४ जेष्ठ २०८१, शुक्रबार

 

ढोरपाटनका मेयर देवकुमार नेपालीलाई एमालेले गर्‍यो प्रदेश कमिटीबाट निलम्बन

काठमाडौं । इमेज सहकारीको अरबौं रकम हिनामिना गरी फरार भएका सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई नेकपा एमाले निलम्बन गरेको छ ।

एमालेको गण्डकी प्रदेशले नेपालीलाई निलम्बन गरेको हो ।

नेपाली नेकपा एमालेको गण्डकी प्रदेश कमिटिका सदस्य हुन् ।  नेपालीलाई यो घटनाको निरुपण नहुँदासम्म निलम्बन गरिएको एमालेका प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै एमालेले छानबिनमा सहयोग पु¥याउन पनि नेपालीलाई आग्रह गरेको छ ।

‘यस घटनामा आरोपित सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली र अन्य सबै सञ्चालकहरुलाई वचतकर्ताको सम्पूर्ण रकम शीघ्र फिर्ता गर्न तथा सरकारी निकायबाट अगाडि बढाइएका छानबिनको प्रक्रियामा सहयोग पु¥याउन हाम्रो पार्टी संवद्ध सबैलाई आग्रह गर्दछ’ एमालेको विज्ञप्तिमा भनिएको छ ।

गृह मन्त्रालयले जेठ ७ गते इमेज सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर नेपालीसहित सात जना संचालकको यात्रा अनुमति रद्द गराउन अध्यागमन विभागलाई पत्राचार गरेको थियो ।

गृह मन्त्रालयका शाखा अधिकृत परशुराम पोखरेलको हस्ताक्षर भएको पत्रमा संस्थापन अध्यक्ष नेपालीसहित कार्यवाहक अध्यक्ष डोर बहादुर परियार सचिव सुनिल नेपाली कोषाध्यक्ष लक्ष्मी सेन र संचालक सदस्यहरु चित्र बहादुर भण्डारी, रुपा विक र झग बहादुर शाहीहरुको यात्रा अनुमति रद्द गराउन विभागलाई पत्र पठाएको थियो ।

गृहको निर्देशन अनुसार उनीहरुलाई कालो सूचीमा राखेको अध्यागमन विभागका सूचना अधिकारी खिमराज भुसालले बताएका थिए ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य नाकाबाट नेपाली भाग्न सक्ने भएकोले रोक्नको लागि प्रहरी परिचालन भएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङले अध्यक्ष नेपालीसहित सबै संचालकहरु भागेर विदेश जान सक्ने भएकोले यात्रा अनुमति रद्द गराउन गृहलाई पत्राचार गरेको थियो ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर नेपाली सपरिवासहित सहकारीको अराबौं रकम हिनामिना गरी जेठ ५ गतेदेखि फरार भएका थिए ।

जेठ ७ गते अध्यक्ष नेपालीसहित अन्य संचालकहरु भाग्न सक्ने आशंका गरी सेयर सदस्य र वचतकर्ताहरुले उनीहरुलाई पक्राउ गरी बचतको रकम सुरक्षित ढंगले फिर्ता गर्ने वातावरण बनाई दिन जिल्ला प्रशासन कार्यालय बागलुङमा उजुरी दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्