२३ बैशाख २०८१, आईतवार

 

गलकोट, मल्ममा निशुल्क स्वास्थ्य शिविर सुरु

गलकोट । गलकोट, मल्ममा एक दिने निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ।गलकोट नगरपालिका वडा नम्वर ७ वडा कार्यालयको आयोजना, गलकोट समाज पोखरा, गलकोट समाज जापान क्षेत्रीय समिति टोकियो, घुम्टे युवा परिवार जापान शाखा, लायन्स क्लव अफ पोखरा, फेवा सिटि हस्पिटल पोखराको प्राविधिक सहयोग र गलकोट नगर अस्पताल, गलकोट नगरपालिका लगायत स्थानीय संघ संस्थाको समन्वयमा स्वास्थ्य शिविर सुरु भएको हो ।

गलकोट नगरपालिका वडा नम्वर ७ मल्म, आँगाखेत, गलकोट सेकेण्डरी बोर्डिङ स्कुलमा भएको स्वास्थ्य शिविरबाट ५ सय २५ जनाले सेवा लिएका गलकोट नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष राज बहादुर थापाले जानकारी दिनुभयो छन् ।

शिविरमा आज २ जनाको सामान्य अपरेसन, स्तनमा मासु पलाएको २ जना महिलाको अपरेशन गरिएको थियो ।उक्त शिविरबाट पत्थरी, सुगर, स्त्री रोग, मुटु रोग, दाँत, हाडजोर्नी लगायतका बिरामीहरुले सेवा लिएको वडा अध्यक्ष थापाले बताउनुभयो ।

उक्त शिविरमा फिजिसियन डा बुद्धि बहादुर थापा, आँखारोग विशेषज्ञ डा खेम राज कैनी, रेडियोलोजिष्ट डा आनन्द बहादुर श्रेष्ठ, बालरोग विशेषज्ञ डा हुम प्रसाद न्यौपाने, युरोलोजिष्ट डा ध्रुव बहादुर अधिकारी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा रविन्द्र प्रसाद श्रेष्ठ, ग्यासट्रोइन्टरोलोजिष्ट डा सुरेश थापा, महिला तथा स्त्री रोग विशेषज्ञ डा पदमराज ढुंगाना, जनरल सर्जन डाक्टर सुरेश राज पौडेल, ग्यासट्रोइन्टरोलोजिष्ट डा जिवन थापा, डेन्टल सर्जन डाक्टर निभा श्रेष्ठ, नाक, कान घाँटी रोग विशेषज्ञ डा विक्रम बाबु कार्की, मेडिकल अफिसरहरु डाक्टर उत्तम लामिछाने, डा अजय परियार, डा आकंक्षा भुर्तेल, डा सोनी गुरुङ लगायतका डाक्टरहरुले सेवा प्रदान गरिरहेको गलकोट समाज पोखराका अध्यक्ष खडग बहादुर थापाले जानकारी दिनुभयो । स्थानीय गरिव, असहाय तथा पिछडिएका नागरिकलाई लक्षित गरेर निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न पहल गरिएको भन्दै शिविरले ग्रामिण क्षेत्रमा रहेका असहाय तथा पिछडिएको वर्गलाई सहयोग पुग्ने गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोका अध्यक्ष राजु बस्नेतले बताउनुभयो ।

शिविर भोली विहान ७ बजेदेखि ३ बजेसम्म सञ्चालन हुने भएकोले शिविरबाट सम्पुर्णलाई सेवा लिनको लागि वडा कार्यालयले आग्रह गरेको छ ।ग्रामिण क्षेत्रमा नागरीकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको घुम्टे युवा परिवार जापान शाखाका उपाध्यक्ष दुर्गा थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्