६ जेष्ठ २०८१, आईतवार

 

पुस्तकालय अब इतिहास कि आवश्यकता विषयक विमर्श : डिजिटल प्रविधि आत्मसाथ गर्नु पर्ने वक्ताको जोड

बागलुङ । विद्यामन्दिर पुस्तकालय, बागलुङले १६ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा बुधबार पुस्तकालय अब इतिहास कि आवश्यकता विषयका विमर्श कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा बोल्ने वक्ताले आधुनिक र प्रविधियुक्त पुस्तकालयको आवश्यकता रहेको बताएका छन् ।

कार्यक्रममा वक्ताको रुपमा आफ्नो विचार राख्दै वरिष्ठअधिवक्ता काजी गाउँले श्रेष्ठले पुरानो तरीकाले पुस्तकालय इतिहास बन्न खतरा भएकोले यसको लागि आधुनिक सूचना प्रविधिको प्रयोगमा ध्यान दिनु पर्ने बताउनु भयो । श्रेष्ठले पुस्तकको आवश्यक्ता छैठौं शताव्दीदेखि जिवन्त रहेकोले यसको बरु स्वरुप बदलिएकोले पुस्तकालयमा नआउने नयाँ पुस्ता कहाँ पुग्नको लागि नयाँ बाटो पहिल्याउनु पर्ने बताउनु भयो । पुस्तकालय इतिहास नबन्ने बरु त्यसको स्वरुप परिवर्तन हुने श्रेष्ठले बताउनु भयो ।

कार्यक्रममा बागलुङका पत्रकार मुकेशचन्द्र राजभण्डारीले पुस्तकालयलाई फरक ढंगले पाठकसम्म पुग्न सक्ने आवश्यक्ता रहेको भन्दै नयाँ र पुरानो पुस्तालाई जोड्ने गरि काम गर्न आवश्यक रहेको बताउनु भयो ।पुस्तकालयको सार्वभौमिक महत्व र आवश्यक झन बढेकोले यसको लागि डिजिटल माध्यममा जोड दिनु पर्ने र त्यस क्षेत्रमा लगानी गर्न सके धेरै क्षेत्रको पाठकहरु कहाँ पुग्न सकिने राजभण्डारीले जोड दिनु भयो ।

देश र समाजलाई तर्क गर्ने, विश्लेषण गर्ने, संस्लेषण गर्ने, प्रश्न गर्ने र समाधान दिने नागरिक चाहिएकोले त्यस्तो बौद्धिक वर्गको उत्पादन गहन पुस्तक र पुस्तकालयले गर्ने राजभण्डारीको भनाई थियो । विश्वभरी नै युद्ध, तनाव र चर्को आर्थिक असमानता भएको र रुस र युक्रेन युद्धले अध्ययनसँगै र डिजिटल वार रुमको विकास गराएकोले चिन्तनशिल र श्रेष्ठ अध्ययनसिल युवाहरुको सबै क्षेत्रमा खाँचो भएको र त्यसको लागि पठनिय पुस्तकहरु भएको पुस्तकालयले धेरै सहयोग गर्ने बताउनु भयो ।

बागलुङ र यस क्षेत्रलाई शैक्षिक हिसावले अगाडि बढाउन विसं १९९७ सालमा ओमप्रसाद गौचन, मेघ कुमार वैध र उनका समकालिन साथीहरुले स्थापना गरेको विद्यामन्दिर माध्यमिक विद्यालयमा पहिले पुस्तकालय, संगीत कक्षा, घरेलु इलम सिकाउने सीप कक्षा र गृह विज्ञानको पनि व्यवस्था गरेको थियो ।चेतना र जागरणको इतिहास बोकेको यस विद्यालयले यस क्षेत्रको शैक्षिक र बौद्धिक जागरणमा महत्वपूर्ण योगदान पुर्याएको थियो ।ओमप्रसाद गौचन सचेत र कर्ममा विश्वास गर्ने नेता थिए ।

उनी नभएको भए बागलुङमा शिक्षाको ज्योति धेरै ढिलो मात्र बल्थो राजभण्डारीको भनाई थियो ।विसं २००३ सालमा ओम प्रसाद गौचन, मेघ कुमार वैद्य र उनीहरुका समकालिन साथीहरुले स्थापना गरेको विद्यामन्दिर पुस्तकालय पनि देशकै अग्रणी पुस्तकालयमध्येमा पर्छ ।

विद्यामन्दिर मावि र विद्यामन्दिर पुस्तकालयको कारण बागलुङ, धौलागिरि अंचल र देशले जागरुक, सचेत र बौद्धिक नेता, प्रशासक, कवि, वैज्ञानिक, उद्योगी, मन्त्री, प्रधानाध्याधिश र शिक्षक पाएको राजभण्डारीको भनाई थियो । राणाकालको प्रतिकुल समयमा खुलेका कारण पनि विद्यामन्दिर पुस्तकालयको अलग्गै पहिचान र गरिमा भएकोले यसको आधुनिककरणको लागि अहिलेको समितिले विशेष कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो ।

धौलागिरि अंचलको शैक्षिक, सामाजिक, साँस्कृतिक र राजनीतिक जागरणको केन्द्रको रुपमासमेत रहेको विद्यामन्दिर पुस्तकालयलाई जिवन्त राख्न कार्यसमितिले ई–लाइब्रेरीको विशेष ध्यान दिएर यस पुस्तकालयलाई अझ प्रभावकारी बनाएर त्यसको सेवा सुविधा अहिलेको आधुनिक सूचना प्रविधिको प्रयोग गर्ने बालबालिका र नव युवाहरुकहाँ पुर्याउनु पर्नेमा जोड दिनु भयो ।

हरेक विद्यालय, विश्वविद्यालय र पुस्तकालयका संचालकहरुले ई–लाइब्रेरीमा विशेष लगानी गर्न सके मात्र त्यसको परिणाम धेरै राम्रो आउने उहाँको भनाई थियो ।कार्यक्रमको सहजिकरण पत्रकार दिल शिरीषले गर्नु भएको थियो ।

विद्यामन्दिर पुस्तकालय बागलुङले सामाजिक तथा शैक्षिक संस्थाहरुसँगको सहकार्यमा पठन संस्कृतिको विकास गर्ने उदेश्यले विमर्श कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले ज्ञान आर्जनमा पुस्तकालयको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।

पाठकमा पढ्ने वानीमा कमी आएको भन्दै नमूना पुस्तकालयको अवधारणका साध अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो ।पुस्तकालय ज्ञानको भण्डार रहेको भन्दै पुस्तकालयहरु युग सुहाउदो व्यवस्थापन हुन बाँकी रहेको बताउनुभयो ।

नयाँ पुस्तालाई विद्यार्थी जीवनदेखि पुस्तकालय गएर अध्ययन गर्ने संस्कृतिको विकास गर्न आवश्यक रहेको जोड दिनुभयो ।हरेक विद्यालय तथा शैक्षिक संस्थाहरुमा सुविधायुक्त पुस्तकालयको अवधारणालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।

विद्यामन्दिर पुस्तकालय, बागलुङले १६ औँ राष्ट्रिय पुस्तकालय दिवस पाँच दिवसीय कार्यक्रमसहित मनाई रहेको छ ।तेश्रो दिन भएको कार्यक्रम विद्यामन्दिर पुस्तकालयको मुख्य आयोजना, लायन्स क्लव अफ धवलागिरि, रोटरी क्लव अफ बागलुङ र बागलुङ जेसीजको आयोजना र बागलुङ नगरपालिका तथा बैङ्कर्स बागलुङको सहकार्यमा सम्पन्न भएको थियो । सो कार्यक्रमको संचालन विद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्