४ जेष्ठ २०८१, शुक्रबार

 

ठडिँदै ‘मानवताका मन्दिर’

गण्डकी । नेपाललाई मानवीयताको देश बनाउने लक्ष्यमा समर्पित ‘मानवसेवा आश्रम’का ठाउँ ठाउँमा भवन निर्माण भइरहेका छन् । आश्रमका अभियन्ताका भनाइमा ती भवन ‘मानवताका मन्दिर’ हुन् ।

गण्डकी प्रदेशस्थित आश्रमका कास्की, बागलुङ, लमजुङ र गोरखा शाखा अब छिट्टै आफ्नै भवनबाट सञ्चालन हुने कास्कीस्थित मानवसेवा आश्रमका संयोजक सदिस पुनले बताउनुभयो । आश्रमको पोखरा महानगरपालिका(२५ हेम्जामा निर्माणाधीन भवन रु १० करोडको लागतमा बन्न लागेको हो ।

“भूइँतला र तेस्रो तला फिनिसिङ हुने चरणमा छ”, संयोजक पुनले भन्नुभयो, “बिचको तलाका लागि पोखरा महानगरले ७१ लाख सहयोग गर्ने कबोल गरेकाले बजेटको पखाईमा छौँ, अरू दाताबाट पनि सहयोग आइरहेको छ ।”

पाँच लाख ११ हजार एक सय ११ सहयोग गर्ने दाताको नाममा कोठाको नामकरण गरिने भएपछि २० भन्दाबढी त्यस्ता सहयोगी जुटेको उहाँले बताउनुभयो ।

आश्रम निर्माणका लागि गत वर्ष माघमा आयोजना गरिएको महायज्ञबाट तीन करोड बढी आर्थिक सङ्कलन भएको संयोजक पुनले बताउनुभयो ।

विसं २०७५ चैतदेखि निर्माण थालिएको उक्त आश्रम भवन दुई सय जनालाई आवासीय सुविधा दिने गरी बन्न लागेको हो । आश्रमको कास्कीमा दुई वटा सेवा केन्द्र छन् । हेम्जामा एक सय ११ जना र छोरेपाटनमा ६५ जना असहायले आश्रय लिइरहेको संयोजक पुनले बताउनुभयो ।

छोरेपाटन सेवाकेन्द्रमा महिला मात्र आश्रित रहेको उहाँले उल्लेख गर्नुभयो । “सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार र जीवन रक्षामा आश्रम क्रियाशील छ”, संयोजक पुनले भन्नुभयो, “आश्रमले बेसहारा, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर, सडकआश्रित मानवको व्यवस्थापन, औषधोपचार र पालनपोषण गर्दै आएको छ ।”

सुविधायुक्त भवन बनेपछि आश्रमको सेवामा सहजता थपिने उहाँले बताउनुभयो ।आश्रम निर्माणमा प्रदेश सरकार, पोखरा महानगरलगायत सरकारी निकाय, सङ्घ संस्था र सर्वसाधारण दातालगायतको हातेमालो रहेको संयोजक पुनले उल्लेख गर्नुभयो ।

आश्रमको बागलुङ शाखा भवन पनि निर्माणकै चरणमा छ । बागलुङ नगरपालिका(४ निरयघाटमा बन्न लागेको आश्रमको ४० प्रतिशत निर्माण सकिएको निर्माण समितिका अध्यक्ष शिव खड्काले बताउनुभयो ।

“स्रोत जुटाउन सकियो भने विसं २०८२ भित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो, “१२ करोड ७५ लाखको लागत योजनासहित आश्रम निर्माणको काम भइरहेको छ ।”

अध्यक्ष खड्काका अनुसार आश्रमका लागि चालु आवमा गण्डकी प्रदेश सरकारबाट २५ लाख, बागलुङ नगरपालिकाबाट चार लाख, बरेङ गाउँपालिकाबाट छ लाख, गलकोट नगरपालिकाबाट पाँच लाख र म्याग्दीको बेनी नगरपालिकाबाट चार लाख बजेट विनियोजन भएको छ । प्रदेश सरकाले गत आवमा ५० लाख बजेट दिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

गत आवको तुलनामा चालु आवमा कम बजेट रहेकाले भवन निर्माणमा केही ढिलाइ हुने देखिएको उहाँले बताउनुभयो ।

“जतिसक्दो भवन निर्माण सकेर नयाँ ठाउँबाट सेवा दिन हामी आतुर छौँ”, आश्रमका अभिभावकसमेत रहनुभएका खड्काले भन्नुभयो, “अहिले अस्थायी संरचनाबाट आश्रम चलिरहेको छ, साँघुरो ठाउँबाट सेवा सञ्चालन गर्नुपर्दा व्यवस्थापनमा जटिलता छ ।”

परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेकाको संरक्षण गर्ने उद्देश्यले स्थानीय अभियन्ता तथा स्वयंसेवी युवाहरूको पहलमा विसं २०७२ मा बागलुङमा आश्रम खोलिएको थियो ।

