबारे बताएका थिए । एबटले त्यतिबेला भनेका थिए, “अष्ट्रेलियनको चीनसँगको सम्बन्ध डर र लोभको हो ।”
संसारभरी यो बताउने कोसिस गरिँदै छ कि चीन कति शक्तिशाली छ । सी जिनपिङ चिनियाँ मूलका नागरिकलाई आफ्नो देशको महान् इतिहास र शक्तिबारे मानिसलाई बताउँन अपिल गर्दछन् । चीनको पैसाको ताकत संसारभरी फैलिएको छ ।
सन् २०१५ मा जब उनी अमेरिकाको यात्रामा गए तब एप्पल, माइक्रोसफ्ट, सिस्को, अमेजनजस्ता कम्पनीका मालिक लाइन लागेर सीसँग भेट्ने प्रतिक्षा गरिरहेका देखिए । चीनमा प्रतिबन्धित फेसबुकमा प्रमुख मार्क जुकरबर्गले पनि सीलाई भेटेका थिए ।
गुगलमाथि पनि चीनमा प्रतिबन्ध छ । त्यसका अधिकारीलाई सीसँग भेट्न अनुमती नै दिइएन । सी जिनपिङ इन्टरनेटर र साइबर स्पेसमा कडा नियन्त्रण राख्न चाहन्छन् । यसकारण उनका लागि यस्ता ठूला साइबर कम्पनीमाथि नियन्त्रण पाउन आवश्यक छ ।
कस्तो राजनीति ?
सी माओको परम्परालाई अगाडि बढाउन चाहन्छन् । उनी आफूलाई माओका उत्तराधिकारी मान्छन् । उनले देशवासीलाई चीनलाई धनी र शक्तिशाली बनाउने बचन दिएका छन् । उनलाई थाहा छ कि मानिसहरुको राजनीतिमा रुची कति खतरनाक हुनसक्छ ।
त्यसकारण उनी नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता धेरै प्रदान गरिनुपर्ने हकमा छैनन् । सीले सोभियत संघको विघटनबाट पनि जीवनको पाठ सिकेका छन् । उनी मान्छन् कि सोभियत संघको पतन यसकारण भया किनभने उनले आफ्नो उद्देश्य नै बिर्सिएका थिए ।
उनी आफ्नो लक्ष्यबाट भड्किएका थिए । उनले एक भाषणमा सोभियत कम्युनिष्ट पार्टीमा चीनको कम्युनिष्ट पार्टीभन्दा धेरै सदस्य भएको बताएका थिए । तरपनि कसैले विघटन रोक्ने कोसिस गरेनन् । उनी खुल्लापनका कडा विरोधी हुन् ।
सीले धेरैजसो ११ औं शताब्दलीका चिनियाँ विचार सू शीको उदाहरण दिने गर्दछन् । जसले आन्तरिक खतरा भयानक बताउने गर्दथे । उनले स्थितीमाथि कडा निगरानीको आवश्यकता भएको बताउने गर्दथे नभए भित्रि खतराले तहसनहस बनाउने गर्दछ ।
राष्ट्रपति सी जिनपिङ आफ्ना नागरिकलाई चीनको जीवन मूल्यलाई अपनाउन सल्लाह दिन्छन् । पश्चिमी सोँचबाट प्रभावित नहुन अपिल गर्छन् किनभने उनका अनुसार अरुको नक्कल गर्दा आफ्नो पहिचान गुमाइन्छ ।
सी जिनपिङको कार्यकालमा मुसलमान, इसाइ, मजदूर कार्यकर्ता, ब्लगर, पत्रकार, महिलावादी र वकिल सबैलाई जेल पठाइएको छ । उनी आन्दोलन गर्नेलाई रुचाउँदैनन् । उनी खुल्ला रुपमा सरकार र पार्टीविरुद्ध बोल्नेहरुलाई फुटेको आँखाले पनि हेर्न सक्दैनन् ।
खतराः
वर्षौंदेखि चीनका बादशाहले देशको ताकतलाई दुई तरिकाले पेश गर्ने कोसिस गरेका छन् । एकतर्फ चीनको रणनीतिसम्बन्धि ताकत दोस्रोतर्फ त्यसको सफ्ट पावर । उनीहरु दुबै बीच सन्तुलन बनाउने कोसिस गर्दै आएका थिए ।
चीनको कम्युनिष्ट इतिहासको उत्सव मनाउने बेला सी जिनपिङ पनि यही गर्दछन् । एकातिर उनी चेयरम्यान माओको कम्युनिष्ट क्रान्तिको अगाडि शिर निहुराउँछन् भने अर्कोतर्फ देंग शियाओ पिंगको आर्थिक क्रान्तिको अगाडि पनि शिर झुकाउँछन् । अर्थात, उनी मार्क्सवादको सम्मान गर्दछन् । साथै आर्थिक खुल्लापनको पनि उत्सव मनाउँछन् । उनको चिनियाँ सपनाको अर्थ हो – एक बलियो चीन ।
चुनौतीः
चीनबारे सिंगापुरका महान नेता ली कुआन यूले भनेका थिए, “उनी दुनियाँका इतिहासका सबैभन्दा ठूला खेलाडी हुन् ।” सन् २०१२ मा सत्तामा आएपछि सीले चीनलाई सबैभन्दा ठूलो खेलाडी बनाउने सोँचेका थिए । चीनको कम्युनिष्ट पार्टीको सयौं वर्षगाँठ अर्थात् सन् २०२१ सम्म चीन आर्थिक सफलताको मामलामा औसत देश हुनेछ ।
यस्तै चीनमा कम्युनिष्ट सत्तामा आएको सय वर्ष पूरा हुँदा अर्थात् सन् २०४९ सम्म चीन पूर्ण रुपमा विकसित, धनी र शक्तिशाली देश बन्नेछ । चाँडै नै चीनको अर्थव्यवस्था अमेरिकाभन्दा ४० प्रतिशत ठूलो हुनेछ । सन् २०४९ सम्म बिक्री गर्ने ताकतमा चीनको अर्थव्यवस्था अमेरिकाभन्दा तीन गुणा ठूलो हुनेछ ।
















































































































































































