५ जेष्ठ २०८१, शनिबार

 

बागलुङबाट पठाइएको राहत रुकुम पश्चिम र जाजरकोटका ३ सय भूकम्प पीडितलाई हस्तान्तरण

बागलुङ । भूकम्पले क्षति पुगेको जाजरकोट र रुकुम पश्चिममा बागलुङबाट पठाइएको ६० लाख बरावरको राहत वितरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय बागलुङबाट पठाइएको राहत राहत सामग्री मंगलबार रुकुम पश्चिम र जाजरकोटका ३ सय परिवारलाई हस्तान्तरण गरिएको हो ।

रुकुमा पश्चिमाको मुसिकोट नगरपालिका पचास र सानीभेरी गाउँपालिकाका एक सय पचास परिवार तथा जाजरकोटको नलगाड नगरपालिकाका एक सय परिवारलाई सहयोग हस्तान्तरण गरिएको हो ।

प्रत्यक परिवारलाई खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडा, व्लाङकेट, त्रिपाल लगाएतको सेट हस्तान्त्रण गरिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले बताउनु भयो । त्यस्तै बागलुङबाट लगिएको अत्यावश्यक औषधी समेत आवश्यकताको आधारमा वितरण गरिएको छ ।

जिल्ला विपद व्यवस्थापन समिति, बागलुङ अन्तर्गत जिल्ला प्रशासन कार्यालय, बागलुङ जिल्लाका दशवटै स्थानीय तह, बागलुङ बागलुङ उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी, पञ्चकोट धाम त्रिपुरेश्वर महादेव मन्दिर रामकोट विहुँ बागलुङको समन्वय तथा सहकार्यमा जिल्लास्थित व्यवसायीक तथा वस्तुगत संघ, तथा विभिन्न संघसस्थाहरुबाट प्राप्त सहयोग लिएर गएको टोलीले जाजरकोट र रुकुम पश्चिममा पुगेको थियो ।

त्यस्तै बागलुङबाट गएको टोलीले भूकम्पमा परी मृत्यु भएका नलगाड नगरपालिका उपप्रमुख सरिता सिंह घरमा पुगी श्रद्धान्जली सभा गरी नगद राहत हस्तान्तरण गरेको छ । नलगाड नगरपालिका ८ स्थित सिंहको घरमा आयोजित श्रद्धाञ्जली सभामा गण्डकी प्रदेशसभा सदस्य जित शेरचन, कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसी पारसमणि, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेल लगाएतको उपस्थितिमा नगद २ लाख सिंहका परिवारलाई हस्तान्तरण गरिएको छ ।

बागलुङका दश वटै नगर तथा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरुको सहयोगमा सिंहको परिवारलाई २ लाख सहयोग परिएको हो ।

जाजरकोट र रुकुम पश्चिममा बागलुङबाट राहत पठाउनको लागि जिल्लाका ४ नगरपालिकाले १५ लाख र ६ वटा गाउँपालिकाले १५ लाख गरी ३० लाख लाख सहयोग गरेका छन् भने, कालिका भवगती गुठीले १ लाख, औषधी व्यवसायी संघ बागलुङले ५० हजार, चारतारे युवा क्लव सिवाइसी नेपालले ५० हजार, भाडा व्यवसासी संघ बागलुङले १९ हजार १ सय, धौलागिरि अटो मोवाइल्सले १० हजार, फलफूल तथा तरकारी व्यवसायी संघले १० हजार सहयोग गरेको थियो ।

त्यस्तै कपडा तथा फेन्सी व्यवसायी समिति बागलुङद्वारा १२ लाखको लत्ताकपडा सहित विभिन्न व्यक्ति तथा संघ सस्थाबाट प्राप्त भएको करिव ६० लाख बरावरका खाद्यान्न, लत्ताकपडा लगाएतका उपभोग्य वस्तु तथा नगद सहित राहत वितरणको लागि प्रभावित जिल्लामा पठाइउको हो ।

विशेषगरी जाडो मौसम भएकाले न्यानो कपडा, पाल, खाद्यान्न र औषधि आवश्यकपर्ने भएकाले सोही प्रकारको सामान प्रभावित क्षेत्रमा लगिएको र मंगलबार उक्त सामाग्री वितरण गरिने बागलङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्यले बताउनु भयो ।

गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परेर १ सय ५७ जनाको मृत्यु भएको छ । दुई सय ५० बढी घाइते छन् भने सयौँ मानिस घरबारविहीन भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्