आश्रम मनोरोग, अपाङ्गता, गरिबीलगायत कारणले सडकमा पुगेका सहयोगापेक्षीको सहारा बन्दै आएको छ । अहिलेसम्म सयौँ सडक मानवलाई उद्धार गरिसकिएको र कैयनको परिवारसँग पुनर्मिलन भएको सो आश्रमका संयोजक बिपना तामाङले बताउनुभयो । मानवीय सेवाको पवित्र उद्देश्य राखेर आश्रम बनाउन लागिएकाले विभिन्न क्षेत्रबाट आर्थिक सहयोग प्राप्त भइरहेको उहाँको भनाइ छ ।

बागलुङ नगरपालिकाले जग्गा व्यवस्थापन गरिदिएपछि दुई वर्षअघि आश्रमको भवन निर्माण सुरु भएको थियो । तीन तले उक्त भवन पनि दुई सय क्षमताको रहने संयोजक तामाङले बताउनुभयो । उक्त भवनमा योग, ध्यान र प्रशिक्षणका लागि छुट्टै कक्ष रहने जनाइएको छ ।

गोरखा र लमजुङ शाखाको भवन निर्माण पनि तीव्र गतिमा भइरहेको मानवसेवा आश्रमका केन्द्रीय सदस्य सुमिरा लामाले बताउनुभयो । “

अहिलेको आर्थिक मन्दिले केही असर पुग्ने देखिएको छ, तै पनि वि।सं।२०८२ भित्रमा आश्रमका सबै शाखा र सेवाकेन्द्रको आफ्नै भवन बनाउने लक्ष्यसहित हामी काममा खटिएका छौँ”, केन्द्रीय सदस्य लामाले भन्नुभयो । उहाँका अनुसार लमजुङ शाखा भवनको १५ करोड र गोरखाको शाखा भवनको तीन करोड लागत योजना रहेको छ ।

गण्डकी प्रदेशसहित देशभर गरी ११ जिल्लामा आश्रमका भवन निर्माणको चरणमा रहेको केन्द्रीय सदस्य लामाले उल्लेख गर्नुभयो । आश्रमको केन्द्रीय कार्यालय हेटौँडासहित शाखा कार्यालय रुपन्देही र चितवनको भने भवन बनेर पनि सेवा सञ्चालनमा आइसकेको जनाइएको छ ।

मोरङ, झापा, सर्लाही, पर्सा, धनगढी, काठमाडौँ र ललितपुरमा पनि भवन निर्माणको प्रक्रिया अगाडि बढेको केन्द्रीय सदस्य लामाले बताउनुभयो ।

१२ करोडको लागतमा काठमाडौँमा बन्ने भवनका लागि नागार्जुन नगरपालिकाले जग्गा र काठमाडौँ महानगरपालिकाले बजेट उपलब्ध गराएको उहाँको भनाइ छ ।

मानवसेवा आश्रमले अहिलेसम्म १९ जिल्लामा सेवा विस्तार गरिसकेको छ । हाल देशभरका आश्रमका शाखा र सेवाकेन्द्रमा गरी एक हजार छ सयभन्दा बढीले आश्रय लिइरहेको केन्द्रीय सदस्य लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार हालसम्म दुई हजार आठ सय बढीको पारिवारिक पुनर्मिलन भएको छ भने दुई हजार दुई सयभन्दा बढी उपचारपछि स्वेच्छाले आश्रमबाट बाहिरिएका छन् । आश्रममै रहेका बेला आठ सय २६ जनाले मृत्युवरण गरेको जनाइएको छ । यस्तै छ सय ३१ जनाको सामुदायिक पुनः स्थापना भएको छ ।

मानवसेवा आश्रम ‘सबैका लागि खाना, नाना र छाना’को आदर्श वाक्यसहित नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने महाअभियानमा जुटेको केन्द्रीय सदस्य लामाले बताउनुभयो ।

“सारा व्यक्तिगत इच्छा त्यागेर सयौँ अभियन्ता र साधकसाधिका मानवसेवामा समर्मित हुनुभएको छ”, उहाँले भन्नुभयो, “सबैको साथ र हौँसलाले लक्ष्य प्राप्तिमा हामीलाई ऊर्जा र प्रेरणा मिलेको छ ।”

मानवसेवा आश्रमले तत्कालीन योजनामा आश्रमका भवन निर्माण, सडकआश्रित मानवरहित नेपाल घोषणा, मानवता अध्ययन केन्द्र स्थापना र ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्र निर्माणलाई अघि सारेको छ ।

मध्यकालीन योजनामा वि।सं।२०८७ भित्र मानवसेवा आश्रमलाई मानवता, परोपकार र सामाजिक विषयको अध्ययन तथा अवलोकन गन्तव्यका रूपमा विकास गर्ने र सातै प्रदेशमा मानसिक स्वास्थ्य लाभ केन्द्र (अस्पताल) स्थापनालाई समेटिएको केन्द्रीय सदस्य लामाले बताउनुभयो ।

“हाम्रो दीर्घकालीन योजना र लक्ष्य नेपाललाई मानवीयताको राष्ट्र बनाउनु हो”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्