बागलुङ – चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीले बागलुङ नगरपालिका वडा नं ९ तित्याङका ३ वटा प्राथमिक माध्यमिक विद्यार्थीहरुलाई स्पोटर्स ड्रेस (पोशाक) सहयोग हस्तान्तरण गरेका छन् ।आइतबार एक कार्यक्रमको आयोजना गरी बागलुङ नगरपालिका वडा नं ९ तित्याङका विभिन्न ३ प्राथमिक विद्यालयका करिब ८५ जना बालबालिकाहरुका लागि पोशाक सहयोग गरेको हुन् ।
जन्म दिन र अतिरिक्त क्रियाकलापको खर्च घटाएर बाँकी रहेको रकमले शैक्षिक सामग्री र पोशाक लगायतका सामान सहयोग गर्दै आएको चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठले नयाँ विश्वलाई बताउनु भयो ।चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलका कक्षा ६, ७ र ८ का विद्यार्थीहरुले जन्मदिनमा बचाएको पैसा विपन्न परिवारका बालबालिकालाई आवश्यक अनुसारको साम्रगीहरु सहयोग गर्दै आएका छन् ।

बागलुङ नगरपालिका वडा नंं ९ को साविक वडा नं ५ मा स्थित तित्याङ प्राथमिक विद्यालय, साविक वडा नं ६ मिस्नेरामा रहेको इन्द्र प्राथमिक विद्यालय र साविक वडा नंं ८ कमलडाँडा स्थित सरस्वती प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई स्पोटर्स ड्रेस सहयोग गरेको चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी सिम्रन थापाले बताउनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नंं ९ तित्याङका वडा अध्यक्ष राजु थापाले संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको समाज प्रतिको सेवा देख्दा आफू धेरै हर्षित भएको बताउनुभयो ।थापाले सामुदायिक विद्यालयमा विद्यार्थीहरुको शिक्षामा गुणस्तरीय ढंगले विकास गर्न वडा, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, वडावासी सम्पुर्णले महत्वपुर्ण भूमिका निर्वाह गर्न आव्हान गर्नुभयो ।

कार्यक्रममा चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल बागलुङको व्यवस्थापन समितिका सदस्य सम्झना श्रेष्ठ, शिक्षक राजु राना, तित्याङ प्राथमिक विद्यालयका प्रधानाध्यापक कमला खड्का क्षत्री, इन्द्र प्राथमिक विद्यालयका प्रधानाध्यापक विन्दु शर्मा, सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक चिजा थापा मगर र चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी एन्जल अधिकारीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
तित्याङ प्राथमिक विद्यालयमा हाल २५ जना, इन्द्र प्राथमिक विद्यालयमा हाल २६ जना र सरस्वती प्राथमिक विद्यालयमा हाल ३२ जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।कार्यक्रमको सञ्चालन चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल बागलुङका शिक्षक दिपक सुवेदी र शिक्षक एलिना ओलीले गर्नुभएको थियो ।





















































































































































































































