३ जेष्ठ २०८१, बिहीबार

 

विवादबीच ‘सकम्बरी’लाई करोड ‘भ्युज’

गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’ले साता दिनमै युट्युबमा करोड ‘भ्यूज’ पाएको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक सो गीतलाई यो समाचार तयार पार्दासम्म १ करोड ३ लाखभन्दा बढी पटक हेरिएको छ ।

‘सकम्बरी’ गत शुक्रबारदेखि नै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ । युट्युबमा गीत सुनेररहेरेर १८ हजार बढीले प्रतिक्रिया दिएका छन् भने झन्डै चार लाखले ‘लाइक’ गरेका छन् । कलाकार बन्ने सपना बोकेर सहर छिरेकी ग्रामीण युवतीको कथा गीतमा छ । गीतको म्युजिक भिडियोमा महिला पात्रको चरित्रलाई लिएर गरिएको प्रस्तुतिलाई कतिपयले आलोचना गरेका छन् ।

गीतको सिर्जना र कला पक्षमाथि तर्करप्रतितर्क भइरहेको छ । गीतको बचाउ र विरोध जारी छ । विवाद र चर्चाबीच युट्युबमा भने गीतले आक्रामक भ्यूज बटुलिरहेको छ । युट्युबमा छिटो करोड भ्युज पाउनेमध्येमा सकम्बरी परेको छ ।

गीतको रचना र सङ्गीत पनि गायक सपुत आफैँले गरेका हुन् । सपुतलाई गायिका व्रता गन्धर्वले स्वरमा साथ दिएकी छन् । गीतको म्युजिक भिडियोमा कलाकार सुनिल थापा, कुशुम शर्मालगायतले अभिनय गरेका छन् ।

गायक तथा सर्जक सपुतका यसअघि सार्वजनिक ‘पिर’, ‘गलबन्दी’, ‘बोलमाया’लगायत गीत सर्वाधिक चर्चित छन् । बागलुङको धम्जामा जन्मिएका सपुत चलचित्र ‘परदेशी–२’ मा नायकका रूपमा समेत देखा पर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्