बागलुङ । सेवा नै धर्म हो भन्ने मुल नाराका साथ २०७३ सालमा स्थापना भएको मालिका सेवा समाजको आयोजनामा अन्तर विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ ।
आधारभूत र माध्यमिक गरी दुई तहका विद्यालयहरुको सहभागी रहेको कार्यक्रममा ५८ जना विद्यार्थीको सहभागी रहेको थियो । समाज सुधारमा विद्यार्थीको भूमिका विषयक आधारभूत तहमा ३२ जना सहभागी रहेको प्रतियोगितामा युएस एकेडेमीका छात्रा रोजि थापा प्रथम, गणेश माध्यमिक विद्यालयका छात्र कुशल पौडेल द्वितिय र अमर आदर्श वोर्डिङ स्कुलका छात्रा प्राञ्जल पौडेलले तृतीय स्थान प्राप्त गरेका थिए ।
विजयी सहभागीहरुलाई नगद सहित प्रमाणपत्रले सम्मान गरिएको कार्यक्रमका संयोजक समेत रहेका समाजका कोषाध्यक्ष प्रकाश केसीले बताउनुभयो । त्यस्तै प्रविधियुक्त शिक्षा आजको आवश्यकता विषयक माध्यमिक तहमा २६ जना सहभागी रहेको प्रतियोगितामा तितौरे माध्यमिक विद्यालयका छात्रा समीक्षा पौडेल प्रथम, फ्यूचर ब्राईटर बोर्डिङ स्कुलका छात्रा निसु रायमाझी द्वितिय र धौलागिरी बोर्डिङ स्कुलका छात्रा दिक्षा थापा तृतीय स्थान हाँसिल गरेको मालिका सेवा समाजका अध्यक्ष जिवननाथ शर्माले बताउनुभयो ।
स्थापना कालदेखि नै शैक्षिक गतिविधि सहित समाज सेवामा सक्रिय मालिका सेवा समाजले विद्यालय तहको कार्यक्रममा सर्वाधिक ५८ जनाको सङ्ख्या सहभागी प्रतियोगि सहितको कार्यक्रमले समाजमा निकै सकारात्मक सन्देशको प्रवाह गरेको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो । समाजको सुधारमा सरकारको मात्रै प्रयासले सम्भव हुँदैन, यो त समाजका हरेक नागरिक एवं सरोकारवालाहरुसँगै हातेमालो आवश्यक हुन्छ प्रमुख श्रेष्ठले भन्नु भयो ।
बागलुङ नगरपालिका वडा नम्बर ४, स्थित कुँडुले माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रम मालिका सेवा समाजका अध्यक्ष जिवननाथ शर्माको अध्यक्षता, कोषाध्यक्ष प्रकाश केसीको स्वागत र सचिव खडानन्द सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।






















































































































































































































