३० बैशाख २०८१, आईतवार

 

महालक्ष्मी इन्स्योरेन्स कम्पनीले “महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ” कार्यक्रमको शुभारम्भ

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले ‘महिला सशक्तिकरणमा–महालक्ष्मी लाईफ’ कार्यक्रमको शुभारम्भ गरेको छ । चितवनको सौराहामा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन् । सो अवसरमा बोल्दै शर्माले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महिला सशक्तिकरणको लागि कार्यक्रम संचालन गर्न लागेको बताए । समाजमा पिछडिएका तथा आर्थिक रुपमा कमजोर रहेका महिलाको उत्थान नभई समाज र देशको उन्नति पनि नहुने भएकोले उनीहरुलाई अगाडि बढाउने यस्ता कार्यक्रम फलदायी हुने अध्यक्ष शर्माले विश्वास व्यक्त गरे ।

सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले ‘महिला सशक्तिकरणमा–महालक्ष्मी लाईफ’ कार्यक्रमको विस्तृत अवधारणा र महिला सशक्तिकरणमा कार्यक्रमले पार्ने प्रभावको बारेमा जानकारी गराएका थिए । देशमा महिलाको जनसंख्या पुरुषको दाँजोमा बढ्दै गइरहेकोले उनीहरुलाई सक्षम र आर्थिक रुपमा सवल नवनाई देश अघि बढ्न सक्दैन। महिलाहरुलाई तालिम दिई रोजगारी मार्फत आय आर्जनको बाटोमा अग्रसर गराउन यो कार्यक्रम उपयोगी र फलदायी हुने प्रमुख कार्यकारी अधिकृत भट्टराईको भनाई थियो ।

आर्थिक वर्ष २०७÷र०८० भित्र परीक्षणको रुपमा संचालन हुने सो कार्यक्रम प्रारम्भमा ३० जिल्लामा संचालन गरिनेछ । यो कार्यक्रम मार्फत ६० जना महिलालाई प्रत्यक्ष रोजगारी र ३ हजारभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य लिइएको छ ।

नयाँ कार्यक्रममा सरकारी, गैर सरकारी निकायसंग समन्वय गरी महिलाहरुलाई तालिम दिने, रोजगारीको लागि बीमालगायत विभिन्न कार्यमा संलग्न गराउने र नियमित अभिप्रेरित गर्ने कार्यक्रम रहेको प्रदेश १ का उपक्षेत्रीय प्रबन्धक गुञ्जन थापाले जनाएका छन् । ‘युवासँग–महालक्ष्मी लाईफ’को सफलता पछि नयाँ प्रोडक्ट लञ्च गरिएको उपक्षेत्रीय प्रबन्धक थापाले बताए ।

बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले संचालन गरेको कार्यक्रममा बरिष्ठ सहायक महाप्रबन्धक सपना खरेलले शाब्दिक स्वागत गरेकी थिइन् । सो कार्यक्रममा धौलागिरी क्षेत्रीय प्रमुख जमुना आचार्यले नयाँ प्रोडक्ट ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ले कम्पनीलाई फरक पहिचान दिलाउने विश्वास व्यक्त गरिन् । कार्यक्रम शुभारम्भ गर्न आयोजित विशेष समारोहमा सहभागीहरुलाई कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले धन्यवाद ज्ञापन गरेका थिए ।

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले २०७८÷७९ मा विद्यार्थी र युवाहरुमा जीवन बीमा सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने गरी ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम संचालन गरेको थियो । एक वर्ष भित्र कम्पनीका वरिष्ठ अधिकृतहरुले ३५ जिल्लाको ९१ वटा प्लसस्टु र कलेजमा ८ हजार जनाभन्दा बढी युवालाई तालिम प्रदान गरेको तथ्याङ्क सुनाइएको छ । सो कार्यक्रम बीमा सम्बन्धी जनचेतना जगाउन अत्यन्त प्रभावकारी भएको नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्