आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा संचार माध्यमको भूमिका विषयक जिल्लास्तरीय मिडिया अभिमुखिकरण कार्यक्रम बागलुङमा सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय बागलुङले जिल्लाका पत्रकारसँग निर्वाचनमा मिडियाको भूमिकाबारे अभिमुखिकरण गरेको हो ।
कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले निर्वाचनमा मिडिया र पत्रकारको भूमिकाबारे जानकारी गराउनुभयो । उहाँले संचार माध्यमहरुले समाचार प्रकाशन वा प्रसारण गर्दा निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने बताउनुभयो ।
निर्वाचनको क्रममा रिपोर्टिङ गर्ने सञ्चार माध्यम तथा पत्रकारले पेशागत आचारसंहितासँगै निर्वाचन आचारसंहिताको पनि पालना गर्न आवश्यक रहेको भन्दै निर्वाचनमा सञ्चार माध्यमको ठूलो भूमिका रहेकाले निर्वाचनको क्रममा देखिएका बेथितिहरुलाई उजागर गर्ने कुरामा जोड दिनुभयो । कार्यलय चुनावको तयारीमा जुटेको भन्दै मतदान केन्द्रअनुसार मतपत्र छुट्याउने, प्याकिङ गर्ने काम भइरहेको रिजालले जानकारी दिनु भयो । शुक्रबारबाट मतदाता शिक्षाका लागि वडास्तरमा स्वयंसेविका खटाइएको उहाँको भनाइ छ ।
पालिका तहमा नमूना मतदान अभ्यास गराइने भएको छ । सञ्चारकर्मीलगायत सरोकार भएका पक्षलाई चुनावबारे अभिमुखीकरण गरिने निर्वाचन अधिकारी रिजालले बताउनुभयो । यहाँका दुई सय ३१ मतदान केन्द्रमा एक हजार आठ सय ५७ जना कर्मचारी र नौ सय ३० जना स्वयंसेवक खटिनेछन् । एउटा मतदान केन्द्रमा आठ जना कर्मचारी परिचालन गरिनेछ । अस्थायी मतदान केन्द्रमा भने तीन जना कर्मचारी खटिनेछन् ।
जिल्ला कारागारका बन्दीसहित सुरक्षाकर्मी र कर्मचारीका लागि गरी दुईवटा अस्थायी मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालयले जनाएको छ । यहाँ एक सय छ मतदानस्थल रहेका छन् । जिल्ला सुरक्षा समितिले तीमध्ये ३५ प्रतिशतलाई अतिसंवेदनशील, १५ प्रतिशतलाई संवेदनशील र ५० प्रतिशतलाई सामान्यमा वर्गीकरण गरेको छ ।
मतदानस्थलको अवस्था र संवेदनशीलता हेरेर चुनावी सुरक्षा योजना बनाइएको सुरक्षा समितिले जनाएको छ । सङ्घतर्फ दुई निर्वाचन क्षेत्र रहको यस जिल्लामा कुल एक लाख ९२ हजार दुई सय २६ मतदाता छन् । १ नं क्षेत्रमा ९६ हजार छ सय ६५ र २ नं मा ९५ हजार पाँच सय ६१ मतदाता छन् ।













































































































































































































