४ जेष्ठ २०८१, शुक्रबार

 

पुष्पमानसँग असल नेतामा हुने गुण थियो : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पुष्पमान श्रेष्ठसँग असल नेतामा हुने गुण रहेको बताउनु भएको छ ।

उद्योगी, समाजसेवी, शिक्षासेवी तथा संचार उद्यमी पुष्पमान श्रेष्ठको स्मृतिमा काठमाडौंमा आयोजित शोक सभामा वोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले यस्तो बताउनु भएको हो ।

धवलागिरी बचत तथा ऋण सहकारी संस्था, धौलागिरि समाज नेपाल र नयाँ विश्वको आयोजनामा भएका शोक सभामा बोल्दै श्रेष्ठले पुष्पमान श्रेष्ठ देश र समाजको लागि चिन्ता गर्ने, हरेक समस्यामा सधै अगाडि सर्ने र सकारात्मक सोचका साथ समस्या समाधानको लागि आफ्नो नेतृत्वमा समाजलाई डोर्याउने सक्ने सोचका धनी भएको स्मरण गर्नु भएको थियो ।

बलियो इच्छाशक्ति भएको र सबैलाई अभिप्रेरित गर्न सक्ने क्षमता तथा उत्तरदायित्वको भावना भएको श्रेष्ठको निधनले समाजमा ठूलो क्षति पुगेको बताउनु भयो ।

शोक सभामा बोल्ने वक्ताहरुले श्रेष्ठले सामाजिक, राजनीतिक, शैक्षिक, आर्थिक, धार्मिक क्षेत्रमा गरेका योगदानको चर्चा गर्दै श्रेष्ठको निधनले सामाजिक क्षेत्रमा ठूलो क्षति पुगेको बताएका थिए।

कार्यक्रममा बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठ, नेपाली काँग्रेसका संघिय सांसद राजन केसी, नेपाल पश्मिना उद्योग संघका निवर्तमान अध्यक्ष दुर्गा विक्रम थापा, बागलुङ समाज कल्याण केन्द्र काठमाण्डौंका पूर्व अध्यक्ष सुमन शाक्य,

श्रवण लाल शाक्य, बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका सस्थापक सदस्य तथा राप्रपाका केन्द्रिय उपाध्यक्ष दिल विकास राजभण्डारी, धवलागिरी बचत तथा ऋण सहकारी संस्थाका कार्यवहाक अध्यक्ष सरद प्रधान, पुष्पमान श्रेष्ठका कान्छा छोरा अनुप श्रेष्ठ, नातिनि सुही श्रेष्ठ लगाएतले शोक मन्तव्य व्यक्त गर्नु भएको थियो ।

धौलागिरि समाज नेपालका अध्यक्ष केदार नाथ गौतमको अध्यक्षतामा सम्पन्न शोक सभाको संचालन नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारीले गर्नु भएको थियो । श्रेष्ठले सामाजिक, राजनीतिक, शैक्षिक, आर्थिक, धार्मिक क्षेत्रमा योगदान दिनु भएको थियो ।

उहाँले पश्मिनाको उत्पादन, विदेशमा निर्यात र नेपाल पश्मिना उद्योग संघको संस्थागत विकासमा महत्वपूर्ण योगदान दिनु भएको थियो ।

श्रेष्ठ २०५६ सालमा स्थापना भएको नेपाल पश्मिना उद्योग संघका संस्थापन सदस्य तथा पूर्वअध्यक्ष, नेपाल हस्तकला महासंघको पूर्वकार्यसमिति सदस्य, २०३८ सालमा स्थापना भएको बागलुङ समाज कल्याण केन्द्र, काठमाडौंका संस्थापक सदस्य तथा पूर्वअध्यक्ष, २०५६ सालमा स्थापना भएको धवलागिरि बचत तथा ऋण सहकारीका संस्थापक सदस्य तथा पूर्वउपाध्यक्ष, ग्लोबल आइएमइ बैंकका डाइरेक्टर, एविसि टिभीको संस्थापक अध्यक्ष तथा नयाँ विश्वका पूर्वअध्यक्ष हुनु हुन्थ्यो ।

उहाँले २०४० मा राणा कालमा खुलेको बागलुङ बजारको विद्यामन्दिर पुस्तकालयको संस्थागत विकासको लागि २ लाखको अक्षय कोष निर्माणको लागि नेतृत्व गर्नु भएको थियो ।

श्रेष्ठ २०६० सालमा विद्यामन्दिर पुस्तकालयको नयाँ भवन बनाउनको लागि काठमाडौं उपत्यकाका आर्थिक संयोजक हुनु भएको थियो ।

