२३ बैशाख २०८१, आईतवार

 

बागलुङ नगरपालिकामा अन्तिम पटक फागुन ११ गतेबाट हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइने

‘हात्तिपाइले रोगको औषधी खाऔं यो वर्षलाई अब अन्तिम बनाऔं’ भन्ने नाराका साथ बागलुङमा १४ औं पटक हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइने भएको छ । बागलुङ नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको नगरपालिका स्तरीय योजना तथा बहुनिकाय गोष्ठी आयोजना गरि हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउनका लागि १४ वटै वडाका जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीलेनै औषधि खुवाउने योजना बनाएको हो ।

१३ औं पटक पूरा गर्दासम्म पनि जिल्लामा यस रोगबाट संक्रमित भएका मानिस फेला परेपछि १४ औं पटक अर्थात अन्तिम पटक फागुन ११ गतेबाट औषधी खुवाउने तयारी गरिएको जनाइएको छ । जिल्लामा हात्तीपाइले रोगबाट बच्नका लागि ‘डाइथाइल कार्बामाजिन’ (डीईसी) र जुकाको औषधि ‘अल्वेन्डाजोल’ नामक दुई औषधि खुवाउने कार्यक्रम रहेको छ ।

रगत र पेटमा भएको परिजीवि जुकालाई मार्नका लागि ती औषधि खुवाइने गरिन्छ । चिकित्सकका अनुसार डीईसीले रगतमा रहेको परजीवि जुकालाई र ‘अल्वेन्डाजोल’ले पेटमा रहेको जुकालाई मार्ने गर्दछन् । गत वर्ष बागलुङ नगरपालिका वडा नम्वर १४ नारायणस्थानमा गरिएको नमुना रगत परीक्षणमा हात्तिपाइले रोगको संक्रमण बढि भेटिएको हो ।

३ सय जनामा गरिएको नमुना सर्वेमा १ जनामा हात्तिपाइले रोगको परजीवि देखिएपछि नगर स्वास्थ्य शाखाले यस रोगलाई निर्मुल गर्न १४ औं पटक अभियान संचालन गर्न लागेको हो ।
नगरपालिकाको हात्तिपाइले रोग निवारण गर्ने लक्ष्य पुरा हुन नसकेपछि औषधी खुवाउने अभियानलाई निरन्तरता दिनुपरेको बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले बताउनु भयो ।

सामान्यतया छैठौं पटकसम्म नियमित औषधी खुवाएपछि हात्तीपाइले रोगको संक्रमण दर घट्नु पर्नेमा नघटेका कारण अभियानलाई निरन्तरता दिनुपरेको खनालले बताउनु भयो । लामखुट्टेको टोकाईबाट सर्ने माइक्रो फाइलेरिया १ प्रतिशत भन्दा कममा झार्ने लक्ष्य थियो तर नमुना सर्वेमा यो दर ०.०५ प्रतिशत रहेपछि अभियान असफल भएको हो ।

छैठौं पटकमा निवारण हुनुपर्ने हात्तीपाइले १४ औं पटकसम्म पनि औषधी खुवाईरहनु पर्ने अवस्था आउनु हामी सबैको लागि कमजोरीको विषय भएको बागलुङ नगरपाकिाका नगर उपप्रमुख राजु खड्काले बताउनुभयो । खड्काले नगरका सवै वडाहरुमा अभियानलाई प्रभावकारी बनाउन र सबै नागरिकलाई औषधी सेवन गरी स्वस्थ नागरिक बन्न आग्रह गर्नुभएको छ ।

बागलुङमा सन् २००३ देखि नियमित औषधी खुवाउने अभियान संचालन गर्दा पनि प्रभावकारी नहुँदा र व्यक्तिले औषधी नखाईदिएर यसको संक्रमण दर नघटेको हो । हात्तीपाइले रोगको निवारण भएको घोषणा गर्न रोगीको संख्या एक प्रतिशत भन्दा कम हुनु पर्छ । यो प्रतिशत पुरा नभएकाले अन्तिम पटक यसको औषधी खुवाउन लागेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतम, नारायणस्थान स्वास्थ्य चौकी प्रमुख ऋषिराम, उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमम नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत डिल्ली प्रसाद आचार्यले स्वागत गर्नु भएको कार्यक्रमको संचालन सिनियर अहेव अधिकृत विष्णु प्रसाद शर्माले गर्नु भएको थियो ।

हात्तीपाइले रोग सङ्क्रमति पोथी लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ । यसरोग लागेपछि मानिसलाई शारीरिक रुपमा अशक्त, असमर्थ र अपाङ्ग बनाउने गर्दछ । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीविले मानिसको शरीरमा प्रवेश गरेपछि हुने गर्दछ । परजीवि प्रवेश गरेको केही वर्षपछि मात्र यो रोगको लक्षण देखिने गर्दछ ।

हात्तीपाइले रोग शुरूको अवस्थामा शरीरको मांसपेसी नरम वा थिच्दा थिचिने खालको सुन्निने गर्दछ भने पछिल्लो अवस्थामा छाला बाक्लो हुँदै नथिचिने खालको हुँदै जाने, ठुलो खालको सुन्निने, छालामा पत्र हुँदै जाने वा गाँठागुँठी पलाउन थाल्ने र सुन्निएको अङ्गमा मुसा पलाउने र घाउ हुँदै जाने गर्दछन् ।

संक्रमण हुन सक्ने जोखिम सबैमा भएकाले सम्पूर्ण जिल्लाबासीले यस पटकको पनि औषधी खान आवश्यक छ । बागलुङका केही नगरिकमा रोगको संक्रमण देखिएको छ । यसलाई शुन्यमा ल्याउनका लागि हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने अभियान जिल्लाका दशै वटा स्थानीय तहले औषधी खुवाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्