४ जेष्ठ २०८१, शुक्रबार

 

राउटे समुदायलाई गण्डकी सरकारको आर्थिक सहयोग

कास्की । दैलेखदेखि आएका राउटे समुदायका अगुवाले आइतबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेका छन् ।

मुख्यमन्त्रीलाई भेट्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका उनीहरुले मुख्यमन्त्री पाण्डेसमक्ष राउटे समुदायले भोग्दै आएका समस्याबारे जानकारी गराएका थिए ।

राउटे समुदायको गासवासको जोहाका लागि आर्थिक सहायता मागेपछि मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारका तर्फबाट रु ५० हजार सहयोग प्रदान गरेका थिए ।

सो अवसरमा उहाँले राउटे समुदायको वर्तमान अवस्थाका बारेमा जानकारी लिएका थिए । राउटे समुदायका अगुवा लालबहादुर शाहीले सहयोग रकम राउटे जातिको खाना र आवासमा खर्च गरिने बताए।

उनले सातवटै प्रदेश सरकारबाट आर्थिक सङ्कलन गरिने जानकारी दिए । शाहीले लोपोन्मुख राउटे जातिको गासवाससहित जीवकोपार्जनमा नेपाल सरकारले विशेष सहयोग गर्नुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्