१६ कार्तिक २०८३, आईतवार

 

“दलितमाथि हुने विभेद र अपमानपूर्ण व्यवहारको अन्त्य कहिले हुन्छ ?”

बागलुङ । “पहिला सामाजिक कार्यमा दलितलाई छुट्टै भान्सा तयार गरेर विभेद गरिन्थ्यो, अहिले निम्तोनै गर्न छाडिएको छ । अझै शहरमा दलितले कोठा भाडामा नपाउने अवस्था छ, दलित भनेपछि अनेक बाहना बनाएर कोठा खाली गराइन्छ” ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार महासंघ बागलुङका कार्यवहाक अध्यक्ष नविन शिशिर विकले भने “पहिला दलितसँग छोइदा

सुनपानी छर्किन्यो, अहिले अप्रत्यक्ष रुपमा विभेद कायम छ, नागरिकता देखाएर कोठा भाडामा लागउनु समेत दलित माथिको विभेद हो, पहिला दलितलाई छुट्टै भान्सा गराएर प्रत्यक्ष विभेद गर्दथे, अहिले निम्तानै नगरेर अप्रत्यक्ष विभेद भइरहेको छ ।”

परम्परा धान्ने नाममा या आफ्ना बुबा आमाले नमान्ने भन्दै दलितलाई घरमा प्रवेश नगराउने कार्य शहरमा समेत व्याप्त भएको बताउदै दलितलाई गरिने विभेदको प्रकृति मात्रै बद्लिएको विकले बताए ।अन्तरक्रिया कार्यक्रममा सहभागि सवैको गुनासो शिशिरको जस्तै थियो ।

कार्यक्रममा सहभागि मिजार समाजका अध्यक्ष रणसिंह बोहोराले त दलितहरुबिच समेत विभेद भएको स्विकार गरे । उनले दलित–दलितबिचको विभेद अन्त्य भएमात्रै अन्य समुदायसँगको विभेदका लागि लडाई लड्न सहज हुने बताए । “एउटा दलित समुदायले अर्को दलित समुदायमा समेत विभेद गरेपछि अन्य समुदायले हामीलाई कुन नजरले हेर्छ, सबै दलित एउटै भएर आवाज उठाउ” बोहोराले भने “अझैपनि दलित समुदाय भित्रै छोईछिटो गर्ने चलन रहेको स्विकादै पहिला आफ्नो समुदायलाई सुधार गरेपछि मात्रै अन्य समुदायसँग विभेदको विषयमा बोल्न सहज हुनेछ ।”

कानूनले सबैलाई समान हक अधिकार दिए पनि कार्यान्वयनको चरणमा मानव–मानवबिच विभेद कायमै रहि आएको पत्रकार सज्जन कुमार सिंह बताउँछन ।

“कानूनी राज्यको अभाष गर्न सकिरहेका छैनौं, अन्तरजातीय विवाह स्विकार गर्न नसक्दा बलात्कार मुद्धामा बागलुङ जिल्ला अदालतले हालै एक युवालाई १२ वर्ष कैद फैसला सुनाएको छ, यो विभेदको नयाँ स्वरुप हो, अन्तरजातीय विवाहलाई बलात्कार मुद्दा लगाएर कार्वाही गर्नु भनेको विभेद घट्नु भन्दा झनै चर्केको पाइएको छ,” विकले भने “जातीयताका आधारमा कतीपय मुद्दाहरुलाई फरक ढंगले व्याख्या गरेर फसाइन्छ, समाजमा प्रत्यक्ष विभेद घट्दै गएको पाइए पनि अप्रत्यक्ष रुपमा झनै विभेदका जघन्य घटनाहरु घटिरहेका छन् ।”

बद्लिएको जातीय विभेदको स्वरुप, दलित आन्दोलन र राज्यको भूमिका’ विषयक कार्यक्रममा सहभागि सवैको एउटै आवाज थियो अझै जातिय विभेदको अन्त्य कहिले हुने उनीहरुले समुदायहरुले समाजमा अझै जातीयताको नाममा कुरीतीहरु कायम रहेको बताएका छन् । विभेद अन्त्य नभएर विभेदको स्वरुप मात्रै फेरिएका अन्तरक्रिर्या कार्यक्रममा रहेको सहभागी दलित अगुवाहरुले बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख गण्डकी प्रदेश सभा सदस्य गोविन्द बहादुर नेपालीले दलित आन्दोलन खस्कदै गएको प्रति चिन्ता व्यक्त गरे । उनले दलित वर्गले भगत सर्वजित विश्वकर्मालाई सम्झेर आन्दोलनलाई सशक्त बनाउदै लैजानुपर्ने बताए ।

उनले दलित शब्दमा खोट नभएको भन्दै मानिसको विभेद र उस्को दलित प्रतिको दृष्टिकोणमा खोट भएको बताए । दलितका मुद्दा केहि हदसम्म सम्बोधन भएको बताउदै नेपालीले छुवाछुतको प्रकृति फेरिएको जिकिर गरे । कार्यक्रममा गण्डकी प्रदेश सांसद दिलमाया पौवीले दलित भएकै कारण कोठा भाडामा नपाएको तितो कुरा सुनाईन । म सांसद भएपछि पनि दलित भएकै कारण कोठा भाडामा पाउन मुश्किल भयो पौबीले भने । अझै पनि हाम्रो समाज भेदभावको भुमरीमा अलझिएको छ ।

कार्यक्रममा बागलुङ नगरपालिका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जातिय विभेदको अन्य गर्नका लागि सबै एक जुट भएर लाग्नुपर्ने बताए । उनले मानिस जतिसुकै शिक्षित भए पनि पुरानै सोचका कारण विभेदको अन्त्य हुन नसकेको बताए ।कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ, नेकपा एकिकृत समाजवादीका अध्यक्ष लाल बहादुर थापा, प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्का, भगत सर्वजित विश्वकर्मा प्रतिष्ठानका सचिव परशुराम विक,

समाजसेवी लक्ष्मण श्री, अखिल नेपाल महिला सघका अध्यक्ष लक्ष्मी बोहोरा, सामाजिक विकास कार्यालयका प्रमुख डम्बर बहादुर जिसी, नेपाल दलित पार्टीका भक्त बहादुर विक, नेकपा माओवादी केन्द्रका राम बहादुर विक लगायतले समाज विस्तारै परिवर्तन भए पनि दलित विरुद्धको विभेद अन्त्य नभएको बताएका छन् । कार्यक्रम संयुक्त दलित संघष समितिका अध्यक्ष टिका कुमारी विकको अध्यक्षता, सुनिता विकको स्वागत तथा तारा विकको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung