२१ बैशाख २०८१, शुक्रबार

 

क्यान्सर उपचारको लागि थापाद्वारा सहयोगको अपील

बागलुङ । क्यान्सर रोगबाट पीडित बागलुङ नगरपालिका वडा नं ९ तित्याङका पूर्ववडा अध्यक्ष गणेश थापाले उपचारको लागि सहयोगको अपील गरेका छन्।

बिहीबार उपचार गर्न आर्थिक सहयोग जुटाउन समाजसेवी चन्द्र बहादुृर थापाको संयोजकत्वमा गणेश बहादुर थापा मगर उपचार सहयोग समिति गठन गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको थियो ।

उपचारको लागि ८० लाख रुपैयाँ लाग्ने भन्दै थापाको उपचारको लागि सहयोग अभियान सुरु गर्न लागेको जानकारी दिएको थियो ।

थापा मेरुदण्डको कन्ड्रोसरकोमा (हड्डीमा लाग्ने एक प्रकारको क्यान्सर) नामक रोगबाट पीडित छन् । थापाले उपचारमा अहिलेसम्म १० लाख रुपैयाँ खर्च भएको र उपचारमा धेरै रकम लाग्ने हुनाले आफनो उपचारमा सहयोग गर्न अनुरोध गरेका छन् ।

मलाई एक प्रकारको दुर्लभ क्यान्सर रोग लाग्यो, म बाँच्न चाहान्छु आफनो लागि, परिवारको लागि र समाजको लागि थापाले भन्नु भयो । थापाको स्वास्थ्यमा समस्या आएपछि उनले काठमाण्डौको न्यूरो अस्पतालमा स्पाइनल कर्डमा (मेरुदण्ड) र २ वटा रिब्स (करङ) मा भएको ट्युमरको अप्रेशन गरेका थिए।

अप्रेशन पश्चात स्वास्थ्य समस्या भएपछि उनी नेपाल क्यान्सर अस्पताल हरिसिद्धि पुगेपनि समस्या समाधान नभएपछि भारतको राजिव गान्धी क्यान्सर ईन्ष्टीच्युट तथा रिसर्च सेन्टरमा स्वास्थ्य उपचार गर्न गएका थिए ।

राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार संम्भव नभएपछि थापा भारतको मद्रासको चेन्नईमा रहेको एपोलो प्रोटोन क्यान्सर सेन्टरमा स्वास्थ्य परीक्षणको लागि गएका थिए ।

युवा व्यवसायी तथा समाजसेवी गणेश थापालाई बचाउन सबैको सहयोग आवश्यक भएको सहयोग समितिका संयोजक चन्द्र बहादुर थापा मगरको भनाई थियो ।

गणेश बहादुर थापा मगर उपचार सहयोग समितिले सहयोग गर्न इच्छुक व्यक्ति र संस्थाले थापाको श्रीमती गिता थापा मगरको नाममा रहेको ग्लोबल आइएमई बैंक बागलुङ शाखाको १२०७०१०२०७४८५ नंम्बरको खातामा रकम जम्मा गर्न मिल्ने व्यवस्था गरेको छ ।

सहयोग गर्न इच्छुक सबैले सहयोग समितिका संयोजक चन्द्रबहादुर थापा मगर ९८५७६२१०८५, श्याम पुन ९८५७६३४८१० र ९८६७६९३४७८ नंम्बरमा पनि सम्पर्क गर्न सक्नु हुनेछ ।

तस्वीर इपरिन्युजबाट

 

प्रतिक्रिया दिनुहोस्