ओमप्रसाद र मेघ कुमार वैघको नेतृत्वमा १९९७ सालमा स्थापित विद्यामन्दिर माविका उहाँ सक्रिय विद्यार्थी हुनु हुन्थ्यो ।

त्यही विद्यालय २०७२ सालको भूकम्पले भत्काएपछि नयाँ भवन निर्माणको लागि विद्यामन्दिर माध्यमिक विद्यालय भवन निर्माण समितिले २०७३ सालमा उहाँलाई काठमाडौं उपत्यकाको आर्थिक संयोजक बनाएको थियो ।

श्रेष्ठले २०२३ सालमा विद्यामन्दिर माविबाट एसएलसी उर्तीण गर्नु भएको थियो ।

उहाँलाई कालिका गाउँ पंचायतका तत्कालिन प्रधानपंच टोप बहादुर विजुक्छेले २०२२ सालमा कालिका कन्या माविमा अनिवार्य निस्शुल्क प्राथमिक पाठशालाको प्रधानाध्यापकको जिम्मेवारी दिनु भएको थियो ।

उहाँले गलकोट, हटियाको गलकोट माध्यमिक विद्यालय र बुर्तिबाङ बजारमा रहेको उत्तर गंगा माध्यमिक विद्यालयमा अग्रेजी विषय पढाउनु भएको थियो ।

उहाँ निर्मल लामा, बसन्त गौचन, टोपबहादुर विजुक्क्षे, चित्रबहादुर केसी, राधेश्याम कमारो, लालचन्द्र राजभण्डारी, हिक्मत गौचन, पद्यचन्द्र राजभण्डारीबाट वामपन्थी राजनीतिमा आकर्षित हुनु भएको थियो ।

उहाँ २०६२ सालदेखि नेकपा माओवादी पार्टीसँग नजिक हुनु भएको थियो ।त्यति बेला ओम प्रसाद गौचनको घर प्रजातान्त्रिक विचारधाराबाट आकर्षित भएका युवाहरुको जमघट हुन्थ्यो भने टोप बहादुर विजुक्छेको घरमा वामपन्थी विचारधाराबाट प्रेरित भएका युवाहरुको बाख्लो भेटघाट हुने थलो थियो ।

पंचायत कालमा चित्रबहादुर केसी नेकपा मसाल, बागलुङको सेक्रेटरी भएको बेला पुष्पमान श्रेष्ठ र दीनानाथ शर्मा वामपन्थी राजनीतिमा सक्रिय थिए ।

उनीहरु पंचायती शासकको कडा निगरानीमा थिए । २०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा पैरवी गरेका श्रेष्ठ तत्कालिन महेन्द्र बहुमुखी क्याम्पस धौलागिरि बहुमुखी क्याम्पसका प्राध्यापक भिमसेन थापासँगै काठमाडौं आउनु भएको थियो ।

भिमसेन थापा र उहाँको दाजु प्रेम थापाले श्रेष्ठलाई पश्मिना उद्योग तर्फ अगाडि बढ्न प्रोत्साहित गर्नु भएको थियो । यहि पश्मिना व्यवसायबाट श्रेष्ठले ठूलो आर्थिक उन्नति गर्नु भएको थियो ।

मैले २०६२ सालमा उद्योग व्यापार क्षेत्रको विकास र नीति निर्माणको लागि नेकपा माओवादीको तर्फबाट सांसद बन्नको लागि अनुरोध गर्दा पुष्प दाईले उदारता पूर्वक अस्वीकार गर्नु भएको थियो नेकपा माओवादी केन्द्रका सचिव हितमान शाक्यले बताउनु भयो ।

उहाँ पद प्रतिष्ठाको भन्दा पनि देशको विग्रदो राजनीतिक र आर्थिक अवस्थाबाट बढि चिन्तित हुनु हुन्थ्यो शाक्यले भन्नु भयो ।

बागलुङ बजार, गलकोट र बुर्तिवाङमा नेकपा मसालको संगठन निर्माण र वामपन्थी विचारधाराको प्रचारमा श्रेष्ठको महत्वपूर्ण भूमिका रहेको थियो ।

पुष्पमान श्रेष्ठ र श्रीमती लालु श्रेष्ठले बागलुङ नगरपालिका वडा नं ६ पंचकोटमा गण्डकी माताको मन्दिर ६० लाखमा निर्माण गर्नु भएको थियो ।

श्रेष्ठको भदौ २९ गते शुक्रबार साँझ ५ बजे आफनै निवासमा ७४ वर्षको उमेरमा देहावसान भएको थियो । श्रेष्ठ २००६ पुष ५ गते पिता दिपबहादुर श्रेष्ठ र माता लालकुमारी श्रेष्ठको माइला छोराका रूपमा बागलुङ नगरपालिका–३ कम्पुटोलमा जन्मनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्