५ जेष्ठ २०८१, शनिबार

 

धौलागिरि एफएमको १९ औं वार्षिकोत्सव सम्पन्न

बागलुङ । धौलागिरि एफएम ९८ दशमलव ६ मेगाहर्ज बागलुङको १९ औं वार्षिकोत्सव सम्पन्न भएको छ । २०६१ साल कार्तिक २७ गते साविक धौलागिरिमा नै पहिलो पटक संचालनमा आएको एफएमले १९ वर्ष पार गरि २० वर्षमा प्रवेशको अवसरमा बिभिन्न कार्यक्रम गरि १९ औं वार्षिकोत्सव मनाएको हो ।

मूल समारोहको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले धौलागिरि एफएमको निष्पक्षताले आजसम्मको यात्रा सम्भव भएको बताउनुभयो । उहाँले धौलागिरिको जेठो एफएम भएको हिसावले अझै पनि परिस्कृत हुँदै आगाडि बढ्नुपर्ने जोड दिनुभयो ।

कार्यक्रममा नेकपा एमाले बागलुङका जिल्ला अध्यक्ष हिराबहादुर केसी, बागलुङ नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष सुरज बोसेल, बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजनकुमार शाक्यले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । त्रिदिवसीय कार्यक्रममा साथ मनाउन शुरु गरेको एफएमले अन्तिम दिन सोमबार मुल समारोह सहित, सम्मान, देउसीभैलो र बिम्व दर्पण नाटक प्रस्तुत गरेको थियो ।

सो अवसरमा नियमित स्रोताको रुपमा बागलुङ नगरपालिका २ का मदन शर्मा, नियमित बिज्ञापनदाताको रुपमा बानपा ३ स्थित रोशन टेन्ट हाउस र उत्कृष्ट कर्मचारीको रुपमा प्राविधिक तथा प्रस्तोता दिनेश बिकल्पलाई सम्मान गरिएको थियो । साथै मैत्रीपूर्ण फुटसलका बिजेता र उपबिजेतालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रम धौलागिरि एफएम प्रालिका अध्यक्ष हरिनारायण गौतमको अध्यक्षता, स्टेशन प्रमुख उमाकान्त शर्माको स्वागत, सम्पादक ताराप्रसाद शर्मा र प्राविधिक प्रमुख कृष्ण संयोगको संचालनमा सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्